विदेश मोहले अलपत्र

 रुद्र खड्का

काठमाडौं- वैदेशिक रोजगारीबाट गुजारा चलाउने आशाले कुबेत जान खोजेका १९ महिला बुधबार रित्तो हात घर फर्किए। अघिल्लो दिन (मंगलबार) पनि १३ जना महिला दुबईबाट यसरी नै फर्किएका थिए।

विदेशमा गएर कमाउने र घरमा गर्जो टार्ने अपेक्षाले विभिन्न मुलुक जाने र एकसुको कमाउन नसक्ने यी महिला नयाँ भने होइनन्। अचम्म लाग्दो छ के छ भने वैदेशिक रोजगारीमा पटक पटक समस्यामा पर्ने क्रम जारी रहे पनि अझै दलालको सहजै प्रलोभनमा पर्ने र आर्थिक र शारीरिक शोषणमा पर्ने क्रम घट्नुको साटो बढ्दो छ।

विदेशमा कमाउने आशाले लाखौं रकम गुमाउनेको संख्या निरन्तर बढिरहेको छ। बुधबार र मंगलबार स्वदेश फर्काइएका अधिकांश महिलाले विदेश मोहमा ठूलो रकम खर्च गरे पनि रित्तो हात घर फर्केको बताए। अब उनीहरूलाई विदेश जानका लागि खर्च भएको ऋण कसरी उठाउने भन्ने समस्या आइपरेको छ। सरकारले खाडी मुलुकमा महिला जान रोक लगाएको बेला उनीहरू सीमावर्ती विभिन्न नाका हुँदै भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर दुबई उडेका थिए। उनीहरूको दुबई हुँदै कुबेत जाने तयारी रहे पनि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले केन्याका लागि 'डिपाचर' दिएका कारण दुबई अध्यागमनले फिर्ता गरेको हो।

दलालको प्रलोभनमा परेर वास्तविकता बुझ्दै नबुझी चोर बाटो प्रयोग गरेका अधिकांश महिला यतिखेर पछुताउमा छन्। दुबई अध्यागमनले फिर्ता गरेकी एक महिलाले दलालको कुरा सुन्दा कुनै अप्ठेरो पर्ला भनेर सोच्न समेत नसकिएको गुनासो गरिन्। अध्यागमन विभागमा महानिर्देशक गंगाराम गेलालले दुबई विमानस्थलबबाट फकाईएका अधिकांश महिलाले दुःख पाएको बताए। 'कतिपय महिलालाई त ३–४ महिनादेखि दिल्लीको होटलमा कोचेर राखिएको रहेछ,' गेलालले भने, 'लामो समयदेखि अनिश्चिता र पीडामा रहेकाले अहिलेसम्म उनीहरूले दलालको नाम समेत खुलाएका छैनन्।' विभागले भने महिलालाई ठग्ने गिरोहलाई पत्ता लगाएरै छाड्ने उनको भनाइ छ।

नौ वर्षीया छोरीसँग बस्दै आएकी जेठला–८ दोलखाकी लक्ष्मी तामाङलाई गाउँमा गुजारा चलाउन कुनै समस्या थिएन। गाउँमै चलाउँदै आएको किराना पसलले उनको दिनचर्या राम्रोसँग चल्दै थियो। तर, उनको मोह त्यत्तिमै सीमित नहुँदा अहिले घर न घाटकी भएकी छिन्। दैनिक ३–४ सय रुपैयाँ कमाउँदा पनि खासै आँखा नलाग्दा यतिखेर उनको पसल त डुबेको छ नै। साथै वैदेशिक रोजगारीमा जाँदाको ऋण कसरी चुक्ता गर्ने भन्ने चिन्ता छ। धेरै किराना पसल नभएकाले अधिकांश गाउँलेको किनमेल गर्ने थलो उनकै पसल थियो। आफ्नै घरमा पसल राखेकाले काममा धेरै सास्ती पनि थिएन, उनलाई।

गाउँमै भइरहेको आम्दानीप्रति सन्तुष्टि हुन नसकेकी २९ वर्षीया लक्ष्मीले पसल बेचेर वैदेशिक रोजगारीमा जान खोज्दा यतिखेर उनी सडकमा पुगेकी छन्। अहिले उनलाई साँझबिहानको जोहो कसरी गर्ने भन्ने समस्या आइलागेको छ। साथीको लहलहैमा लागेर युरोप जान खोज्दा यतिखेर न उनको वैदेशिक यात्रा सफल हुन सकेको छ। न दैनिक गुजारा चलाउने माध्यम बनेको पसल नै बाँकी छ। पाँच लाख रुपैयाँमा पसल बिक्री गरेर वैदेशिक रोजगारीमा गएकी लक्ष्मीको वैदेशिक रोजगारी ४१ दिनमै टुंगिएपछि अहिले उनलाई कहाँ जाऔं र के गरौं भइरहेको छ।

'मेनपावरले दैनिक आठ घन्टाभन्दा बढी काम गर्नु नपर्ने भनेको थियो,' हाउसमेड भिसामा टर्की गएकी लक्ष्मीले त्यहाँको पीडा सुनाउँदै भनिन्, 'त्यहाँ त दैनिक १६ घन्टासम्म काममा लगाउने र सानोतिनो गल्ती हुँदा पनि हप्कीदप्की र कुटपीट गर्ने प्रयास हुन थालेपछि घर फर्कन बाध्य भएँ।'

