s

वैदेशिक रोजगारले ‘मानवीय संवेदना’ मार्छ

काशीराज आचार्य

आफ्नो देश बाहिरका अरू कुनै पनि नियोग वा निकायमा काम गर्न जाँदा विभिन्न जात, वर्ण, धर्म, रङ र पेसाका मान्छे भेटिनु स्वाभाविक नै हो। एउटै देशभित्र त जातीय तथा सांस्कृतिक भिन्नता हुन्छ भने विदेश भनेको परदेश हो अर्थात् अर्काको देश। समानतामा जब विविधताको प्रवेश हुन्छ त्यहाँबाट निस्कने फरक विचार तथा दर्शनले गर्दा व्यवहारमा विषमता देखिन सक्छ। तर सामञ्जस्य र समन्वयका सन्तुलित माध्यमबाट जीवनलाई झन् गतिशील, छरितो र कर्मयोगी बनाउन त्यसैले ऊर्जा दिन्छ।  

म केही वर्षअघि राष्ट्रसङ्घीय मिसनअन्तर्गत नागरिक प्रशासन विज्ञ (सिभिल अफेयर्स एक्स्पर्ट) को हैसियतमा पश्चिम अफ्रिकी मुलुक लाइबेरिया पुगेको थिएँ। नेपालमा स्थानीय विकास अधिकारी तथा प्रमुख जिल्ला अधिकारी भई काम गरेको अनुभवले गर्दा द्वन्द्व वा युद्धका कारण  नागरिक प्रशासनको आधारशीला नै भताभुङ्ग भएका देशका स्थानीय तह (काउन्टी) मा आफूले जाने÷बुझेको सरल कार्यविधि, ढाँचा र अफिस लेआउट स्थापित गर्न मलाई सजिलो भयो।  

काममा व्यस्त हुँदाबाहेक यस मिसनमा मेरो सङ्गत बङ्गलादेशी आर्मीसँग नै बढी भयो। किन कि बङ्गलादेशी जनरलको सद्भावले आर्मी क्याम्पभित्र नै मैले डेरा पाएको थिएँ। चाडपर्वका बेला नेपाल आर्मीको एमपी (मिलिटरी पुलिस) गुल्ममा पनि मेरो बसाइ चल्थ्यो। सङ्गत हुँदै गर्दा एकपल्ट बङ्गलादेशी आर्मीका एकजना कर्नेलले मलाई एउटा मन छुनेखालको कुरा गरे। भने– ’यस मिसनले मानवता मार्छ।’ वैदेशिक रोजगारबारे सोच्नैपर्ने यस निर्दयी प्रसङ्गले मलाई गम्भीर बनायो।  

पारिवारिक विचलनबाट सिङ्गो नेपाली समाज नै झन् अप्ठेरोमा परेको तथ्य हाम्रासामु छँदैछ। 

जवानी र विदेश 

एउटा जवान मान्छे आफ्ना परिवार छाडेर मिसनमा आउँछ। ससाना छोराछोरी, इष्टमित्र, आफ्नो देश, गाउँघर सबै छाड्छ तर मिसन छाड्न सक्तैन। किनकि यहाँ अलिक पैसा धेरै छ। आफ्नो देशमा काम पाइँदैन। पाए पनि खर्च पुग्दैन।  

खासगरी विकासशील देशका मिसन कर्मचारीलाई परिवार लग्न नपाइने स्थान (ननफेमिली स्टेसन) मा पारिन्छ। बैँसालु श्रीमती र मायालु केटाकेटीलाई भेट्न ऊ बिदामा घर जान्छ। बिदाका बेला एकातिर परिवारसँगको प्रेमसम्बन्ध नवीकरण हुन्छ भने फर्केपछि उता मिसनसँग पनि प्रायः फेरि अर्को वर्षका लागि करार नवीकरण हुन्छ। हरेक वर्ष दुवैतिर यही प्रक्रिया चल्छ। उमेर घर्केपछि प्रौढताको सुखमय बसाइ त त्यहाँ होला। तर कहिल्यै फर्केर नआउने यौनिक स्वर्णकाल र अन्तर्मनको अनुरागयुक्त दाम्पत्य त्यहाँ पति÷पत्नी दुवैले गुमाइसकेका हुन्छन्। साँच्चै मिसन यति क्रूर हुँदोरहेछ कि यसले मानवीय संवेदना नै मारिदिँदो रहेछ। कर्नेलको कुरा हृदयमा गड्नेखालको थियो।  

गृहवियोग (होमसिक)

