s

दक्षिण कोरियामा काम गर्न पुगेका दुई नेपालीको निधन

रोजगारीका लागि दक्षिण काेरिया पुगेका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ । छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाएका हुन् । साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै मृत फेला परेका थिए । अढाइ महिनाअघि कोरिया पुगेका उनले बेलाबेलामा आफू मानसिक तनावमा रहेको बताउने गरेको उनका साथीले जानकारी दिए । घटनाबारे कोरिया प्रहरीले अनुसन्धान गरिरहेको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ । यस्तै, तनहुँका रानाको भने कम्पनीमा छिगेछा (गह्रुँगो सामान उचाल्न प्रयोग हुने गाडी) मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको साेही स्थानमा रहेका नेपालीले बताए । उनी चार वर्ष १० महिनाकाे पहिलो कार्यकाल सकेर केही महिनाअघि मात्र कोरिया पुगेका थिए । दुवै घटनाबारे सिउलस्थित नेपाली दूतावासमा जानकारी आएको बताउँदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले शव नेपाल पठाउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

Published on: 17 January 2020 | Naya Patrika

Link

Back to list

;