s

के साँच्चै युरोपमा सुन फल्छ ?

प्रतिक ढकाल

गत डिसेम्बर २२ गतेदेखि म्याग्दी चुत्रेनीका सुरज मल्ल पोर्चुगलबाट सम्पर्क विहीन भए । गएको सेप्टेम्बर तीर उचित रोजगारीको अवसर खोज्दै रोमानिया हुँदै पोर्चुगल पुगेका उनको निधन भइसकेको म्याग्दीका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । पोर्चुगलको स्थानीय प्रहरीले उनले आत्महत्या गरेको भनेर प्रारम्भिक रिपोर्ट निकाल्यो । आत्महत्या पछाडिको यथार्थता भने अहिलेसम्म बुझ्न सकिएको छैन । पछिल्ला केही वर्षहरूमा युरोप जाने लहड आम युवा जमातमा छ । पैसा धेरै कमाउने आश, युरोपियन जीवनको सपना अनि परिवारको भविष्य खोज्दै युरोपका विभिन्न देशहरूमा जाने नेपालीहरू धेरै छन् ।

अब दोस्रो घटना हेरौँ,

२०७८ को माघ महिनामा पोर्चुगलमै अर्को घटना घट्यो । कञ्चनपुर भिमदत्तका तर्कराज भट्ट (२८) ले रूखमा झुण्डिएर आत्महत्या गरे । त्यसको एक वर्ष अघि फेसबुकमै स्ट्याटस लेखेर बझाङका सुरत कुँवरले पनि घरको सात तलाबाट हाम फालेर आत्महत्या गरेका थिए । 

त्यससमय उनको मृत्युले नेपालमा एक किसिमको तरङ्ग नै ल्याएको थियो । 

युरोपमा धेरै कमाइ हुन्छ, यूरोपेली जीवनशैली जिउन पाइन्छ अनि दीर्घकालमा त्यहीँ स्थापित हुन सकिन्छ भन्ने सोचाइले अधिकांश नेपाली युवाहरू लहडमै यूरोप पुग्छन् ।

अधिकांशको अनुभव सुन्दा ‘युरोपमा सुन फल्छ’ भन्ने सुनेर नै धेरै नेपाली रोजगारीको खोजीमा युरोप पुग्छन् भने केही व्यक्ति विद्यार्थी भिसामा अध्ययनका लागि भनेर पलायन हुन्छन् ।

“भनेजस्तो सहज छैन युरोप, मेरी श्रीमती र म दुबैले ब्याचलर सकेर लण्डन आयौँ, १ वर्ष त खर्च धान्नै मुस्किल भयो । दुईजनाकै कमाइ छ त्यसैले जेनतेन टिकिँदै छ,” विराटनगर बरगाछीका विकास रिजालले सुनाए ।

विकास दम्पती नेपालमा स्नातक सकेर रोजगारी गर्दै थियो । यही बीच कसैले भनिदियो – लण्डनमा भनेजस्तो रोजगारी पाइन्छ र कमाइ पनि राम्रो हुन्छ । 

देशमा राम्रैसँग परिवार चलेकै भएपनि यी दम्पतीले लण्डन रोजे । उनकी श्रीमती जीविकाले आईईएलटीएस गरिन् र दुबैजना लण्डन उडे । सुरुवातमा यी दम्पतीलाई लण्डनमा संघर्ष गर्नुपर्यो । केही समयपछि विकासले काम पाए र जीवन केही सहज भयो तर जाँदा लागेको खर्च उठाउने सपना सपनामै सीमित भयो । लण्डन उडेको १ वर्षसम्म जीविकाले काम पाइनन् त्यसपछि एउटा होटलमा काम भेटिन् अहिले उनीहरूको जीवन लण्डनमा औसत रूपमा चलेको छ ।

जीविका भन्छिन्, “सहजै जागिर पाउँछु, राम्रो कमाउँछु र धेरै बचाउँछु भनेर चाहिँ युरोप नआउनुस्, औसत जीवन कटाउन नै संघर्ष गर्नुपर्छ”

