s

बालिका र युवतीलाई बन्धक बनाई यौनधन्दामा लगाउने पक्राउ

कृष्ण किसी 

आर्थिक अवस्था कमजोर भएका बालिका तथा युवतीलाई जबर्जस्त यौनधन्दा गराउने गिरोह सक्रिय रहेको पाइएको छ। प्रहरीका अनुसार ज्यालामजदुरी गर्ने बालिका तथा युवतीहरूलाई काठमाडौंमा काम लगाइदिने भन्दै प्रलोभनमा पारी सहरिया देखिने कपडा लाउन लगाई यौनधन्दामा संलग्न गराउने गिरोह सक्रियता बढेको देखिएको हो। 

गरिबीको रेखामुनि रहेका बालिका तथा युवतीहरूलाई खाने, बस्ने सुविधा दिई मादक पदार्थसमेतको लतमा फसाई विद्युतीय उपकरणमार्फत उनीहरूको फोटो होटल तथा लज सञ्चालक तथा प्रबन्धकलाई देखाई त्यहाँ आउने ग्राहकको रोजाइअनुसार यौन क्रियाकलापमा सहभागी गराउने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएपछि त्यस्तो तथ्य बाहिर आएको हो। 

 त्यस्ता गिरोहले आफैंले तथा अन्य भाडाका ट्याक्सी, पठाओ चालकमार्फत सम्बन्धित होटलमा बालिका तथा युवतीहरूलाई पुर्‍याई ग्राहकसँग यौनकार्यमा सामेल हुन बाध्य बनाउने गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। साथै प्रारम्भिक चरणमा यौनजन्य क्रियाकलाप गर्न अनिच्छुक बालिका तथा युवतीहरूलाई फकाइफुल्याइ गरी प्रलोभनमा पार्ने, नमानेको अवस्थामा डर, धाक, धम्की दिई भाग्नउम्किन नदिई भाडाको फ्ल्याटमा राख्ने गरेको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। यस्तो आरोपमा पाँंचजनालाई पक्राउ गरेको सूचना अधिकृत गिरीले जानकारी दिए। 

पक्राउ पर्नेमा सिन्धुलीको जिल्ला साबिक झाँगाझोली गाविस–७ (सुनकोशी गाउँपालिका–७) घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराई र सिन्धुली जिल्ला साबिक तामाझोर गाविस–३ (हाल परिवर्तित घ्याङ्लेख गाउँपालिका–३) घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने १८ वर्षीया मसेली भन्ने सुहाना तामाङ छन्। त्यस्तै काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोटको सूर्यगढी गाउपालिका–४ घर भई हाल माकलबारी बस्ने ३१ वर्षीया मुना थापा मगर र काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–१ गागालफेदी बस्ने ४७ वर्षीय राजकुमार सुनार पनि पक्राउ परेका छन्। 

गिरोहमध्येकी सुहानाले काठमाडाैंमा कपडा पसलमा काम लगाइदिने भनी फकाइफुल्याइ गरी श्यामकुमार भट्टराईको सम्पर्कमा पुर्‍याउने र उनले बालिका तथा युवतीहरूलाई सहरी फेसनको कपडा खरिद गरी लाउन लगाई यौन क्रियाकलापमा लाउने गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। पक्राउ पर्ने अन्य पनि यस्तै कार्यमा बालिका तथा युवतीहरूलाई संलग्न गराउने होटल सञ्चालक रहेको जनाइएको छ। सुहानाले १६ वर्षीया बालिकालाई काठमाडाैंमा कपडा पसलमा काम लगाइदिने भनी फकाइफुल्याइ चैत १२ ल्याई श्यामकुमारसँग मिलेर काठमाडौंको माकलबारीमा फ्ल्याट भाडामा लिएर राखेको बाबुले थाहा पाए।  

त्यहाँबाट ती बालिकालाई होटलसम्म पुर्‍याई ग्राहकसँग यौन सम्पर्क गर्न लगाएको बुझेपछि बाबुले चैत १८ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणीको किटानी जाहेरी दरखास्त दिए। त्यसपछि प्रहरीले खोजतलास गरी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक भगवती तिमिल्सेनाको कमान्डमा खटिएको टोलीले काठमाडौं गागलफेदीबाट कानुनबमोजिम नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ। 

बस्ने फ्ल्याटमै पनि यस्तो कार्य गर्न लगाएको जनाइएको छ। काठमाडौंको माकलबारीस्थित उनीहरूको फ्ल्याटमा तलासी लिँदा बालिका तथा युवतीहरूलाई खान, बस्न, सुत्न मिल्ने व्यवस्था गरेको, यौनसम्पर्क गर्दा आवश्यक पर्ने अस्थायी साधनसमेत बरामद भएको, उक्त स्थानमा महिलाहरूलाई सामूहिक रूपमा राखी यौनजन्य कार्यमा लगाउने गरेको खुल्न आएको परिसरले जनाएको छ।

Published on: 2 April 2021 | Nagarik

Link

Back to list

;