s

विदेशमा कोरोना संक्रमणबाट एकसातामा १३ नेपालीको मृत्यु

तुलसी सुवेदी

 

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशी भूमिमा यो साता थप १३ जनाको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विदेशी भूमिमा योसँगै एक सय ४३ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

संघअन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमान र कुवेतमा एकएक जनाको ज्यान गएको हो । गत पछिल्लो दुई हप्ता विदेशी भूमिमा कोरोना भाइरसका कारण निधन नभएपछि यो हप्ता एकैचोटी १३ जनाको निधन हुँदन विदेशी भूमिमा कार्यरत नेपाली चिन्तित भएका छन् ।

संघका अनुसार कोरोणा भाइरसका कारण बेलायत, अमेरिका, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, ओमान लगायत देशमा कार्यरत नेपालीहो कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशमा सक्रमण बढ्दै गएको बताए । सक्रमणबाट जोगिन उनले सतर्क रहन अनुरोध गरेका छन् । मास्क अनिवार्य लगाउन, सबै कोरोनाको संक्रमण भएजस्तै टाढै बसेर सुरक्षित हुन, नियमित साबुनपानीले हात धुन उनले सल्लाह दिएका छन् ।

उनका अनुसार मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्यून हँदै गइरहेको जानकारी दिएका छन् । पूर्णरुपमा सुरक्षित हुनुपर्ने उनको सुझाव छ ।

समितिका अनुसार शनिबार साँझसम्म विदेशमा २८ हजार नौ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विदेशी भूमिमा बस्ने नेपाली २५ हजार २ सय २६ जना कोरोनाबाट मुक्त भएको संघ अन्र्तगतको समितिका प्रवक्ता चिरण शर्माले जानकारी दिए । संघका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१८ हजार २ सय १३ जना स्वदेश फर्किए

कोरोना भाइरस (कोभिड १९) का कारण विदेशी भूमिमा अलपत्र परेका १८ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । सरकारले विदेशी भूकिमा समस्यामा परेका करिब २५ हजार नेपालीलाई पहिलो चरणमा ल्याउने तयारी गरेको छ ।

विश्वव्यापी लकडाउन  भएपछि विभिन्न देशमा रोकिएका तथा वैदेशिक रोजगारी गुमाएर समस्यामा परेका नेपालीको पछिल्लो समयमा उद्दारको काम तीब्रता दिइएको छ  । संघ र विदेशस्थित नेपाली कुटनीति नियोगको संयुक्त पहलबाट जेठ ३२ गतेदेखि कामदार फर्काउन सुरु गरिएको थियो । अहिलेसम्म २१ देशबाट १८ हजार २ सय १३ फर्किएका छन् । फर्किएकामध्ये ७५ प्रतिशतभन्दा बढी वैदेशिक रोजगारीमा गएका रहेको श्रम मन्त्रालयका अधिकारी बताउँछन् । 

संघका अनुसार अफगानिस्तान, अष्ट्रिेलया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, वंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, यूएई, साउदी अरब, सिंगापुर, हङ्गकङ्ग, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपाली नेपाल फर्किएका छन् ।

सर्वोच्च अदालतले रोजगारी गुमाएर अति समस्यामा परेका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट कामदार ल्याउन निर्देशन दिएपनि कार्यान्वयन सुरु भएको छैन् । वैदेशिक रोजगार बोर्ड र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदार फिर्ता ल्याउने निर्देशिका बनाएपनि मन्त्रिपरिषद्ले पारित गर्न सकेको छैन् । अहिले रायका लागि कानुन मन्त्रालयमा पठाइएको छ । उक्त निर्देशिका पारित हुन नसक्दा अति समस्यामा परेका कामदार स्वदेश फर्कन सकेका छैनन् । केहीले कोषबाट उद्दार हुने आशै मारेर ऋण गरेर भएपनि फर्किन थालेका छन् ।

११५ शव स्वदेश ल्याइयो

यसैबीच विदेशमा निधन भएका एक सय १५ जनाको शव नेपाल ल्याइएको छ  । कोरोना भाइरस (कोभिड १९) पछि विभिन्न कारणले विदेशी भूमिामा निधन भएका ३ सय ५२ शव मध्य एक सय १५ जनाको शव नेपाल ल्याएको हो । एक सय ५ जनाको शव ल्याउने प्रक्रियामा रहेको बताइन्छ । एक सय ३२ जना नेपालीहको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ ।

कोरोनाका कारण नियमित उडान नभएका कारण सरकारले मृतकका परिवारबाट सहमति लिएर गन्तव्य देशमै दाह संस्कार गर्ने नीति लिएको छ । परिवारले सहमति नदिएमा शव ढिलै भएपनि स्वदेश ल्याउने बोर्डले जनाएको छ ।

Published on: 5 July 2020 | Annapurna Post

Link

Back to list

;