s

बिहीबार ८ जहाजमा भित्रिए १२४२ यात्रु

१८ असार, काठमाडौं । बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुल ८ वटा चार्टर्ड जहाज अवतरण गरेका छन् । यी उडानबाट एकै दिन १२४२ यात्रु नेपाल भित्रिएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार बिहीबार दमामबाट २ वटा शवसमेत नेपाल ल्याइएको छ । नेपालीको उद्धार अन्तर्गत नेपाल एयरलाइन्सले कुवेतबाट २ सय ५५ जना नेपालीलाई घर ल्यायो ।

नेपाल एयरलाइन्सकै जहाजले साउदी अरवको जेद्दाबाट २ सय २२ जना नेपालीलाई काठमाडौं ल्याएको छ ।

हिमालय एयरलाइन्सले माल्दिभ्सको मालेबाट १ बच्चासहित १ सय ४ जना नेपालीलाई घर फर्काएको छ । हिमालय एयरलाइन्सले साउदीको दमामबाट १ सय ५२ जना नेपालीलाई काठमाडौं ल्यायो । यस उडानमा दुई शवसमेत झारिएको थियो । 

कुवेतबाट जजिरा एयरवेजका दुई जहाजले ३ सय २० जना जनालाई घर फर्काए । मालिन्दो एयरले मलेसियाको क्वालालम्पुरबाट १ सय ६२ जना नेपालीलाई काठमाडौं ल्याएको छ । बिहीबार श्री एयरलाइन्सको जहाज बंगलादेशको ढाका गएको थियो । 

यो जहाज ढाका जाने क्रममा २२ जना यात्रु लगेर गएको थियो । फर्कँदा भने २६ जना यात्रु नेपाल आएका छन् ।

आन्तरिकतर्फ समिट एयरको जहाजले ११ जना यात्रु बोकेर सिमिकोट उडेको छ । एयर डाइनेस्टीको जहाज ६ यात्रु बोकेर मुस्ताङ गएको छ । माउन्टेन हेलीले विराटनगरबाट ४ जना यात्रु बोकेर काठमाडौं आएको छ । सोही कम्पनीको अर्को हेलिकोप्टर भने धादिङ गएको छ ।

शुक्रबार १० उडान-अवतरण

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार अन्तराष्ट्रियतर्फ मात्र १० उडान-अवतरण हुने गरी तालीका तय भएको छ । शुक्रबार नेपाल एयरलाइन्सको चार उडान अवतरण हुँदैछ ।

हिमालय एयरलाइन्सको तीन/तीन उडान-अवतरण हुँदैछ । मालिन्दो, जजिरा र कतार एयरवेजको एक/एक उडान हुँदैछ ।

Published on: 2 July 2020 | Onlinekhabar

Link

Back to list

;