s

अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

देवेन्द्र भट्टराई

पथरी, मोरङ — भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै गिरोहले नेपाली नागरिकसँग करोडौं ठगी गरेको पाइएको छ । प्रतिवेदनमा आफूखुसी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको भेटिएको हो ।

गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा २०७६ जेठमा गठित कार्यदलमा विज्ञ सदस्यका रूपमा गणेशबहादुर केसी र सदस्यसचिवका रूपमा शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए । कार्यदलले गृहमा बुझाएको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन । गिरोहले त्यही प्रतिवेदनको प्रतिलिपि हात पारेपछि त्यसमा ८७५ नेपालीको नामसहितको दुइटा अनुसूची थपेको हो । स्रोतका अनुसार सरकारी संयन्त्रसँग निकट रहेको गिरोहले नाम प्रतिवेदनमा समावेश गरेर जनही १० लाखदेखि ५० लाख रुपैयाँसम्म उठाएका थिए । रकम उठाइसकेपछि गिरोहले नक्कली शरणार्थी परिचयपत्र वितरण गर्दै आएको थियो ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी परिचयपत्र दिलाउने गिरोहका मुख्य नाइके केशव दुलालसहित तीन जना आइतबार अपराह्न काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुलाल, सानु भण्डारी र टेक गुरुङलाई नियन्त्रणमा लिएको हो । ‘पथरी घर भएका केशव दुलालले यहाँका ५० भन्दा बढी सिधासाधालाई अमेरिका पठाउने भन्दै शरणार्थी परिचयपत्र र ट्राभल डकुमेन्ट तयार गर्न भनेर १० लाख रुपैयाँदेखि माथि उठाएका छन्,’ उर्लाबारीका एक पीडितले भने, ‘पैसा उठाउन पथरीकै पूर्ववडाध्यक्ष सागर राईले समन्वय गरिदिएका थिए ।’ पथरीका राई भने ‘हल्ला निकै चलेको छ, बोल्ने ठाउँमा पुगेर आवश्यक परे बोलौंला’ भन्दै पन्छिन चाहे ।

गिरोहले प्रतिवेदन हात पारेर त्यसमा ९(क) र ९(ख) अनुसूची थपेको छ । अनुसूची ९(क) ‘विभिन्न कारण देखाई शरणार्थीमा छुट दर्ता गरी तेस्रो देशमा पुनःस्थापना गर्न माग गर्दै कार्यदलसमक्ष निवेदन दिने क्याम्पबाहिर ठेगाना देखाएका निवेदकहरूको विवरण’ उल्लेख गरिएको छ जहाँ ४५१ परिवारका ५३५ जनाको नाम समेटिएको छ । ९(ख) मा ‘विभिन्न कारण देखाई शरणार्थीमा छुट दर्ता गरी तेस्रो देशमा पुनःस्थापना गर्न माग गर्दै कार्यदलसमक्ष निवेदन दिने क्याम्पभित्र ठेगाना देखाएका निवेदकहरूको विवरण’ मा भने १३० परिवारका ३४० जनाको नाम उल्लेख छ ।

गृह मन्त्रालयले गत वर्ष डिसेम्बरमा जारी गरेको लतिका भण्डारीको शरणार्थी परिचयपत्रमा ठेगाना ‘बेल्डाँगी–सी ३/३३९’ लेखिएको छ । सलिना प्रधानको ठेगाना ‘बेल्डाँगी ८–३/३७’ छ । यी दुवै परिचयपत्रको प्रतिलिपि बोकेर संवाददाता दमकको बेल्डाँगी शिविरमा पुगेको थियो । ‘बी–३’ सेक्टरकी प्रतिनिधि कविता राईले यी नामका कोही पनि शरणार्थी आफ्नो र आसपासको सेक्टरमा नरहेको बताइन् । परिचयपत्रमा रहेको नम्बरको हट (झुप्रो) शिविरभित्र कतै नरहेको पनि उनले जानकारी दिइन् ।

प्रतिवेदनको ‘छुट दर्ता’ सूचीमा ‘रमेश कटवाल (पथरी–११ एक्स्टेन्सन/एफ२/१०७/ १८११ एक्स)’ र ‘सुनील अधिकारी (पथरी–११ एक्स्टेन्सन/ए१/१७०८एक्स)’ उल्लेख छन् । तर, यी नाम–ठेगाना पनि पथरी शरणार्थी शिविरमा कतै पाइएन । कटवाल र अधिकारी दुवै दाङवासी रहेको अनुसन्धानमा देखिएको छ ।

