s

वैदेशिक रोजगारमा जानेलाई पनि पेन्सन

गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १९ गते । वैदेशिक रोजगारमा जानेले पनि चाहेमा स्वदेशमा पेन्सन पाउन सक्ने भएका छन् । विदेशमा गरेको कमाइको केही अंश बचत गरेर उनीहरूले स्वदेश फिर्ता भएपछि पेन्सनका रूपमा उक्त रकम पाउन सक्ने योजना नागरिक लगानी कोषले ल्याएको छ ।
यस विषयमा नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच समझदारी भएको छ । समझदारीअनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले सहज रूपमा नागरिक पेन्सन योजनामा सहभागी हुन रकम जम्मा गर्नसक्ने नागरिक कोषले जनाएको छ ।
विदेशमा रहेका नेपालीलाई नागरिक पेन्सन योजनामा आबद्ध गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को प्राविधिक सहयोगमा कोष र रेमिट्यान्स कम्पनीको सफ्टवेयरलाई आबद्धता गर्ने सफ्टवेयर निर्माण गरेको कोषले जानकारी दिएको छ । समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।

Published on: 5 October 2021 | Gorkhapatra

Link

Back to list

;