वैदेशिक रोजगारीमा जानु अघि मेनपावरले एक परिवारको घरमा काम गर्ने भने पनि टर्कीको अंकारास्थित अपार्टमेन्टमा बस्ने ५–६ परिवारका लागि काम गर्नुपर्दा बिरामी हुँदा पनि उपचार नपाएको उनले गुनासो गरिन्। 'कुनैकुनै दिन रातिमा नचिनेका केटाहरू कोठामा छिरेर दुर्व्यवहार गर्न खोज्थे,' लक्ष्मीले भनिन्, 'पाँच लाख रुपैयाँ तिरेको पीडा सम्झँदा जस्तो पीडा सहेर पनि बस्छु लागेको थियो। तर, उनीहरूको व्यवहारका अगाडि डेढ महिनाभन्दा बढी टिक्न सकिएन।' स्वदेश फर्कन साउदीमा रहेका आफन्तलाई आग्रह गरेपछि टिकट बुकिङ गरेको र अन्तिममा त्यहाँ काम गरेर प्राप्त भएको दुई सय ४० युरोले टिकटको रकम तिरेको उनले बताइन्।

घर फर्कने रकम नभएपछि मलेसियामा काम गर्ने नेपाली र अन्य प्रवासीले चन्दा संकलन गरेको रकमबाट रौतहट, सखुवाका पीर मोहम्मद मन्सुरी स्वेदश फर्के। चार वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका मन्सुरी विदेशी भूमिमा बिरामी भएपछि जानेबेला लिएको ऋणसमेत चुक्ता गर्न असमर्थ भए। ऋण तिर्न नसकेपछि जमिन बेचेको बताउने ३९ वर्षीय मन्सुरी यतिखेर मेनपावरले लिएको रकम फिर्ता पाउनुपर्ने माग गर्दै विभाग धाइरहेका छन्।

मेनपावरलाई एक लाख ५० हजार रुपैयाँ तिरेर मलेसिया उडेका मन्सुरीले त्यहाँ सम्झौता भन्दा फरक काम र न्यून ज्याला पाएको गुनासो गरे। 'इँट्टा कम्पनीमा काम गर्ने सम्झौता थियो,' उनले भने, 'तर, मलेसियामा सिमेन्ट ओसार्ने काममा लगाइँयो। जसले गर्दा बिरामी भएँ।'

मलेसिया पुगेको तीन महिनामै बिरामी भएपछि मन्सुरीले त्यहाँस्थित राजदूतावास र वैदेशिक रोजगार विभागका पटकपटक उद्दारका लागि आग्रह गरे पनि कुनै सहयोग नपाएको गुनासो गरे। 'पहुँच नभएकाले होला मलाई सरकारी निकायले उद्धार गर्न चासो देखाएनन्,' उनले गुनासो गरे, 'अन्तिममा कुनै उपाय नलागेपछि प्रवासीले उठाएको चन्दाको रकमले घर फर्कें।'

मलेसियामा बिरामी हुँदा उपचार गर्न नपाएपछि यतिखेर उनका दुबै हात राम्रोसँग चल्दैनन्। वैदेशिक रोजगारीको लोभले सडकमा पुगेको गुनासो गर्ने मन्सुरीले मेनपावरको वदमासीले झनै पीडा दिएको बताए। 'वैदेशिक रोजगारीका कारण भएको सम्पत्ति सकियो, आफैं बिरामी परें,' उनले भने, 'रकम अभावले उपचार गर्न नसक्दा घरमा छोरीको समेत मृत्यु भयो।'

वैदेशिक रोजगारीमा गएर कमाउने र सुखद भविष्यको योजना बनाएका युवायुवती सडकमा झरेका यी दुई घटना उदाहरण मात्र हुन्। पछिल्लो समयमा जसरी वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या बढिरहेको छ। त्योसँगै वैदेशिक रोजगारीको लोभले कैयौं युवायुवती सडकमा पुगेका घटना निरन्तर बढिरहेका छन्। वैदेशिक रोजगारीमा जाँदा दलाल वा मेनपावरलाई घर, खेत बेचेर तथा ऋण लिएर रकम बुझाउने तर विदेशमा सोचे अनुसार काम नपाउँदा अलपत्र पर्दा कैयौं परिवार निरासा र पीडापूर्ण जीवन बिताउन बाध्य छन्।

 स्वदेशमा रोजगारीको अवसर नहुँदा विदेशिएका युवायुवतीले कमाइ गर्नु त कता हो कता उल्टै पुर्ख्योली सम्पत्ति बेच्नु परेपछि वैदेशिक रोजगारीले अब खुशी होइन पीडा दिने क्रम बढ्दै छ भन्ने पुष्टि हुँदै गएको पीडितहरू बताउँछन्। स्वदेशमा रोजगारीका अवसर नहुँदा विदेशिएका युवायुवती विदेशमा मात्र नभई स्वदेशमै मेनपावर र दलालबाट ठगिने क्रमको समेत अन्त्य हुन सकेको छैन। वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै दिनप्रतिदिन सरकारी निकायमा उजुरी गर्ने क्रम बढेपनि डुबेको धन, सम्पत्ति फिर्ता पाउने पीडितको संख्या भने निकै कम छ।

वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै बर्सेनि उजुरी पर्ने क्रम बढिरहेको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७०/७१ मा २५ सय ५१ उजुरी परेकोमा आर्थिक वर्ष २०७१/७२ मा २६ सय ७९ उजुरी परे। चालु आर्थिक वर्षको पाँच महिना (साउन–फागुनसम्म) विभागमा वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै सात सय २९ उजुरी परेका छन्। उजुरी जति परे पनि क्षतिपूर्ति पाउनेको संख्या भने निकै कम छ। विभागमा पर्ने उजुरीमध्ये १८ प्रतिशत भन्दा बढीले अहिलेसम्म क्षतिपूर्ति पाउन सकेका छैनन्।

 

Published:4 May 2017/Nagarik

NEWS SEARCH