s

विदेशबाट आउनेलाई सिधै घर

मनोज पौडेल, नवीन पौडेल, ठाकुरसिंह थारु 

कपिलवस्तु, नवलपरासी, बर्दिया — कपिलवस्तु नगरपालिका–७ कचरिहवाका अनिलकुमार बरई शुक्रबार बिहान काठमाडौंबाट तौलिहवास्थित जिल्ला प्रशासन कार्यालयअगाडि पुगे । उनी कतारको दोहाबाट फर्किएका हुन् । उनीसँगै अरू दुई जना पनि थिए । कपिलवस्तु नगरपालिकाले नाम/ठेगाना टिपेर उनीहरूलाई एम्बुलेन्समा घरसम्म पुर्‍यायो ।

‘जोखिम छैन भने,’ नगरपालिका स्वास्थ्य संयोजक उमेश गुप्ताले भने, ‘त्यसपछि घरमा अलग्गै बस्न भनेर पठाएका हौं ।’ उनीहरूसँगै आएका मायादेवी, यशोधरा गाउँपालिका र महाराजगन्ज नगरपालिकाका एक/एक जनालाई कसैले सोधखोज गरेनन् । उनीहरू आफ्नै तरिकाले घर पुगे । समुदायमा हेलमेल भए । आएका कसैलाई क्वारेन्टाइनमा राखिएन ।

कपिलवस्तुका सीमावर्ती स्थानीय तहमा कोरोना संक्रमितको संख्या धेरै छ । जेठ अन्तिमसम्म त्यहाँका आइसोलेसन र क्वारेन्टाइन भरिभराउ थिए । अहिले अवस्था फेरिएको छ । स्थानीय तहले धमाधम क्वारेन्टाइन र आइसोलेसन सेन्टर खाली गराउन थालेका छन् । जिल्लामा रहेका क्वारेन्टाइनको अवस्था भद्रगोल भएकाले संक्रमण फैलिएको भन्दै आलोचना भएको थियो ।

शनिबार मलेसियाबाट काठमाडौं हुँदै यहाँ आएकी एक महिला पश्चिम नवलरासीको रामग्राम नगरपालिकास्थित घर आइन् । नियमअनुसार तेस्रो मुलुकबाट आउनेलाई नेपाली सेनाले सम्बन्धित स्थानीय तहको जिम्मा लगाउनुपर्ने हो । महिलाबारे कसैले चासो दिएनन् । विदेशबाट आएकाले आफूलाई कोरोना संक्रमण भएमा परिवारलाई सर्ने चिन्तामा थिइन् । त्यसैले क्वारेन्टाइनमा बस्न चाहन्थिन् । स्थानीय तहले विदेशबाट पीसीआर जाँच गरेर आएकाले सुरक्षित तवरले घरमा बस्न भनेर पठाएको दाबी गरेका छन् ।

यसअघि परासीका क्वारेन्टाइनमा राख्ने होडबाजी थियो । अहिले खर्च कटौती भन्दै मुलुकबाहिरबाट आएकालाई घरै पठाउन थालेका छन् । विदेशबाट कोरोना जाँच गरेर आउने भएकाले घरमै पठाइएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद रेग्मीले बताए । ‘हवाई मार्ग हुँदै आउनेले पीसीआर जाँच गरेर रिपोर्ट लिएर आएका हुन्छन्,’ उनले भने, ‘उनीहरूलाई घरमा सुरक्षित बस्ने गरी पठाइरहेका छौं ।’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले स्वास्थ्य मन्त्रालयबाट स्थानीय तहले निगरानी गरेर होम क्वारेन्टाइनमा राख्न सक्ने परिपत्र आएकाले इच्छा हुनेहरू सुरक्षित तवरले आफ्नो घरमा नै बस्न सक्ने बताए । पश्चिम नवलपरासीमा मलेसिया, साउदी र कतारबाट आएका ५० जना होम क्वारेन्टाइनमा छन् । 

कपिलवस्तुमा भारतबाट आउने व्यक्तिलाई निगरानी गर्न छाडिएको छ । भारत र तेस्रो मुलुकबाट आएका व्यक्ति गाउँघरमा हेलमेल भएका छन् । ‘घरघर डुलिरहेका छन्,’ महाराजगन्ज नगरपालिका–७, कुशहवाका बुद्धिसागर शुक्लाले भने, ‘यसले चिन्ता र सन्त्रास बढाएको छ ।’ यस विषयमा नगरपालिकाको स्वास्थ्य शाखा पनि मौन छ । स्थानीय प्रहरी मूकदर्शक भएका छन् । स्थानीयका अनुसार विदेशबाट आएकाले कोसेली भन्दै गाउँघरमा चकलेट बाँडिरहेका छन् ।

अहिले कपिलवस्तुलगायत सीमावर्ती जिल्लाका स्थानीय तह क्वारेन्टाइन र आइसोलेसन खाली गराउन लागेका छन् । उनीहरूले १० दिनयता भारतलगायत तेस्रो मुलुकबाट आउनेलाई क्वारेन्टाइनमा राख्न छाडेका छन् । कपिलवस्तुमा दैनिक ३/४ जना भारत र एक/दुई जना तेस्रो मुलुकबाट आइरहेका छन् । कृष्णनगर नगरपालिका र कपिलवस्तु नगरपालिकाको क्वारेन्टाइनमा हाल कसैलाई राखिएको छैन । बाहिरबाट आएकालाई सिधै घर पठाउने गरिएको छ । ‘हामीले जेठ ३० गतेअघि नै क्वारेन्टाइन हटाइसक्यौं,’ यशोधराका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुबेले भने, ‘अहिले घरमै पठाउने गरेका छौं ।’ स्थानीय तहले होम क्वारेन्टाइन बसे/नबसेको वास्ता गर्दैनन् । ‘कसले निगरानी गर्ने ?’ यशोधरा–५, मुडिलाका मनीष मिश्रले भने, ‘निगरानी गर्नेले घुमफिर गर्न छुट दिएका छन् ।’

