s

विमानस्थलमा भिजिट भिसाको सेटिङ : अध्यागमन र प्रहरीबीच टकराव

विदेशमा नेपाली बेचिने तथा समस्या पर्नुको एउटा प्रमुख कारण भिजिट भिसाको सेटिङ भएको गृह मन्त्रालयको छानबिन तथा प्रहरी अनुसन्धानबाट पुष्टि हुँदै आएको छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको सेटिङ यति बलियो छ कि पटक–पटक प्रयास हुँदा पनि यो भत्किन सकेको छैन ।

गृह मन्त्रालयले मात्र पछिल्लो दुई वर्ष यसबारे दुईवटा छुट्टाछुट्टै छानबिन समिति बनाएको थियो । ती समितिले विभिन्न आवरणमा भिजिट भिसामा मानव तस्करी हुँदै आएको औँल्याउँदै मापदण्ड नै सुधार गर्न सुझाव थियो । मापदण्ड पनि संशोधन भयो, तर कर्मचारीको नियत फेरिएन । जसकारण अहिले पनि भिजिट भिसाको सेटिङ चलिरहेको छ र विदेशमा नेपालीले दुःख पाइरहेका छन् ।

भिजिट भिसामा विदेश गएका धेरै अहिले पनि विभिन्न देशमा अलपत्र छन् भने केही बन्धक बनेका छन् । कतिपय खाडी देशमा नेपाली महिलाको बेचबिखन नै भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख वासुदेव घिमिरे सेटिङको आरोप अस्वीकार गर्दै भिजिट भिसासम्बन्धी मापदण्डको पूर्ण रूपमा कार्यान्वयन गरिएको बताउँछन् । ‘ंशंकास्पदहरूलाई सुरुमै प्रहरीले स्क्रिनिङ गर्छ, त्यसपछि हामी पनि थप छानबिन गर्छाैँ,’ उनी भन्छन्, ‘भिजिट भिसामा कडाइ भएकाले अहिले कतिपय प्लेन त खाली उड्छन् भन्ने सुनेका छौँ ।’

भिजिट भिसाको विषयलाई लिएर विमानस्थलमा टकरावसमेत पर्दै आएको छ । अध्यागमनबाट पास भइसकेका कतिपय व्यक्तिलाई समेत प्रहरीले रोक्ने गरेको छ । मानव बेचबिखन अनुसन्धान विशेष ब्युरोको विशेष टोली नै विमानस्थलमा बस्दै आएको छ । जसले पछिल्लो आठ महिनामा करिब हजारजनालाई आफैँ फर्काएको छ । नक्कली कागजपत्रका आधारमा वैदेशिक रोजगारीको खोजीमा उनीहरू विदेश जान लागेको प्रहरी दाबी छ । यसरी पठाउने केही एजेन्ट तथा ट्राभल एजेन्सीलाई समेत ब्युरोले पठाएको छ । जसमा उनीहरूले अध्यागमन कर्मचारीलाई सेटिङ मिलाउने गरेको पत्ता लाग्ने ब्युरोका अधिकारी बताउँछन् ।

भिजिट भिसामा गएका कतिपय महिलाको प्रहरीले नेपाली दूतावासको सहयोगमा युएई, कुवेत, ओमानलगायत देशबाट उद्धारसमेत गर्दै आएको छ । खासगरी पछिल्लो समय ओमानमा पु¥याइएका धेरै महिला त्यहाँ बेचबिखनमा परेका छन् । ‘पुरुष धेरै दुबईमा र महिला ओमानमा लैजाने गरेको देखिन्छ,’ ब्युरोका एक अधिकारी भन्छन्, ‘यसमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा अध्यागमनको मिलेमतो देखिन्छ, जाने ठाउँबारे सामान्य जानकारी नभएका पनि सजिलै गएको देखिन्छ ।’

गृहका एक अधिकारीका अनुसार केही महिनायता विमानस्थलको अध्यागमन कार्यालयमा जान कर्मचारीबीच तँछाडमछाड छ । ‘अध्यागमनमा जान आजभोलि ठूलै पावर चल्न थालेको छ,’ ती अधिकारी भन्छन्, ‘यसले अध्यागमनमा केही गडबड छ भन्ने देखाउँछ ।’

Published on: 20 March 2023 | Naya Patrika

Link

Back to list

;