गिरोहले कहिले छुट दर्तामा नाम हाल्ने, कहिले फोटो खिच्ने र कहिले मेडिकल गर्ने भन्दै किस्ता–किस्तामा जनही १० लाख रुपैयाँ लिएको पीडितहरू पथरीका ईश्वर भट्टराई, संगीता खड्का, विकास खड्का, समीर पराजुली, सोनिया लिम्बू, सारा तामाङ, कमल सुवेदी, महेश कार्कीलगायतले जानकारी दिए । ‘सन्देश शर्मा नामका व्यक्तिले मेरो दाङ क्षेत्रका चिनारु र गाउँलेको रकम उठाएको मैले पाएँ,’ दाङबाट आएका पीडितका आफन्त गजेन्द्र बुढाथोकीले कान्तिपुरसँग भने, ‘मेरै क्षेत्रका ६१ जना पीडितको उजुरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेको छ ।’ उनका अनुसार दाङमा २०७८ जेठमा धन्दा सुरु गरेको गिरोहले कहिले फोटो खिच्ने भनेर चितवन सफारी होटलमा बोलाएको थियो, कहिले विराटनगरको विराट मेडिकलमा स्वास्थ्य परीक्षण गर्न पुर्‍याएको थियो ।

यो गिरोहको धन्दाबारे जानकारी दिन बुढाथोकीले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, गृह सचिव टेकनारायण पाण्डेलाई पनि भेटेका थिए । ‘सानु भण्डारीसँग मेरो चिनजानी छ, म कुरो गरिदिउँला’ भन्दै गृह सचिव पाण्डेले आफूलाई सान्त्वना दिएको बुढाथोकीले सुनाए । त्यसअघिका गृहमन्त्री रामबहादुर थापा, उनका सल्लाहकार इन्द्रजित राईसहितका पदाधिकारी पनि यो गिरोहबारे जानकार रहेको पीडितहरूको भनाइ छ ।

गिरोहका नाइके केशव दुलाल नेता सुजाता कोइराला उपप्रधानमन्त्री भएका बेला उनका निजी सहायक थिए । शरणार्थी बनाएर अमेरिका उडाउने प्रलोभनमा पारिएका व्यक्तिहरू काठमाडौं आएका बेला दुलालले नेता कोइरालाकहाँ चियापानमा लिएर जाने गरेको पाइएको छ । गृह मन्त्रालयको तत्कालीन नेतृत्व तहसम्म पहुँच पुर्‍याएर गिरोहले चलखेल गरेको पीडितको भनाइ छ । ‘गिरोहले अब हेर्दै जानुस्, अख्तियारमा प्रमुख आयुक्त बनेर गृह सचिव प्रेमकुमार राई जाँदै छन्, यो हाम्रै सेटिङ हो । झापामा सीडीओ जनक दाहाल फेरिँदै छन्, तल शिविरमा अब संयुक्त प्रमाणीकरण जाँदै छ, गृहका सहसचिव पन्थीको नेतृत्वमा शरणार्थीको छुट दर्ता कार्यदल बन्दै छ भन्थे,’ पथरीमा भेटिएका अर्का पीडितले भने, ‘नभन्दै त्यस्तै हुन्थ्यो ।’

दाङबाट भने रोहित शर्मा कोइराला (सन्तोष शर्मा), कृष्ण कार्की (विवेक थापा), प्रदीप पौडेल (प्रदीप अर्याल), भुवन थापा (सन्देशजंग ठकुरी), कपिल खनाल (खिमराज पौडेल), सिम्रन थापा (मीना राणा) सहितका पीडितले आफूले तिरेको रकम, बैंक दाखिला रसिद, नक्कली शरणार्थी परिचयपत्रसहितका प्रमाण अनुसन्धानका लागि प्रहरीमा बुझाएका छन् ।

दुलाललगायतकै गिरोहले कास्की, चितवन, दाङ, सल्यानसहितका २ सयभन्दा बढीलाई अमेरिकाको सपना देखाएर ठगी गरेको उजुरी प्रहरीमा छ ।

पूर्वी नेपालमा रहेका शिविरहरूका झन्डै १ लाख १५ हजार शरणार्थी तेस्रो देशमा बसोबासमा गइसकेपछि ‘दिगो समाधान खोज्न’ भन्दै गृह मन्त्रालयले विभिन्न कार्यदल, समिति र अध्ययन टोली बनाउँदै आएको छ ।

पछिल्लो पटक २०७६ जेठ ३० मा बनेको पूर्वसहसचिव पन्थी नेतृत्वको कार्यदलको काम सन्देहपूर्ण देखिएको भन्दै झापाकै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा २०७८ मंसिर १९ मा उपसमिति बनाइएको थियो । उपसमिति गठनका क्रममा गृहले झापा जिल्ला प्रशासन कार्यालयलाई ‘शरणार्थी परिचयपत्र वाहकका परिचयपत्रविहीन सन्ततिलाई परिचयपत्र दिने’ भन्ने द्वैध अर्थ लाग्ने कार्यादेश दिएको थियो ।

फेरि २०७९ जेठ २७ मा ‘पन्थी कार्यदलले पेस गरेको प्रतिवेदनसमेत अध्ययन गर्दै छुट शरणार्थीका सन्दर्भमा समेत दीर्घकालीन समाधान र व्यवस्थापनको ठोस सुझाव पेस गर्ने’ भन्दै गृहले अर्को उपसमिति बनायो । यो उपसमितिको काम अहिले पनि जारी छ । यही उपसमितिको नेतृत्व गरेका झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले पन्थी प्रतिवेदनमा छुट दर्ता भनेर राखिएका ४ सय २९ जनाको नाम पनि ‘प्रमाणीकरण’ बाँकी रहेको बताए । ‘यहाँ शरणार्थी हो, होइन र शंकास्पदका गरी तीन वर्गमा बाँडेर अध्ययन गर्दै छौं,’ उनले कान्तिपुरसँग भने, ‘अहिलेसम्मको अध्ययनमा सिफारिस गरिएकामध्ये धेरैजसो होइनन् कि भन्ने देखिएको छ ।’

