s

वैदेशिक रोजगारीका हण्डरै हण्डर

होम कार्की

काठमाडौँ — खाडी र मलेसियामा काम गर्ने करिब १४ लाख श्रमिकले गत आर्थिक वर्षको ११ महिनामा मात्र आठ खर्ब ७० अर्ब रुपैयाँ स्वदेश पठाएका थिए । यो नेपालको कुल विकास बजेटको झन्डै चार गुणा बढी हो ।

बिमाका लागि पनि हरेक श्रमिकले चार हजारसम्म तिर्छन्, वर्षमा २ अर्ब ५० करोडसम्म जम्मा हुन्छ । कल्याणकारी कोषका लागि प्रतिव्यक्ति १५ सयदेखि २५ सयका दरले वर्षमा ९१ करोडसम्म जम्मा हुन्छ । यसरी कोषमा अहिले ६ अर्ब रुपैयाँ जम्मा भएको छ ।

स्वास्थ्य परीक्षणमा वर्षमा एक अर्ब रुपैयाँसम्म उनीहरूले खर्च गर्छन् । अर्थतन्त्रमा यति ठूलो योगदान गर्ने श्रमिकलाई भने देशको प्रणालीले पटक–पटक सताइरहेको छ ।

एउटा व्यक्तिले वैदेशिक रोजगारीमा जाने तयारी थाल्दादेखि अनेकौं ठाउँमा हन्डर र ठक्कर खेप्नुपर्छ । कोभिड–१९ को महामारी बढेपछि त झन् पिसिआर परीक्षण, खोप हुँदै अहिले खोप प्रमाणीकरणको झन्झट समेत थपिएको छ । वैदेशिक रोजगारीमा जानेले कुन–कुन विन्दुमा झमेला खेप्नुपर्छ ?

राहदानी : वैदेशिक रोजगारीमा जाने श्रमिकको लागि राहदानी हातमा परेपछि मात्रै प्रक्रिया सुरू हुन्छ । गाँउमा रहेका युवा राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय आउनुपर्छ ।

जिप्रकाले आवेदन लिइ एमआरपी बनाउन काठमाडौंस्थित केन्द्रीय राहदानी विभाग पठाउँछ । सामान्यतया आवेदन बुझाएको एकमहिना भित्र राहदानी पाउने अवस्था छ । तुरुन्तै राहदानी चाहिएमा जिप्रकाको सिफारिस लिएर राहदानी बनाउन राहदानी विभाग आउनुपर्छ । त्यहाँ पनि लाईन नै लाग्नुपर्छ ।

म्यानपावर कम्पनी छनोट : सूचना हुने युवाहरू सिधै म्यानपावर कार्यालय पुग्छन् । नत्र एजेन्टले जता लैजान्छ, त्यता नै पुग्छन् । देश, कम्पनी, कामको प्रकृति आफैले रोज्ने भन्दा त्यो म्यानपावर कम्पनीले कस्तो मागपत्र ल्याएको छ, त्यसमा भर पर्छ । अलि नाम चलेको कम्पनीको मागपत्र रहेछ भने अन्तर्वार्ता दिनेहरूको ठेलमठेल हुन्छ । त्यो दिन म्यानपावरको सर्म्पकमा रहेका एजेन्टहरूले आ–आफ्नो मान्छेलाई भर्ना गर्न तछाँडमछाँड नै गर्छ । सबैभन्दा धेरै समय यसैमा जान्छ ।

स्वास्थ्य परीक्षण : जुनसुकै स्वास्थ्य परीक्षण केन्द्रमा गएर हुँदैन । यसको लागि देशगत हिसावले स्वास्थ्य परीक्षण केन्द्र तोकिएको छ । अन्तर्वार्तामा पास भइसकेपछि स्वास्थ्य परीक्षण गर्ने गर्छ । कुनै म्यानपावर वा एजेन्टले अन्तर्वार्ताअघि पनि स्वास्थ्य परीक्षण गर्ने गर्छ । यसको लागि पनि काठमाडौंमै आउनुपर्छ ।

