s

विदेश अध्ययनका लागि ६ महिनामा झन्डै ४६ हजारले लगे एनओसी

विदेश अध्ययनमा खुकुलो हुन थालेपछि शिक्षा मन्त्रालयबाट एनओसी लिने विद्यार्थीको संख्या बढ्न थालेको छ । चालू आर्थिक वर्षको ६ महिनामा विदेश अध्ययनका लागि ४५ हजार नौ सय १२ जना विद्यार्थीले एनओसी लगेका छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका वासुदेव वस्तीका अनुसार चाडपर्व र चुनावको समयमा समेत विदेश अध्ययनका लागि एनओसी लिनेको भिड लागेको थियो ।

पुसमा कुल सात हजार आठ सय ५१ जना विद्यार्थीले एनओसी लगेका छन् । पछिल्लो महिनामा अस्ट्रेलिया अध्ययनका लागि चार हजार तीन सय चारजनाले एनओसी लगेको वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ । देशमा चाडपर्व र चुनाव चलेको महिनामा समेत विदेश अध्ययनमा जान चाहनेको संख्यामा कुनै कमी आएन ।

शाखाका अनुसार अस्ट्रेलियाका १५ हजार एक सय तीनजना विद्यार्थीले एनओसी लगेका छन् । पछिल्लो ६ महिनामा क्यानडा आकर्षक गन्तव्यका हिसाबले दोस्रो स्थानमा छ । यस अवधिमा क्यानडाका लागि आठ हजार एक सय ३५ जना विद्यार्थीले एनओसी लगेका छन् । जापानमा अध्ययनका लागि एनओसी लिनेको संख्या ६ हजार ६ सय ६९ छ ।

अमेरिकाका लागि एक हजार आठ सय ६० र बेलायतमा अध्ययनका लागि एक हजार सात सय ८८ जनाले एनओसी लगेका छन् । छिमेकी देश भारतका लागि समेत एक हजार एक सय ४४ जनाले एनओसी लगेको शिक्षा मन्त्रालयको तथ्यांकमा उल्लेख छ । श्रम गन्तव्यका रूपमा चिनिएको दुबईमा समेत अध्ययनमा जाने क्रम बढेको छ । ६ महिनाको अवधिमा एक हजार ६८ जनाले विदेश अध्ययनका लागि एनओसी लगेका छन् । युक्रेनसँगको युद्धमा होमिएको रुसमा अहिले एनओसी दिन बन्द गरिएको छ । अहिलेसम्मको रेकर्डमा नौ सय ७२ जना विद्यार्थीले रुसमा अध्ययनका लागि एनओसी लगेका छन् ।

आव ०७८/७९ मा एक लाख १४ हजार एनओसी जारी

आर्थिक वर्ष ०७८/७९ मा शिक्षा मन्त्रालयबाट कुल एक लाख १४ हजार चार सय २९ जनाले एनओसी लगेका थिए । गत आवमा वैदेशिक अध्ययनमा जाने विद्यार्थी संख्या र बिदेसिएको रकमले नयाँ रेकर्ड बनाएको छ । दुई वर्ष कोभिडका कारण प्रभावित बनेको वैदेशिक अध्ययन सहज भएपछि चालू आवमा तेब्बरभन्दा बढीले एनओसी लगेका छन् ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार चालू आवमा ६४ देशमा अध्ययनका लागि विद्यार्थीहरूले अनुमति लगेका छन् । गत १ साउन ०७८ देखि ०७९ असार मसान्तसम्म एक लाख १४ हजार चार सय २९ एनओसी जारी भएका छन् । ०७७/७८ मा जम्मा २९ हजार चार सय ३२ एनओसी जारी भएका थिए ।

विद्यार्थीको आकर्षणको केन्द्र अस्ट्रेलिया बनेको छ । कुल एनओसी जारी भएकोमध्ये आधाभन्दा बढी अस्ट्रेलिया अध्ययनका लागि छन् । गत आवमा ६७ हजार बढी एनओसी जारी भएका छन् । आर्थिक वर्ष ०७७/७८ मा आकर्षक गन्तव्य जापान बनेको थियो । जापानका लागि आठ हजार एक सय ४६ र अस्ट्रेलियाका लागि चार हजार आठ सय ४९ जना विद्यार्थीले एनओसी लिएका थिए ।

Published on: 23 January 2023 | Naya Patrika

Link

Back to list

;