s

दुई वर्षे करारपत्र मात्रै प्रमाणीकरणः नेपाली दूतावास

कतारस्थित नेपाली दूतावासले दुई वर्षको समयभन्दा बढी उल्लेख भएको करारपत्र प्रमाणीकरण नगर्ने जनाएको छ ।

कतारले भिसा प्रक्रियाको लागि काठमाडौंमा खोलेको कतार भिसा सेन्टर (क्यूभीसी)बाट जारी भएको करार अवधिमा दुई वर्षभन्दा बढीको समय उल्लेख भएकोले नेपाली दूतावासले रोजगरदाताको ध्यानाकर्षण गराएको हो ।

नेपाल र कतारबीच भएको श्रम सम्झौतामा नेपाली कामदार दुई वर्षको लागि मात्रै आपूर्ति गर्ने उल्लेख छ । त्यसपछि रोजगारदाता र कामदारबीच आपसी सहमतिमा करार अवधि प्रत्येक वर्ष बढाउन सकिनेछ ।

दूतावासले कतार भिसा सेन्टरमा दुई वर्षे करारपत्रको अवधि तोकेर मात्रै पेश गर्न रोजगारदाता कम्पनीलाई अनुरोध गरेको हो । सेन्टरमा औँला छाप, फिंगरिङ र करारपत्रमा हस्ताक्षर भएपछि मात्रै भिसा जारी हुन्छ ।

व्यक्तिगत पहुँचको आधारमा जाने व्यक्तिले क्यूबीसीले दिएको रोजगार करारनामा दिएपछि मात्रै नेपाली दूतावासले प्रमाणीकरण गर्ने व्यवस्था छ । त्यसपछि मात्रै वैदेशिक रोजगार विभागले कतार जानको लागि श्रम स्वीकृति गर्ने गरेको छ ।

Published on: 6 December 2019 | Kantipur

Link

Back to list

;