s

विदेश जान श्रम स्वीकृति दिने कार्यालयमा ‘सिस्टम’ छैन !

रवीन्द्र घिमिरे 

१९ असार, काठमाडौं । राजु दाहाल इजरायलमा काम गर्थे, घर विदामा आएका बेला लकडाउन भएपछि यतै अड्किए ।

कोभिड– १९ संकटका कारण यसपाला सरकारले कृषि र रोजगारीमा गतिला कार्यक्रम ल्याउने चर्चा थियो । त्यो सुन्दा उनलाई विदेशमा सिकेको सिप र मनले कल्पेको योजना काम लाग्छ कि क्या हो भनेजस्तो भएको थियो ।

त्यही उत्सुकताका साथ बजेट भाषण सुने, प्रदेश र स्थानीय तहहरुको पनि बजेटसम्बन्धी समाचार खोजीखोजी पढे । तर दाहालको ‘कृषि सपना’लाई सम्बोधन गर्न सकेन । त्यसैले उनी कहिले उडान खुल्ला र इजरायल फर्किन पाइएला भनेर छटपटाइरहेका छन् ।

तीन हप्ताअघि महंगो चार्टर्ड विमानको टिकट काटेर विमानस्थल पुगेका उनलाई श्रम स्वीकृति नभएको भन्दै फर्काइयो । त्यसका लागि अनलाइन फारम भरिसके पनि काम लागेन ।

बिहीबारबाट श्रम स्वीकृति खुला भएको थाहा पाएपछि दाहालले ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा फोन गरे । जवाफ आयो, ‘आइहाल्नुस्, एक–दुई घण्टामै काम हुन्छ ।’ त्यो सुन्नासाथ एक लाख ८३ हजारमा आइतबारको चार्टर्ड फ्लाइटको टिकट लिएका उनी शुक्रबार दिउँसो वैदेशिक रोजगार कार्यालयको एउटा झ्यालबाट अर्कोमा चक्कर घुमिरहेका थिए । उनको हातभरि कागजको मुठो थियो ।

‘बिहानदेखि यो बेलासम्म यताउता दौडिरहेको छु, कम्प्युटरको ‘सिस्टम’ बिग्रिएको छ भन्छन्, भोलि शनिबार भइहाल्यो’, दाहालले भने, ‘कति बेलासम्म बन्छ त भनेर सोध्दा ‘सिस्टमको कुरा प्राविधिकलाई त थाहा हुन्न, हामीलाई के पत्तो’ भन्दै झर्कोफर्को गर्छन् ।’उनलाई यसपटक पनि चार्टर्ड टिकटको पैसा खेर जाने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।

ताहाचलको श्रम कार्यालयमा राजु दाहालजस्ता अरु ५० जना भेटिए । धेरैले शुक्रबार श्रम स्वीकृति लिएर शनिबार र आइतबार विमान चढ्ने योजना बनाएर टिकट काटिसकेका थिए । उनीहरु श्रम स्वीकृत नपाए नपाए आफूहरु समस्यामा पर्ने गुनासो गर्थे । तर कार्यालयका कर्मचारीहरु थर्काइरहेका थिए, ‘श्रम नै नगरी किन टिकट काटेको त ?

श्रमिक समूहले प्रतिवाद गर्दै ‘हाम्रो काम छिटो हुनुपर्‍यो’ भन्नासाथ कर्मचारीहरु त्यो भन्दा ठूलो स्वरले भन्थे, ‘जानुस्, हाकिमलाई भन्नुस् । हामी केही गर्न सक्दैनौं ।’ 

श्रमिकहरुको समूह कार्यालय प्रमुखको कोठाको झ्यालमा पनि पुगे, तर झ्याल बन्द छ । कार्यालयभित्र जानलाग्दा सुरक्षा गार्डले ढोकैमा रोक्छन् । कर्मचारीहरु हुर्र त्यही आएर भन्छन्– ‘हाम्रो हातमा केही छैन, बुझिदिनुस् ।’

श्रमिकहरु सोध्छन्, ‘हामीले बुझ्नुपर्ने कि तपाईहरुले ?’ 

कर्मचारीहरु मुन्टो बटारेर भित्र पस्छन् । 

पैसा लिएर तनाव वितरण

जापानका लागि श्रम स्वीकृति लिन आएका रामेश्वर कार्कीलाई नेपाल सरकारको सेवा प्रवाह देखेर रुन मन लागेको छ । ‘भिसा सकिन १२ दिन बाँकी छँदा पुनः श्रम स्वीकृति त खुल्यो, तर दुई दिन धाउँदा यहाँको पारा यस्तो छ’, अमिलो अनुहार बनाउँदै उनी भन्छन् ।

