s

भारत बाहेकका मुलुकबाट २० हजार ३१ जना स्वदेश फिर्ता

चाँदनी हमाल

काठमाडौँ, असार २२ गते । भारतबाहेक अन्य मुलुकबाट नेपाली नागरिक स्वदेश फिर्ता आउने क्रम बढेको छ । असार २२ गतेसम्म २० हजार ३१ जना नेपाली स्वदेश फिर्ता भएका छन् ।

कोभिड–१९ सङ्क्रमणका कारण विदेशका विभिन्न मुलुकमा अलपत्र परेका नेपाली स्वदेश आउने क्रममा सोमबार मात्र ८७८ जना नेपाली नागरिक स्वदेश फर्केको कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टरले जानकारी दिएको छ ।

जस अनुसार बहराइनबाट १४८ जना, कुवेतबाट ३१६ जना, साउदी अरबबाट २५९ जना र मलेसियाबाट १५५ जना नेपाली स्वदेश फर्केका छन् । जसमध्ये उच्च ज्वरो आएका एकजनालाई एयरपोर्टबाट सीधै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको छ ।

सेन्टरका अनुसार असार २२ गतेसम्म सबैभन्दा बढी कुवेतबाट चार हजार ३११ जना स्वदेश फर्केका छन् । त्यसपछि बढी सङ्ख्यामा युएइबाट तीन हजार ५९६ जना, साउदी अरेबियाबाट दुई हजार ८०८ जना, कतारबाट दुई हजार २५६ जना र मलेसियाबाट एकहजार ९६५ जना नेपाली नागरिक स्वदेश फर्केका छन् ।

त्यस्तै, बङ्गलादेशबाट ८४१ जना, माल्दिभ्सबाट ७०९ जना, जापानबाट ४९२ जना, अष्ट्रेलियाबाट ४८३ जना, अमेरिकाबाट ४२३, बहराइनबाट ५६८, थाइल्याण्डबाट ३२६ जना र ओमानबाट ३१३ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । त्यस्तै बेलायतबाट २२९ जना, दक्षिण कोरियाबाट २२८ जना, सिङ्गापुरबाट १४६, इजरायलबाट १२७, हङकङबाट ८९, पाकिस्तानबाट ७२ जना नेपाली स्वदेश फर्केको सेन्टरले जनाएको छ । त्यस्तै कम सङ्ख्यामा नेपाली नागरिक स्वदेश फर्केका देशमध्येबाट म्यानमारबाट २६ जना, अफगानिस्तानबाट १८ जना, श्रीलङ्काबाट पाँच जना नेपाली नागरिक स्वदेश फर्केका हुन् ।

प्रदेशगत रुपमा सबैभन्दा धेरै बाग्मती प्रदेशका छ हजार १०४ जना नेपाली नागरिक स्वदेश फर्किएको सेन्टरले उल्लेख गरेको छ । त्यसपछि प्रदेश नम्बर १ का तीन हजार ७२९ जना, प्रदेश नम्बर ५ का तीन हजार ३९१ जना स्वदेश फर्केका छन् । त्यसैगरी, प्रदेश नम्बर २ का दुई हजार ९८४ जना, गण्डकी प्रदेशका दुई हजार ४२९ जना, सुदूरपश्चिम प्रदेशका ४६० जना र कर्णाली प्रदेशका ४०८ जना नेपाली नागरिक स्वदेश फर्केका छन् ।

सोमबार स्वदेश फर्केका नेपाली नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षणसँगै व्यक्तिगत विवरण सङ्कलन गरिएको जनाइएको छ । अझै पनि विदेशबाट नेपाली नागरिक स्वदेश फर्काउने क्रम जारी रहने जनाइएको छ ।

Published on: 6 July 2020 | Gorkhapatra

Link

Back to list

;