s

दैनिक भित्रन्छ २ कामदारको शव

नेपालबाट वैदेशिक रोजगारीमा गएका कामदारको दैनिक २ वटा शव नेपाल ल्याइने गरेको छ । चालू आर्थिक वर्ष ०७६/७७ को पहिलो चार महिनामा मात्रै २५० शव नेपाल ल्याइएका छन् । जसमध्ये ७ महिला र २४३ पुरुषका रहेका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार थप ५६ कामदारको शव झिकाउन प्रक्रिया अगाडि बढाइएको छ । बोर्डको तथ्यांकअनुसार असोज महिनामा १८४ कामदारको शव ल्याइएको छ भने नेपाल भदौमा १३५ र साउनमा ७४ कामदारको शव ल्याइएको छ ।

११९ अंगभंग भएकालाई सहयोग

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले चार महिनामा २ महिलासहित ११९ अंगभंग भएका कामदारलाई आर्थिक सहयोग प्रदान गरेको छ । असोजमा ९८ र भदौ महिनामा ७० जना अंगभंग भएका कामदारलाई बोर्डले सहयोग प्रदान गरेको छ । १९ जना अलपत्र परेका कामदारको भने उद्धार गरेको छ । ८ जना कामदारका परिवारलाई औषधोपचारका लागि सहयोग गरेको छ ।

चार महिनामा ५१ हजार बिदेसिए

चालू आवको चार महिनामा रोजगारीका लागि ५१ हजार २७४ बिदेसिएका छन् । जसमध्ये ४ हजार १५८ महिला छन् भने ४७ हजार ११६ जना पुरुष छन् । बिदेसिएकामध्ये २१ हजार २५४ पहिलोपटक रोजगारीका लागि गएका हुन् ।

२० जिल्लामा परामर्श केन्द्र स्थापना

वैदेशिक रोजगारसम्बन्धी जानकारी प्रदान गर्न सरकारले २० जिल्लामा वैदेशिक रोजगार परामर्श केन्द्र स्थापना गरेको छ । स्विस सरकार र नेपाल सरकारको सहकार्यमा जिल्ला प्रशासन कार्यालयमातहत रहने गरी केन्द्रको स्थापना गरिएको वैदेशिक रोजगार बोर्डका महानिर्देशक राजनकुमार श्रेष्ठले बताए । ‘जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आउने कामदारलाई केन्द्रले परामर्श दिन्छ,’ उनले भने । यो वर्ष ३९ जिल्लामा केन्द्र विस्तार गरिने योजना रहेको छ ।

बिचौलियाको अन्त्य

वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले उपलब्ध गराउँदै आएको आर्थिक सहायतामा सक्रिय बिचौलियाको अन्त्य भएको छ । बोर्डले स्थानीय तहबाट नै आर्थिक सहायता उपलब्ध गराउन थालेपछि बिचौलिया पूर्ण रूपमा निष्क्रिय भएका छन् । बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार ज्यान गुमाएका कामदारका परिवारले नगरपालिका वा गाउँपालिकामा निवेदन दिन सक्नेछन् । स्थानीय तहको सिफारिसपछि बोर्डले पारिवारका सदस्यको बैंक खातामा आर्थिक सहायता रकम उपलब्ध गराउँछ ।

Published on: 5 December 2019 | Naya Patrika

Link

Back to list

;