अबको १० दिनभित्र जापान प्रवेश नगरे ‘आश्रित भिसा’मा पुगेकी उनकी श्रीमती कागजातबिहीन भएर अलपत्र पर्नेछिन् । त्यसैले सिधै जापान जाने नपाए कतार वा अरु कुनै ट्रान्जिट विमानस्थलसम्मको भएपनि चार्टर्ड फ्लाइट समात्न उनी आतुर छन् ।तर दुई दिनमा पनि श्रम स्वीकृति नपाउँदा हैरान छन् । विदामा आउँदा लकडाउनमा फसेका कार्कीलाई श्रम कार्यालयका कर्मचारीले बिहीबार पनि दिनभर ‘सिस्टम’ नभएको भन्दै फर्काएका थिए । ‘सरकारले न देशमा सहज रुपमा गरी खान दियो, न विदेश जान अनुमति दियो,’ श्रम स्वीकृतीका लागि २५ सय रुपैयाँ बुझाएका उनले मुखको तीतो पोखे, ‘दलालमार्फत पैसा नखाएसम्म सरकारको यो ‘सिस्टम’ नखुल्ला जस्तो छ ।’

‘हुन त, यो श्रम स्वीकृतिको कागज हामी मर्दा पनि काम आउँदैन भनेर यही लकडाउनमा विदेशमा मृत्यु भएका र नेपाल आउन नसकेर अलपत्र परेका नेपाली श्रमिकबाटै पुष्टि भइसक्यो,’ कार्की भन्छन्, ‘यो कागज न विदेशमा कसैले माग्छ, न समस्या पर्दा नेपाल सरकारलाई गुहार्न काम लाग्छ, बित्थामा किन यस्तो तनाव दिएको होला ?’

घुस कहाँ बुझाउनपर्ने हो ?

माल्टा जान लागेकी सानुमाया तितुङको पनि भोलि शनिबारकै चार्टर्ड फ्लाइटको टिकट छ । ‘उता राम्रो पैसा आउने जागिर छ, यहाँ बसेर केही गर्न सकिन्न’, केयर गिभरको काम गरिरहेकी उनी भन्छिन्, ‘‘सिस्टम’ छैन भनेर यस्तो दुःख दिने कस्तो नेपाल सरकार होला !’छोराछोरीको भविष्य सुधार्न विदेश जान लागेकालाई अनेक बहाना बनाएर दुःख दिने सरकार र कर्मचारीलाई जनताको आँशुले पोल्ने उनले बताइन् । केही मानिस सेटिङ मिलाएर गएको दाबी गर्दै उनले भनिन्, ‘घुस बुझाउनपर्ने हो भने कहाँ भनेर तोकिदिनुपर्‍यो ।’

टिकट काटिसकेको र साहुलाई आउँदैछु भनेर खबर गरेकाले आफूलाई निकै तनाव भएको तितुङले बताइन् ।

सरकारले दुःख दिएको उजुरी कहाँ गर्ने ?

शुक्रबार श्रम स्वीकृति लिन चितवनबाट विहानै हिँडेको चीनबहादर आलेसहितको युवा टोलीलाई काठमाडौं पस्न थानकोट नाकामा कम्ता सकस परेन । चेकजाँजमा खटिएका प्रहरीले मुस्किलले छाडेका उनीहरुलाई अब वैदेशिक रोजगार कार्यालयले रिङ्ग्याइरहेको छ ।काम सकेर शुक्रबार चितवन फर्किने योजना चौपट भयो । होटलहरु पनि खुलेका छैनन् । त्यसैले कहाँ रात कटाउने भन्ने चिन्ता लाग्न थालेको छ । आफन्तलाई फोन गर्दा जवाफ अइसक्यो, ‘आउन त आउनुस्, तर यहाँ छिमेकीले गाली गर्ने हुन् कि !’

दुबई जान हतारिएका आले भन्छन्, सरकारले दिएको दुःख दिएकोबारे कता उजुरी गर्ने होला ? 

कार्यालय प्रमुख भन्छन् : सकेसम्म गरिदिन्छौं

सरकारले फागुन ३० मा बन्द गरेको श्रम स्वीकृति १८ असारदेखि खुला गरेको थियो । विदामा आएका र भिसा अवधि बाँकी रहेकाहरुले पुनः श्रम स्वीकृति लिनपर्ने सरकारको निर्णय थियो ।

निर्णय हुनासाथ बिहीबार नै धेरै श्रमिक वैदेशिक रोजगार कार्यालय ताहचल र प्रदेशस्थित श्रम कार्यालयहरुमा पुगे । तर सबैतिर एउटै समस्या देखाइयो– ‘सिस्टम’ बिग्रिएको छ ।

वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख उमेश बस्नेत वैदेशिक रोजगरसम्बद्ध सफ्टवेयरमा समस्या आएकाले श्रम स्वीकृति दिन नसकिएको बताउँछन् ।

प्रणाली नबन्दासम्म श्रम स्वीकृति जारी गर्न नसक्ने भन्दै उनले भने, ‘हिजो ५ जना र आज १ जनाको श्रम स्वीकृति जारी भयो । साँझ ५ बजेसम्म प्रणाली आउँछ कि भनेर कुर्छौं, सकेसम्म गरिदिन्छौं ।’

विभागको प्रणालीमा आएको समस्याले कामदारहरुले काटेको लाखैंको टिकट खर्च खेर गयो भने को जिम्मेवार हुने त ?’ एक सेवाग्राहीले कार्यकक्षमै आएर सोधे, तर बस्नेतले यसको जवाफ दिएनन् ।

Published on: 3 July 2020 | Onlinekhabar

Link

Back to list

;