s

देशभरका १० लाख दैनिक ज्यालादारी यातायात मजदुर कामविहीन

जीवन बस्नेत

 

बढ्दो कोरोना संक्रमणसँगै सरकारले अत्यावश्यकबाहेक अन्य यातायात सञ्चालनमा रोक लगाएको छ । यससँगै यातायात क्षेत्रमा काम गरेर परिवार पाल्ने देशभरका करिब १० लाख यातायात मजदुर कामविहीन बन्न पुगेका छन् ।

वित्तीय संस्थाबाट कर्जा लिएर सवारीसाधन किनेका र स्वरोजगार हुने क्रममा रहेकाहरू ब्याजसहितको किस्ता तिर्न नसक्दा ऋणमा फस्दै गएका छन् । त्यस्तै, आर्थिक उपार्जन नहुँदा आश्रित परिवार दैनिक हातमुख जोड्ने समस्यामा पर्न थालेका छन् ।  

यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक सवारीसाधन देशभर करिब ३ लाख रहेका छन् । ती सवारीसाधनमा करिब ९ लाख मानिस आश्रित छन् । अहिले यातायात सञ्चालन ठप्प भएपछि अधिकांश मजदुरको अवस्था बिहान–बेलुकाका लागि छाक टार्न कठिन हुँदै गएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । त्यसबाहेक कर्जा लिएर सवारी खरिद गरेकालाई निषेधाज्ञाले झन् अप्ठ्यारोमा पारेको छ । ‘कमाइ ठप्प हुँदा किस्ता तिर्न नसक्ने, तर वित्तीय संस्थाबाट निरन्तर किस्ताका लागि दबाब आउने गरेको छ,’ उनले भने ।

त्यस्तै, देशभर सञ्चालनमा रहेका करिब ६५ हजार मालबाहक साधनमध्ये १५ प्रतिशत मात्र सञ्चालनमा छन् । यो कुल ढुवानी साधनमध्ये २० प्रतिशतभन्दा कम हो । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका अनुसार अहिले अत्यावश्यक दैनिक उपभोग्य (खाद्यान्न) सामान र  निर्माण सामग्री ढुवानी गर्नका लागि मात्र ढुवानीका साधन सञ्चालनमा छन् ।

‘त्यसबाहेकका ढुवानीका सवारीसाधन ग्यारेजमा थन्किएका छन्,’ नेपाल टिपर तथा ट्रक व्यवसाय समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले भने । यो क्षेत्रमा काम गरिरहेकामध्ये १ लाखभन्दा धेरै कामदार अहिले कामविहीन बनेका छन् । ‘यसले कामविहीन बनेका मजदुरको परिवारलाई ठूलो असर गरिरहेको छ,’ उनले भने ।

‘त्यस्तै, १६ हजार मिटर ट्याक्सीमध्ये अधिकांश अहिले चलेका छैनन् । ठूलो जोखिम मोलेर अहिले त्यस्तै ५ प्रतिशत मात्र ट्याक्सी सञ्चालन भइरहेका होलान्,’ नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको ट्याक्सी हेर्ने सदस्य अर्जुन गौतमले भने । अहिले बिरामी र आफन्तलाई पनि गाह्रो परिरहेकाले ट्याक्सीलाई कडा मापदण्ड लगाएर चलाउन दिनुपर्ने उनको भनाइ छ ।

कोरोनाको दोस्रो लहरको बढ्दो प्रभावमा मजदुर भोकभोकै पर्ने अवस्था सिर्जना भइरहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । ‘अघिल्लो वर्षदेखि नै लगातार कामविहीन बनेपछि दैनिक जीविका चलाउन कठिन बन्दै गएको छ,’ अध्यक्ष राईले भने ।

यसअघि चैत ०७६ देखि ०७७ साउनसम्म सवारीसाधन चलाउन नपाएपछि यातायात क्षेत्रमा संलग्न मजदुर बेरोजगार भएका थिए । त्यसपछि संक्रमण घट्दै गएपछि यातायात सञ्चालनले गति लिएको थियो । तर, दोस्रो चरणको संक्रमणसँगै ०७८ वैशाखदेखि यातायात लगभग ठप्पको अवस्थामा छ । संक्रमण नदेखिएका वा न्यून रहेका जिल्लाभित्र सवारी सञ्चालन गर्ने निर्णय गरिएको भए पनि अधिकांश ठाउँमा सवारी सञ्चालन भएका छैनन् । उपत्यकामा सवारी बन्द हुनेबित्तिकै देशभर यसको प्रभाव पर्ने गरेको छ । 

Published on: 12 May 2021 | Nayapatrika

Link

Back to list

;