त्यसो त झापा बुधबारेका टीकाराम भट्टराई पनि यतिबेला पोर्चुगलमा छन् । बुधबारेमै हार्डवेयर सञ्चालन गरिरहेका उनी गत भदौमा ८ लाख खर्चिएर क्रोएसिया हुँदै पोर्चुगलसम्म पुगे ।

“खेत खन्ने काममा छु । युरोपमा पैसा छापिन्छ भनेर आइहालेँ अहिले बेहाल भयो । यति पैसा त बलको काम नगरी नेपालमै कमाउँथे ,” टीकारामले गुनासो पोखे । 

पोर्चुगलमा खेतबारी खन्ने काम गर्ने उनको कमाइ अहिले नेपाली ८० हजार रुपैयाँ छ । थोरै खर्च गर्दा पनि उनको १० हजार बचत हुँदैन । लगाएको ८ लाख लगानी उठ्ने त प्रसङ्ग नै छैन ।

उनी भन्छन्, “युरोप भनेर के गर्नु खाना बस्नै मुस्किल रहेछ । युरोपमा सुन फल्दैन, न फलाउन सकिन्छ”

युरोपमा रोजगारीमा जानका लागि नेपाल सरकारले हालसम्म केही कार्यविधी बनाएको छैन । नेपालले अहिलेसम्म ९ वटा देशहरूसँग श्रम सम्झौता गरेको छ। तर, यो सूचीमा युरोपियन देश भने सामेल छैनन् । 

यसरी युरोपियन देशहरूसँग नेपालको बलियो द्विपक्षीय सम्झौता हुन नसक्दा नेपाली युवाहरू अवैध रुट तथा प्रकृयामार्फत युरोप छिर्न बाध्य छन्। भारत हुँदै तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मार्फत पनि भिजिट भिसा बनाएर अधिकांश नेपाली युवाहरू युरोप छिर्ने गरेका छन्। यसरी युरोप छिरेकाहरूमध्ये कतिपयले राम्रो काम पाएर स्तरीय कमाइ गरिरहेका छन् भने युरोप छिर्ने सपना बोकेका युवाहरू ठूलो सङ्ख्यामा मानव तस्करको पन्जामा समेत पर्ने गरेका छन् ।

कतिपयलाई मानवतस्करले बाटैमा अलपत्र पार्ने गरेका घटनाहरू बढ्दै गइरहेका छन्। केहीलाई युरोप पुर्याएर पनि तस्करहरूले दुःख दिने गरेका छन्। तर पनि नेपाली युवाहरूमा युरोप मोह रोकिएको छैन। उनीहरु ज्यानै जोखिममा राखेर युरोप छिर्न बाध्य छन्। 

 किन समस्यामा फस्छन् नेपाली ?

“कम तलब अनि सुविधामा नेपाली कामदारहरूलाई काम लगाउन पाइने हुँदा युरोपले नेपाली कामदारहरू लैजान्छ । पोल्याण्ड, क्रोएसियामा ७ सय देखि १ हजार युरोसम्म अर्थात् औसतमा एक देखि डेढलाख रूपैयाँसम्म कमाइ हुन्छ तर लगानी पनि ठूलो अनि युरोपमा खर्च पनि ज्यादा हुँदा कमाएको पैसा बाँच्दैन उल्टो घरबाट पैसा पठाउने अवस्थासम्म आइपुग्छ,” युरोप रोजगारीका बारेमा जानकार आप्रवासनविद् डा. जीवन बानियाँ सुनाउँछन् ।

सरकारले युरोपेली मुलुकसँग जी टु जी अथवा दुईपक्षीय श्रम सम्झौता गरेको छैन । युरोपियन मुलुकहरूकै कामदारलाई प्रोत्साहित गर्ने युरोपियन युनियनको नीति अनुरूप अहिले युरोप बाहिरका जनशक्तिलाई दुईपक्षीय श्रम सम्झौता गरेर जान सहज वातावरण बनिहाल्ने पनि गुन्जाइस छैन । त्यसैले व्यक्तिगत रूपमा नै श्रम सम्झौता गरेर युरोप जानुपर्ने अवस्था ठगीका घटना बढेर गएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार कार्यविधी अनुसार संस्थागत रूपमा जानेहरू तलमाथि भएमा म्यानपावरलाई सजिलै समात्न सकिन्छ । ठगी भएको प्रमाणित भएमा वैदेशिक रोजगार विभागमा मेनपावर एजेन्सीले राखेको धरौटीबाट नै रकम काटेर दिन सकिन्छ । तर व्यक्तिगत रूपमा निकै कठिन हुन्छ । व्यक्तिगत रूपमा जाँदा मानव तस्करीभित्र पर्ने सम्भावना पनि त्यतिकै रहन्छ ।