झापा–मोरङका पीडितले एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष कुरा राखेपछि उनकै निर्देशनमा राष्ट्रिय सभामा गिरोहको चलखेलका विषयमा प्रश्न उठाइएको थियो । चितवनकी राष्ट्रिय सभा सांसद दिलकुमारी थापा रावल (पार्वती) ले ‘अमेरिका लैजाने भन्दै सोझासाझा नेपालीमाथि गिरोहको आर्थिक चलखेल भइरहेको’ भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् । उनले यसमा गम्भीर अनुसन्धान हुनुपर्ने आवाज पनि उठाएकी थिइन् । ‘यो गिरोहको चलखेलबारे एमाले, कांग्रेस, माओवादीका सबैजसो शीर्षस्थ नेता जानकार हुनुहुन्छ,’ पथरीमा भेटिएका एमाले नेता युवराज बाँस्कोटाले भने, ‘तर, गिरोहको राजनीतिक र अन्य पहुँचका कारण धेरैले मुख खोल्न सकेका छैनन् ।’

प्रतिवेदनमा के छ ?

गृह स्रोतबाट कान्तिपुरले हालै प्राप्त गरेको पन्थी कार्यदलको प्रतिवेदनअनुसार अध्ययन कार्यदललाई ६ वटा कार्यादेश दिएको पाइएको छ । यसमध्ये सबैभन्दा अर्थपूर्ण र द्वैअर्थी छैटौं बुँदामा ‘भुटानी शरणार्थीलाई दर्ता भई पुनःस्थापना हुन बाँकी र दर्ता हुन छुट भएका शरणार्थीहरूको लगत तयार गरी निजहरूलाई भुटान फिर्ता गर्न सकिने वा नसकिने, तेस्रो देशमा पुनर्वासमा पठाउन सकिने वा नसकिने सम्बन्धमा सुझाव दिने’ भनिएको छ । ‘तर, कार्यदलले यो कार्यादेशमा काम गरेन, हामी दर्ता छुटका शरणार्थीको लगत राख्ने अवस्था र समयावधिमा थिएनौं । यसरी दर्ता गर्न अनेक जोडबल आइपरेको भए पनि यो कार्यादेशलाई स्वीकार नगरी काम पूरा गरेका थियौं,’ पन्थीले भने ।

प्रतिवेदनको सुझावमा भनिएको छ, ‘छुट दर्ता भएको भन्दै बारम्बार शरणार्थी दर्ता गर्नका लागि निवेदन दिने प्रवृत्तिले यो समस्यालाई बल्झाइरहने हुँदा अबउप्रान्त दर्ता प्रक्रिया मात्र नभई शिविरको धारणा र अस्तित्वलाई नै हटाउन आवश्यक देखिन्छ, नेपालको भूराजनीतिक अवस्था र आर्थिक, प्राकृतिक सामर्थ्यको कमी र भावी सम्भावित परिणामलाई मध्यनजर गर्दा भुटानी शरणार्थीहरूलाई नेपाली नागरिकता दिन उचित नहुने देखिन्छ ।’

पन्थी प्रतिवेदनमा दर्तामा आएका भुटानी शरणार्थीलाई ‘स्मार्ट भुटनिज रिफ्युजी आइडेन्टी कार्ड’ उपलब्ध गराउँदै वैज्ञानिक अभिलेखन गर्न सुझाव दिइएको छ । कार्ड उपलब्ध गराएपछि निश्चित समयावधि तोकी शिविर खाली गराउने र खाली भएको जग्गालाई प्रचलित कानुनबमोजिम सम्बन्धित सरकारी निकायलाई संरक्षणका लागि हस्तान्तरण गर्नुपर्ने भनिएको छ ।

नेपालबाट भुटानी शरणार्थी पुनर्वास कार्यक्रम टुंगिएपछि ०७७ पुस १६ (२०१६ डिसेम्बर) मा झापाको दमकमा रहेको शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको उपशाखा (कार्यालय) बन्द भइसकेको छ । गिरोहले भुटानी शरणार्थीलाई तेस्रो देश लैजान भन्दै रकम असुल्ने गरेको सूचना आउन थालेपछि ०७९ वैशाख ३ मा नेपालस्थित यूएनएचसीआरको कार्यालयले विज्ञप्ति निकाल्दै ‘प्रमाणीकरण हुनेलाई पुनर्वासका सबै प्रक्रिया स्थगित भइसकेको’ जानकारी गराएको थियो । तर, त्यसयता पनि गिरोह चलखेल जारी छ ।

Published on: 27 March 2023 | Kantipur

Link

Back to list

;