s

वैदेशिक रोजगारमा २८ लाख नेपाली, कोभिडले १६ लाख फर्कन सक्ने

मुना कुँवर

कुल २८ लाख १२ हजार नेपालीहरू वैदेशिक रोजगारीमा रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार सार्वजनिक एक अध्ययन प्रतिवेदनले वैदेशिक रोजगारीमा रहेका कामदारको यो तथ्यांक बाहिर ल्याएको हो । काठमाडौंस्थित अनुसन्धान संस्था सोसल साइन्स बहाअन्तर्गतको सेन्टर फर स्टडी अफ लेबर एन्ड मोबिलिटीले नेपाल श्रमशक्ति सर्वेक्षण २०७५ को प्रारम्भिक तथ्यांकका आधारमा यो संख्या निकालेको मानवअधिकार आयोगले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको यकिन तथ्यांक सरकारी निकायहरूसँग पनि नभएको अवस्थामा यो वास्तविकता नजिकको तथ्यांक सार्वजनिक भएको हो । 

अध्ययनका अनुसार वैदेशिक रोजगारमिा सबैभन्दा बढी नेपाली भारतमा ९ लाख ६९ हजार छन् । त्यस्तै, मलेसियामा ४ लाख ६८ हजार र कतारमा ४ लाख ३६ हजार नेपालीले काम गरिरहेको पनि अध्ययनले देखाएको छ । 

कोभिड–१९ महामारीका कारण १६ लाख नेपालीहरू नेपाल फर्कन सक्नेसमेत आयोगको यो अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया र खाडीलगायतका मुलुक गएका श्रमिकमध्ये करिब ९ लाख र अध्ययन, व्यापार–व्यवसायलगायतका लागि विभिन्न मुलुक गएका ७ लाख नेपालीहरू तत्कालै फर्कन सक्ने आयोगको ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरूको अधिकार’ विषयक अध्ययनले देखाएको हो । 

श्रम स्वीकृति तथा करार अवधि समाप्त भएका, करार अवधिभित्रमा कोरोनाका कारण रोजगारी गुमाएका, आममाफी पाएका, अध्ययन, घुमघाम र भेटघाटका लागि विदेश गएर अलपत्र परेका नेपालीहरू स्वदेश फर्कने देखिएको हो । अध्ययनका अनुसार पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका तर रोजगारी गुमाई ५ लाख नेपालीहरू स्वदेश फर्कनसक्छन् ।

त्यस्तै, रोजगार अवधि सकिएका तर लकडाउन भएका कारण आउन नपाएका श्रमिक ३५ हजार छन्, जो तत्कालै नेपाल फर्कन चाहन्छन् । नयाँ श्रम स्वीकृति लिई रोजगारीमा गएका, तर करार अवधिभित्रमा कोरोनाका कारण रोजगारी गुमाएका ३ लाख, पुनः श्रम स्वीकृति लिई रोजगारीमा गएका, तर रोजगारी गुमाएका १० हजार, आममाफी पाएका २५ हजार श्रमिक फर्कन सक्ने आयोगको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, श्रम अवधिभित्र रहेका, रोजगारीमा समस्या नभए पनि स्वैच्छिक रूपमा स्वदेश फर्कने २० हजार र अध्ययन, घुमघाम र भेटघाटका लागि विदेश गएर अलपत्र परेका ७ लाख नेपाली स्वदेश फर्कनसक्ने पनि प्रतिवेदनमा उल्लेख छ । 

मानवअधिकार आयोगका सदस्य तथा यो अध्ययनका संयोजक सुदीप पाठकका अनुसार यो वैदेशिक रोजगार बोर्डले उपलब्ध गराएको विवरणका आधारमा यो तथ्यांक निकालिएको हो । 

महामारीका कारण नेपालमा लकडाउन सुरु भएपछि गत असारसम्ममा १ लाख ७२ हजार ५ सय नेपाली श्रमिकको श्रम स्वीकृतिको अवधि समाप्त भएको आयोगको अध्ययन प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार खाडी मुलुकमा १ लाख ३९ हजार १ सय ५० नेपाली श्रमिकको श्रम स्वीकृतिको समय सकिएको छ भने मलेसियामा २२ हजार ४ सय २५ र अन्य मुलुकमा १० हजार ९ सय २५ श्रमिकको श्रमको अवधि सकिएको छ । अध्ययनअनुसार हरेक दिन औसत १५ सय नेपाली श्रमिकको श्रम स्वीकृति समाप्त हुन्छ । 

लकडाउनकै अवधिमा रोजगार अवधि सकिएका कामदार ओमानमा १८ सय ४० छन् । बहराइनमा २ हजार ७ सय ६०, कुवेतमा ८ हजार ५ सय १०,  युएईमा ३९ हजार ९ सय ५, साउदी अरबमा ३७ हजार ६ सय ५,  कतारमा ४८ हजार ५ सय ३० जना कामदार श्रम अवधि सकिएर पनि उतै बस्न बाध्य छन् । यस्ता कामदारको संख्या मलेसियामा २२ हजार ४ सय २५ र अन्य देशमा १० हजार ९ सय २५ छ । श्रम स्वीकृतिको अवधि सकिएका श्रमिक नेपाल फर्कन नपाउँदा ठूलो जरिवाना र सजाय भोग्नुपर्ने हुन सक्ने आयोगले बताएको छ ।

Published on: 14 August 2020 | Nayapatrika

Link

Back to list

;