क्युविसी : कतार जान छनोट भएकाहरूले भने एकपटक कतार भिसा सेन्टर (क्युविसी) पुग्नैपर्छ । सिधै जान पाइदैन । अग्रिम समय लिएर जानुपर्छ । समय पाउने आशामा कामदारहरू महिनौंसम्म पनि पर्खेर काठमाडौंको होटलमा बस्नु पर्ने बाध्यता छ । फिंगरिङ र मेडिकल पास भएपछि मात्रै भिसा प्रक्रिया सुरू हुन्छ । 

मलेसियाको संयन्त्र : मलेसिया जाने कामदार पनि फिंगरिङ गर्नको लागि तोकिएको संयन्त्र जानुपर्छ । त्यसले मलेसियामा कुनै खालको अपराध गरेको छ कि छैन भनेर जाँच गर्छ । त्यसबाट फिट रिपोर्ट आएपछि मात्र जान योग्य हुन्छ ।

अभिमुखीकरण तालिम : वैदेशिक रोजगारीको अवस्थामा सामान्य जानकारी लिन दुई दिन अभिमुखीकरण तालिम लिनको लागि अभिमुखीकरण तालिम केन्द्रमा जानैपर्छ । यसमा गएर औंठाछापको हाजिर लगाउनुपर्छ ।

श्रमस्वीकृति : म्यानपावरले छनोट गरेका महिला कामदार भने वैदेशिक रोजगार कार्यालयमा अनुहार देखाउन एकपटक अनिवार्य जानैपर्छ । पुरुष कामदारलाई अनिवार्य छैन । पछि श्रम नविकरण गर्न भने जानुपर्छ । श्रम नविकरण जानु अघि पनि कल्याणकारी कोषको रकम तिर्न बैंक धाउनुपर्छ । बिमा गर्न बिमा कम्पनीको कार्यालय धाउनुपर्छ ।

व्यक्तिगत श्रमस्वीकृति : व्यक्तिगत पहुँचमा जान झन् कठिन छ । दूतावासबाट रोजगारदाता करारनामा प्रमाणीकरण गर्न नै निकै कठिन छ । प्रमाणीकरण भएर आएपनि वैदेशिक कार्यालयले एकपछि अर्को कागजपत्र मागेर हैरान बनाइ दिन्छ ।

कागजातको प्रमाणीकरण : विदेश जाने युवाले बोक्ने हरेक शैक्षिक प्रमाणपत्रदेखि अन्य महत्वपूर्ण कागजातको प्रमाणीकरण गराउन कन्सुलर विभागमा पुग्नै पर्छ । कन्सुलर विभाग जानुअघि जहाँबाट जारी गरिएको प्रमाणपत्र हो, त्यहाँबाट पनि प्रमाणीकरण गर्नुपर्छ ।

खोप : कोभिड–१९ को संक्रमण फैलिएपछि वैदेशिक रोजगारीमा जानेहरूका लागि थप समस्या भित्रिएका छन् । त्यसमध्ये अहिले खोप प्रमुख बनेको छ । उमेर समूहमा केन्द्रित खोप वितरणको प्रावधानले सबै स्वास्थ्य केन्द्रबाट वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप छैन । त्यसको लागि तोकिएको केन्द्रमा पुग्दा निस्सासिँदो भीडसँग पैठाजोरी खेल्नुपर्छ । गन्तव्य देशले जुनसुकै खोपलाई मान्यता दिइएको छैन ।

खोप प्रमाणीकरण : खोप लगाइसकेपछि पनि प्रक्रिया सकिदैन । खोप प्रमाणपत्र कार्डको प्रमाणीकरण अर्को झन्झटयुक्त प्रक्रिया हो । देशगत हिसाबले खोपकार्डको प्रकृतिपनि फरक फरक छ । अहिले यही प्रमाणिकरणका लागि वैदेशिक रोजगारीमा जानेहरू आन्दोलनमा उत्रिनुपर्ने बाध्यतामा पुगेका छन् ।

क्वारेन्टाइन : विदामा फर्केका श्रमिकले नेपाल आएपछि होटल क्वारेन्टाइनमा बस्नु त छँदैछ । गन्तव्य देशमा पुगेपछि पनि तोकिएका होटलहरूमा क्वारेन्टाइन बस्नुपर्छ । त्यस्ता क्वारेन्टाइनमा बसे वापत रोजगारीमा जानेहरूले नै आर्थिक भार व्योहोर्नुपर्छ ।

Published on: 4 August 2021 | Kantipur

Link

Back to list

;