संक्रमण शून्य भएको छैन । संक्रमित थपिने क्रम जारी छ । अहिले भइरहेको लापरबाहीले स्थानीय त्रसित छन् । जिल्ला स्वास्थ्य कार्यालयले सिधै घर पठाउन नमिल्ने जनाएको छ । ‘घर पठाउन मिल्दैन,’ स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले भने, ‘त्यसले झन् जोखिम बढाउँछ ।’ प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले मुलुकबाहिरबाट आएका जोसुकैलाई क्वारेन्टाइनमा पठाउनुपर्ने नीति रहेको बताए । ‘संक्रमणबारे सचेत नागरिक भएमा होम क्वारेन्टाइनसम्म बसाउन सकिन्छ,’ उनले भने, ‘यस्ता व्यक्ति कम हुन्छन् ।’

रित्तिँदै क्वारेन्टाइन

धेरै संक्रमित रहेको यशोधरा र मायादेवी गाउँपालिकाका क्वारेन्टाइन अहिले खाली भएका छन् । कृष्णनगर नगरपालिका र शुद्धोदन गाउँपालिकामा पनि रित्तिएका छन् । क्वारेन्टाइन स्थल सफा गरेर विद्यालयले प्रयोग गर्न थालेका छन् । मायादेवी गाउँपालिकाले क्वारेन्टाइन खाली गराउन त्यहाँ बसेका ७१ जनालाई असार १ गते नै घर पठायो । लक्षण नदेखिएको जनाएर घर पठाइएको थियो । यसरी पठाइएकामध्ये केहीको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । घर पुगेको दुई दिनपछि आएको रिपोर्टमा ८ जना संक्रमित पाइएका थिए । त्यसपछि घरबाट संक्रमितलाई खोजेर ल्याइयो । त्यस्तै, जिल्लामा सबैभन्दा बढी संक्रमित रहेको यशोधरा गाउँपालिकाको आइसोलेसन जेठ ३० गतेबाट बन्द गरिएको छ । त्यहाँ रहेका ५३ जनालाई डिस्चार्ज गरियो ।

कृष्णनगर नगरपालिकामा शुक्रबार १८ जना संक्रमित डिस्चार्ज भएसँगै आइसोलेसन सेन्टर खाली भएको छ । शुद्धोदन गाउँपालिकाको आइसोलेसन सेन्टर पनि बन्द भइसकेको छ । त्यहाँबाट असार ६ गते ३५ संक्रमित घर पठाएपछि खाली भएको थियो । कपिलवस्तुका १० मध्ये ७ स्थानीय तहमा अहिले ८३ जना आइसोलेसनमा छन् । ६ स्थानीय तहका क्वारेन्टाइनमा ५ सय ८४ जना मात्र छन् । शुक्रबार चार जना थपिएसँगै जिल्लामा ७ सय ८ जना संक्रमित पुगेका छन् ।

परीक्षण नगरी घर 

भारतका विभिन्न सहरबाट बाँकेको नेपालगन्ज नाका हुँदै जिल्ला फर्किएकालाई प्रहरीले जनप्रतिनिधिको रोहबरमा घर पठाउन थालेका छन् । सुरक्षाकर्मीले भारतबाट फर्किएकालाई जमुनाहा नाकामा रोक्ने र जनप्रतिनिधिको रोहवरमा छाड्ने गरेका हुन् । ‘हामीले सीमामा रोक्छौं । जनप्रतिनिधिले बुझेर लानुहुन्छ । घर पठाइदिनुहुन्छ,’ सीमास्थित एक सुरक्षाकर्मीले भने । बाँके र बर्दियाका धेरैलाई होम क्वारेन्टाइनमा बस्न भन्दै जनप्रतिनिधिले परीक्षण नगरी घर पठाउने गरेको सुरक्षाकर्मीको भनाइ छ । जिल्ला प्रहरी बाँकेका प्रहरी उपरीक्षक ओम रानाले पछिल्लो समय भारतबाट फर्किनेको संख्यामा कमी आएको बताए । यसरी आउनेलाई नेपालगन्ज भन्सारको यात्रु शाखामा राखेर सम्बन्धित पालिकालाई जानकारी दिने गरिएको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले भारतबाट फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्ने निर्देशिका रहेको बताए । भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. संकेतकुमार रिसालका अनुसार होम क्वारेन्टाइनमा रहे पनि १४ दिनसम्म परिवारको सम्पर्कमा आउनु हुँदैन । ‘होम क्वारेन्टाइनमा बस्न सकिन्छ,’ उनले भने, ‘तर, संक्रमण भइसकेको व्यक्ति हो भने अरूलाई सर्न सक्छ ।’ बर्दियामा दैनिक १०/१५ जना भारतबाट आउने गरेका छन् । कोरोनाको लक्षण नदेखिएका व्यक्तिलाई घर पठाउने गरिएको छ । क्वारेन्टाइनमा १४ दिन बसेपछि आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएका व्यक्तिलाई धमाधम घर फिर्ता पठाउने गरिएकाले क्वारेन्टाइन खाली हुने क्रममा छ ।

Published on: 28 June 2020 | Kantipur

Link

Back to list

;