s

वैदेशिक रोजगारीमा जानेलाई श्रम कार्यालय नधाउन विभागको आग्रह, अनलाईनबाटै श्रम स्वीकृति दिइने

वैदेशिक रोजगार विभागले कोभिड महामारीको जोखिमलाई मध्येनजर गर्दै वैदेशिक रोजगारीमा जानेहरुलाई अनलाईन प्रणालीमार्फत श्रम स्वीकृति दिने व्यवस्था गरेको छ।

लाभग्राहीहरु कार्यालयमा उपस्थित हुन नपर्ने गरी अनलाईनमार्फत नयाँ तथा पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाइएको विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले सेतोपाटीलाई बताए। 

उनका अनुसार शुक्रबारदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि यो व्यवस्था लागू गरिएको छ।

‘कोभिडको जोखिम बढ्दो छ। सजह अवस्था नहुँदासम्म सबै श्रम स्वीकृतिहरु अनलाईनबाटै उपलब्ध गराइन्छ,’ महानिर्देशक दवाडीले भने।

कोभिड महामारीपछि कतिपय गन्तव्य मुलुकहरुले नेपाली श्रमिकहरुलाई प्रवेशमा रोक लगाएका छन् भने कतिपय मुलुकहरुमा नेपाली श्रमिकहरु गइराखेको अवस्था छ। 

बिहीबार(आज) राति १२ बजेदेखि वैशाख मसान्तसम्मका लागि भने नेपाल सरकारले नै सबै प्रकारका अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गर्ने निर्णय गरिसकेको छ।

अन्तर्राष्ट्रिय उडान स्थगन भएपछि भने वैदेशिक रोजगारीको बाटोसमेत बन्द हुने छ।

‘अब अन्तर्राष्ट्रिय उडान खुल्ला नभएसम्मका लागि वैदेशिक रोजगारीमा जाने अवस्था पनि आउँदैन,’ उनले भने। 

श्रम स्वीकृति लिएकाहरू आपत्तकालीन अवस्थामा सरकारले चार्टर उडान खुल्ला गर्ने निर्णय गर्यो भने सो उडानमार्फत जान पाउने छन्। तर यसबारे भने अहिले केही भन्न नसकीने उनी बताउँछन्।

Published on: 7 May 2021 | Setopati

Link

Back to list

;