सपनाको ठाउँ युरोप जाने भनेपछि नेपालीहरू जस्तो सुकै कदम उठाउन तयार हुन्छन् । र, यहीँ बाट सुरु हुन्छ जोखिम । सुरुवातमै युरोप पठाउने मेनपावरको खोजीमा उनीहरू एजेन्टसम्म पुग्छन् र उनीहरूको मोलमोलाइ सुरूहुन्छ ।

 “न सरकारले जान लाग्ने खर्च तोकेको छ न त जान खोज्नेलाई नै थाह छ । युरोप छिर्दा जति पैसा असुले पनि मेनपावरवालालाई कानूनको डर हुँदैन त्यसैले उनीहरू ६ लाख देखि १२ लाखसम्म पैसा असुल्छन्,” जीवनले सुनाए ।

युरोप भनेझैँ सहज नभएपनि उचित मेनपावर एजेन्सीको छनोट गरि वैदेशिक रोजगारीमा जान सकेको खण्डमा जीविकोपार्जन गर्न सकिने तर राम्रो आम्दानी गर्न भने नसकिने जीवनको तर्क छ । 

उनी भन्छन्, “युरोप अप्ठ्यारो छ। तर सबैलाई असहज नै छ भन्ने चाहिँ हैन । सम्पूर्ण प्रक्रिया पुर्‍याएर जाने हो भने एजेन्टलाई मनग्य पैसा बुझाउनु पनि पर्दैन अनि जोखिम पनि कम हुन्छ” 

प्रक्रिया पुर्‍याएर जाने हो भने सहज बन्न सक्छ युरोप रोजगारी

सीप नै नसिकि युरोप छिरेर मनग्य कमाइ गर्ने सोचाइ छ भने त्यो ‘दिवास्वप्न’ मात्र हुने त्यहाँ रहेका नेपालीहरू बताउँछन् । उनीहरू सुझाउँछन्, ‘युरोपमा अवसर भेटाउनका लागि यसबारे सम्पूर्ण तत्थ्यगत जानकारी र सीपमूलक तालिमको अनुभव नेपालमै जुटाउनु पर्दछ’

विश्वका जुनै देशमा कामदारको रूपमा जाने भएपछि तपाईंलाई सीप आवश्यक हुन्छ । 

युरोपमा राम्रै आम्दानी गर्नेहरू पनि छन् तर प्रायस सीप लिएर गएकाहरूलाई केही पैसा आर्जन गर्न सजिलो छ ।

नेपाल सरकारले तोकेको शूल्कमा युरोप छिर्न सके ठूलो लगानी युरोप जान लाग्दैन ।  जस्तै सरकारले पोल्याण्डका लागि ८० हजार ४ सय शुल्क तोकेको छ । यसरी सरकारले तोकेको शूल्कमा युरोप छिर्न सके लगानी कम लाग्छ ।

४ वर्ष अगाडि सम्पूर्ण प्रक्रिया पुर्‍याएर कामदार भिसामा रोमानिया पुगेका बाजुरा मार्तडीका राजेश राणा (२८) ले भने युरोपमा राम्रो आम्दानी गर्छन् ।

नेपालमा नै कुकरी र बेकरी तालिम लिएका उनलाई रोमानिया पुगेपछि काम पाउन सहजै भयो । 

“धेरैलाई भाषा र सीप अभावका कारण समस्या भोगेको देखेको छु, म रोमानियाको ब्रोसप  सहरमा नै काम गरेको ४ वर्ष भयो । भागेर पोर्चुगल, स्वीडेन जस्ता देशहरू जाने नियती भोग्नै परेन,” राजेशले सुनाए ।