म ससाना दुई सन्तानलाई काठमाडौँको दस बाइ बाह्रको डेरामा कोचेर पटकपटक गरी करिब पाँच वर्ष विदेशमा भौतारिइसकेको छु। विदेशमा बस्दा कुनै पनि व्यक्तिलाई गृहवियोगले सताउँछ। आफ्ना मान्छे, गाउँठाउँ र परिवेश छाडेर जाँदा नरमाइलो अनुभव हुनु स्वाभाविकै हो। परिवारको सम्झनामा एकखालको तनाव, चिन्ता र खिन्नताले गाँज्छ र ’होमसिक’ पैदा हुन्छ। कहिलेकाहीँ यो यति खतरनाक सिद्ध हुन्छ कि असाध्य रोगकारूपमा देखिन पनि सक्छ।  

म उच्चशिक्षा अध्ययनका लागि बेलायत (१९९२) रहँदा म्यानचेस्टर विश्वविद्यालयका प्राध्यापकको श्रमसम्बन्धी कक्षामा हाजिर थिएँ।  कुनैबेला अध्ययन/अनुसन्धानको सिलसिलामा ती प्राध्यापक अफ्रिकाको मोरक्को पुगेका रहेछन्। वैदेशिक रोजगार र श्रमबारे बुझ्न मोरक्कोको कुनै गाउँमा जाँदा एउटी महिलाले नबोली एकपाना कागज उनलाई थमाइछन्। एउटा मार्मिक र दर्दनाक प्रसङ्गको त्यो कविताबारे प्राध्यापकले कक्षामा पढाउँदा हामी निस्तब्ध र भावविह्वल बन्यौँ। अर्थशास्त्रजस्तो रुखो विषयको कक्षा करुणरसको साहित्यले ओतप्रोत बन्न पुग्यो। 

मोरक्कन महिलाको कविता 

मोरक्कन महिलाले आफ्नो लोग्ने जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्समा काम गर्न गएको कुरा कवितामा उल्लेख गरेकी छन्। भन्छिन्– मेरो लोग्ने उता तिमीहरूलाई दिनानुदिन दुलहीझैँ सिँगार्न तल्लीन छ, म भने यता मुर्झाउँदै गइरहेछु। वर्षमा तिमीसँग ऊ एघार महिना बस्छ र सम्बन्ध नवीकरण गर्न मात्र मसँग एक महिनाका लागि बिदामा आउँछ। 

अब प्रश्न उठ्छ– ‘ऊ, उसको लोग्ने हो कि अर्कैको ?’ असह्य चित्तदुखाइको अभिव्यक्ति यहाँ छ। यो प्रश्न कहिलेसम्म निरुत्तरित रहिराख्ने ? अनि लाग्छ, साँच्चै नै मिसन वा वैदेशिक रोजगार यात्राले मानवीय संवेदनाप्रति न्याय गरेको छ त ? 

ज्यानबाजी लगाएर सरकारलाई चाहिने विप्रेषणको भरथेग नेपाली श्रमिकले गरेपनि यी नेपाली श्रमिकका पत्नीहरूको कहानी मोरक्कन महिलाको भन्दा कम छैन।  

अंग्रेजीमा लेखिएको कविताको नेपाली भावानुवाद निम्नानुसार छ (स्रोत ः अ पोयम बाइ मोरक्कन वुमन, थर्डवल्र्ड लाइभ्स अफ स्ट्रगल, पृ. १७२ स एडिटेड बाइ हेजल जोन्सन एन्ड हेनरी बर्नस्टाइनस हेनिमेन एजुकेसनल बुक्स, १९८२) : 

शीर्षकः मोरक्कन महिलाको कविता

जर्मनी, बेल्जियम, फ्रान्स अनि नेदरल्यान्डस् !

तिमीहरू विश्व मानचित्रमा कहाँ छौ ?

मलाई थाहा छैन, म खोज्दै कहाँ जाउँ ?

 

म तिम्रो भाषा बोल्दिन, 

मैले सुनेकी छु– तिमीहरू सुन्दर छौ 

मैले सुनेकी छु– तिमीहरू  सफा छौ।

तर मलाई डर छ

तिम्रो स्वर्गीय परिवेशमा भुलेर

कतै मेरो प्रेमीले मलाई बिर्सन्छ कि ?

