s

वैदेशिक रोजगारीबाट फर्केर उद्यम

काशीराम डाँगी

रोल्पा — वैदेशिक रोजगारीबाट फर्किएका यहाँका युवा उद्यममा आकर्षित भएका छन् । सिकेको सीप र अनुभवलाई गाउँमै उपयोग गर्न थालेका छन् । जिल्लाबाट वैदेशिक रोजगारीमा पुगेका थुप्रै युवाले अहिले सिर्जनात्मक काम गरिरहेका छन् । २० वर्षअघि रोजगारीका लागि साउदी अरब पुगेका माडी–२, घर्तीगाउँका भीमसेन घर्तीमगरलाई कमाएर परिवार पाल्ने चिन्ता थियो । १५ वर्ष त्यहाँ बस्दा उनले राम्रै कमाए । कमाएर घर फर्केका उनले अहिले गाउँमै व्यवसाय थालेर अरूलाई समेत रोजगारी दिएका छन् ।

‘पहिले काम नपाएर विदेश गएँ । त्यसबेला निकै दुःख पनि गर्नुपर्‍यो,’ उनले विगत सम्झिदै भने, ‘आएपछि व्यवसाय थाल्दा कमाइ र अरूलाई रोजगारीसमेत दिएको छु ।’ १५ वर्षपछि मुलुक फर्केर उनले रोल्पा सदरमुकाम लिबाङमा घर, गाडी मात्रै किनेनन्, नयाँ व्यवसाय पनि थाले । युवा व्यवसायी सोरो बुढामगरसँगको साझेदारीमा ७ वर्षदेखि गाडी मर्मत गर्न नेसनल मोटर पार्ट्स फर्म सञ्चालन गरेपछि कमाइसँगै रोजगार पनि दिन पाएका छन् । ‘विदेशमा काम गर्न सजिलो छैन, दुःख निकै हुन्छ,’ उनले भने, ‘यहीं हिम्मत र भरोसा मार्नु हुन्न, आत्तिनु हुन्न ।’ अहिले ग्यारेजबाट महिनामा कम्तीमा ६० हजार कमाइ हुन्छ भने ‘फोर्स’ जिप सञ्चालनबाट ५० हजार कमाइ छ । ५० वर्षका भीमसेन साना गाडी सञ्चालन गर्ने यातायात समिति जलजला हिमाल यातायातका अध्यक्षसमेत हुन् । समितिमा ६० भन्दा बढी गाडी छन् । उनकै अगुवाइमा समितिमा आधा दर्जनले र ग्यारेजमा तीन जनाले रोजगारी पाएका छन् । 

विदेशबाट फर्केपछि जंकोटका ५४ वर्षीय शशिराम डाँगी र लालबहादुर डाँगीले लिबाङमा ग्यारेज सञ्चालन गरेका छन् । संकटकालमा करिब १० वर्ष साउदीमा बसेर फर्केपछि दुई छोरालाई पढाउन सकेको शशीरामले बताए । ‘म जाने क्रममा यहाँ माओवादी द्वन्द्व चर्केको थियो । यहाँ बस्न सक्ने वातावरण थिएन,’ उनले भने, ‘साना छोरा र पत्नीलाई घरमै छाडेर म गएको थिएँ । यहाँ केही काम गर्न सक्ने अवस्था थिएन ।’ फर्केर आएपछि आफूले सिकेको कामलाई व्यवहारमा लागू गर्न उनले ग्यारेज सञ्चालन गरेका हुन् । लिबाङमा घरजग्गा खरिद गर्नुका साथै उनले दुवै छोरालाई व्यवसायमा लगाएका छन् । दुवै छोराले भिन्नाभिन्नै मोटरसाइकल ग्यारेज चलाएका छन् । शशिरामले भने जिप ग्यारेज चलाएका छन् ।

करिब १० वर्ष कतारमा बसेका लालबहादुरले आफ्नै घरमा मोटरसाइकल ग्यारेज चलाएका छन् । कतारमा रहँदा उनले ठूलै कम्पनीमा सहायक स्टोर किपरको काम गरे । उनले नेपालमै रहँदा कम्प्युटर सिकेका कारण उनले त्यहाँ राम्रो र सजिलो काम पाए । सोचेभन्दा राम्रो तलब पाउन सके । ‘विदेश बस्दा मैले परिवार पाल्न मात्रै होइन, राम्रो कमाइ गर्ने मौका पनि पाएँ,’ उनले भने, ‘त्यसैले फर्केर पनि यहाँ व्यवसाय गर्न सफल भएँ ।’ घरमै ग्यारेज चलाएकाले दैनिक रूपमा आम्दानी भइरहेको उनले बताए । जिप र बस किनेर यातायात व्यवसायी बनेका उनले घरमा होटलसमेत चलाएका छन् । रोजगारीका लागि विदेश पुगे पनि फर्केर कुनै व्यवसाय र पेसा अपनाउनु राम्रो हुने उनीहरूको अनुभव छ । साउदीमा लामो समय बसेर फर्केका करेटीका डिलाराम वलीका अनुसार सीप सिकेर विदेश गएमा कमाइ राम्रो पाउने सम्भावना रहन्छ ।

वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार रोल्पाबाट ६० हजार युवा वैदेशिक रोजगारीमा पुगेका छन् । वैदेशिक रोजगारीमा जाने युवाको संख्या लुम्बिनीमा ७ लाख ३९ हजार ४ सय ९३ र मुलुकभरमा ५८ लाख बढी छ । वैदेशिक रोजगारीमा जाने युवाहरू दैनिक १७ सय छन् । एक वर्षमा साढे ४ लाख बाहिरिने गरेको बोर्डले जनाएको छ । यसैबीच आर्थिक वर्ष ०७७/७८ मा नेपाल भित्रिएको कुल रेमिट्यान्स ९ खर्ब ६१ अर्ब रकमले कुल गार्हस्थ उत्पादनको २२ दशमलव ४ प्रतिशत योगदान पुर्‍याएको थियो ।

Published on: 15 August 2022 | Kantipur

Link

Back to list

;