रोमानियामा उनी सी-फूड बनाउने होटलमा काम गर्छन् । उनले त्यहाँ रहँदा बस्दा विभिन्न युरोपियन खाना बनाउन जानिसके ।

उनी भन्छन्, “केही पैसा जम्मा भएपछि दीर्घकालमा नेपालमा नै युरोपियन खानाको स्वाद चखाउने रेष्टुरेन्ट खोल्न मन छ । अब त हातमा सीप छ त्यसैले रेष्टुरेन्ट कसरी चलाउने भन्ने पनि आइडिया आइसक्यो”

राजेशको भनाइ अनुसार युरोप जान पहिले त वैधानिक मेनपावरको सहायता लिनु पर्दछ तर यस्ता ठाउँबाट प्रक्रिया पुर्‍याएर विदेशिँदा पनि युरोप सहज हुन्छ भन्ने चाहिँ छैन । खासगरी युरोपका औद्योगिक क्षेत्र, पानीजहाज, व्यापार, कृषि, मत्स्यपालन, पर्यटन, होटल, रेस्टुराँ, घरायसीलगायत विभिन्न क्षेत्रमा कामदारको माग बढी देखिन्छ। यी क्षेत्रहरुमा विशेष गरी सीपयुक्त जनशक्तिको माग छ। सीपयुक्त कामदारलाई सोहीअनुसारको आकर्षक पारिश्रमिक तथा सेवासुविधासमेत व्यवस्था हुने राजेश बताउँछन्। 

“सफ्ट स्किल (भाषा,कानुन) जस्ता विषयबारे जान्ने हो भने पनि युरोपमा धेरै सहजता हुन्छ । त्यसमा पनि थप जीवनउपयोगी सीप सिक्न सके कृषि र निर्माण क्षेत्रमा युरोपमा काम पाउन सकिन्छ,” आप्रवासनविद् डा. जीवन बानियाँ बताउँछन् ।

रोजगारीका लागि नेपालबाट युरोपसम्म पुगेका नेपाली कति छन् भन्ने यकिन तत्थ्याङ्क पाइँदैन तर आप्रवासनका लागि अन्तराष्ट्रिय संगठन (International organization for migration, IOM) ले सन् २०१९ मा निकालेको एक रिपोर्ट अनुसार ६२ हजारभन्दा बढी नेपालीले युरोपमा काम गर्दै आएका छन् ।

विगतको ३-४ वर्षमा युरोप जाने नेपाली श्रमिकहरूको सङ्ख्यामा उल्लेखनिय वृद्वि भएको विभिन्न रिपोर्टहरूले दाबी गर्छन् ।

युरोप जान सरकारको बेग्लै कार्यविधि नबनाए पनि युरोप रोजगारीलाई सहज बनाउन काम भइरहेको श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरे बताउँछन् । 

उनी भन्छन्, “युरोपका लागि रोमानिया, साइप्रस, माल्टा लगायतका ठाउँमा नयाँ दुई राष्ट्रबिच समझदारी(MOU) गर्न लागेका छौँ । यी देशहरूसँग श्रम सम्झौता गर्न सकेमा युरोप रोजगारी थप सहज भएर जान्छ”

युरोप जान कति खर्च लाग्छ, श्रमिकले कति तिर्ने हो भन्ने जस्ता कुराहरूमा कुनै ठोस कार्यविधि नभएपनि अब त्यसतर्फ पनि सरकार लाग्ने उनले बताए ।

“युरोपका प्राय देशमा नेपाली राजदूतावास छैन । दूतावास स्थापना गर्ने सन्दर्भमा पनि कुराकानीहरू भइरहेका छन् । हामी युरोप रोजगारीलाई सहज बनाउने प्रक्रियामा नै छौँ । सरकारले निकट समयमा नै युरोप रोजगारीलाई व्यवस्थित गर्ने गरि काम गर्दैछ,” डण्डुराजले भने ।

Published on: 16 April 2023 | Jibiko

Link

Back to list

;