म अनुरोध गर्छु

कृपया, मेरो लोग्ने सुरक्षित राखिदेऊ।

 

हाम्रो बिहा भएलगत्तै

हातमा सुटकेस बोकेर

मानौँ, मलाई वास्ता नगरेझैँ 

एकोहोरो बनेर ऊ हिँड्यो

तर,  कृपया कसैले नभन

ऊ नराम्रो छ,  झोकी छ।

मैले उसको मुटुको गहिराइ बुझेकी छु 

उसको आँसुको मोल मलाई थाहा छ।

 

बिदा हुनु केही क्षणअघि 

ऊ बच्चाले झैँ हेर्दैथ्यो मलाई

खालि हात मेरो हातमा राखेर भनेथ्यो–

‘के गरुँ,  म मजबुर छु।’

मेरो अवरुद्घ गला अनुच्चारित नै रह्यो 

मेरो मुटु उसका लागि रगतपच्छे बन्यो

मेरा हातका मेहन्दीहरू फिका भए।

 

जर्मनी, बेल्जियम, फ्रान्स र हल्यान्ड !

उसका पौरखी हातहरू

के गर्न सक्छन् मलाई थाहा छ। 

तर के गर्नु ऊ मलाई भन्दा 

तिम्रैलागि उपयोगी बनेको छ

ऊ तिमीसँग एघार महिना बस्छ

तर मसँग मात्र एक महिना।

 

जर्मनी, बेल्जियम, फ्रान्स अनि हल्यान्ड !

तिमीलाई मेरो लोग्नेले तागत दिएको छ

तिमीलाई उजिल्याउन पसिना बगाएको छ।  

तर दुःखको कुरा –

ऊ त मसँग मात्र ऊर्जा लिन आउँछ

अनि जान्छ तिम्रोमा नै श्रम पोख्न

तिमीलाई सुन्दर बनाउन

एउटी दुलही जस्तै सिगार्न 

दिनदिनै तिमीमा नयाँपन थप्न। 

यता म बसिरहेछु, एउटा फूल जस्तै बनेर 

जुन मुर्झाउँदै जान्छ प्रतिपल, प्रत्येक दिन। 

उसले कहिलेकाहीँ लेख्न त लेख्छ–

ऊ, ऊ रित्तोहात आउँदैन रे !

तर यो सबै झुट हो। 

प्रत्येक पल ऊ उता खाली हुँदैछ र म यता।

यो वास्तविकता उसले लुकाउँछ र

सजिलै भन्छ– रित्तोहात आउने छैन। 

जति उसले वास्तविकता लुकाउँछ

उति उसको कष्टमा, म 

मर्माहत र दुःखी बन्दै 

यसरी पो सहभागी बनेकी छु 

ऊ टाढा छ, उसलाई के थाहा ? 

बेल्जियम, फ्रान्स, जर्मनी र हल्यान्ड !

मैले सुनेकी छु– तिमीहरू धनी छौ 

तिमीहरू राम्रा छौ

मेरै प्रेमले तिमीहरूलाई 

यो रूप प्रदान गरेको छ

कतै मलाई उसले बिर्सन्छ कि ?

मेरो हातको मेहन्दी मरिसक्यो 

कृपया, मेरो लोग्ने मलाई फर्काइदेऊ 

कृपया, मेरो प्रेमी मलाई फर्काइदेऊ। 

नेपालको सन्दर्भ 

हाम्रो देश नेपालमा पनि कामका लागि कतार, सउदी अरेबिया, कुबेत, दुबई, इजरायल, दक्षिण कोरिया, ताइवान, जापान जानेको संख्या कुनैबेला दैनिक एकहजार पाँचसयसम्म पुगेको हामीलाई थाहा छ। कामको खोजीमा इराक, सिरिया, अफगानिस्तान जस्ता देशमा अवैध ढङ्गले जानेको कुरा त अझै दर्दनाक छ। ज्यानबाजी लगाएर सरकारलाई चाहिने विप्रेषणको भरथेग नेपाली श्रमिकले गरेपनि यी नेपाली श्रमिकका पत्नीहरूको कहानी मोरक्कन महिलाको भन्दा कम छैन। त्यसमाथि पारिवारिक विचलनबाट सिङ्गो नेपाली समाज नै झन् अप्ठेरोमा परेको तथ्य हाम्रासामु छँदैछ। 

सेवा गर्ने कोही त हुनुप-यो

तर के गर्नु गृहयुद्ध, क्रान्ति, लडाइँका कारण कठोर यातना भोगेका, जहान÷परिवार बिचल्लीमा परेका, देश छाडी चिचिलाहरू बोकी अर्को देशमा शरण लिनुपरेका लाखौँलाख द्वन्द्वपीडितको कथा÷व्यथा झल्झली हाम्रा आँखामा आउँछन्। यो सम्झँदा शान्ति सम्झौता भएपछिको द्वन्द्वोत्तर कालमा हामीजस्ता पुगेर त्यहाँका जनताको सेवा गर्न पाउनु पनि हाम्रा लागि अहोभाग्य हो।

Published on: 22 October 2020 | Nagarik

Link

Back to list

;