s

फेसबुकबाटै लाखौं ठगी

२ सयजनाको उजुरी, ८ सय ठगिएको अनुमान

पर्वत पोर्तेल

बुटवलका २४ वर्षीय गुन्जबहादुर पल्लीलाई फेसबुक मेसेन्जरमा कसैले हेल्लो भन्यो । अपरिचित भए पनि उनले अभिवादन फर्काए । गफ हुँदै थियो, महेशजंग थापा नामका ती व्यक्तिले पल्लीलाई केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेको कुरा सुनाए ।उनले पनि ‘हुन सक्छ’ भने । दिनदिनै गफ हुँदै थियो । महेशको फ्रेन्ड रिक्वेस्ट उनले स्विकारे । एक दिन मेसेन्जरमा महेशले भने, ‘म क्यानाडा बस्छु, उतैको पीआर छ । तपाईं पनि जानुहुन्छ भने म स्पोन्सर गर्न सक्छु ।’ छक्क परेका पल्लीले सोधे, ‘कति पैसा लाग्छ ?’ महेशले भने, ‘पैसाको चिन्ता लिनु पर्दैन, पैसा ठूलो कुरा हैन ।’

मेसेन्जर कुराकानीबाटै पल्ली क्यानाडा जान मञ्जुर भए । सुरुमा ३ लाख दिने, बाँकी एक लाख पछि कमाएर दिँदा हुन्छ भनेर उनलाई महेशले झापा बोलाए । तीन लाख बोकेर उनी आए । बिर्तामोडमा भेट भयो । ‘भारत जान पैसा साट्नुपर्छ, तपाईं कपाल काट्दै गर्नुस्’ भन्दै सबै पैसा लिएर उनी बेपत्ता भए । फोन गरे, लागेन । लामो समय पर्खिंदा पनि नआएपछि पल्लीले आफूठगिएको भन्दै प्रहरीलाई उजुरी दिएर घर फर्किए ।

बुटवलकै २३ वर्षीय सुविन अर्यालको कथा पनि उस्तै छ । ४ वर्ष दुबई बसेर फर्किएका थिए । हालैको एक दिन अपरिचितको फ्रेन्ड रिक्वेस्ट आयो महेशजंग थापा नामको फेसबुक आईडीबाट । पल्ली जसरी नै अर्यालले पनि मित्रसूचीमा जोड्नुअघि थापा भनिएकासँग म्यासेन्जरमा कुरा गरेका थिए । महेशले उनलाई पनि क्यानाडा जाने अफर गरे । आफू क्यानाडाको पीआर भएको र जान चाहँदा स्पोन्सर गर्न सक्ने बताए ।

अहिले २ लाख दिए हुने सल्लाह मिलेपछि अर्याल सस्तोमै क्यानाडा जान पाइनेमा मक्ख परे । गत साउन १९ मा पैसा बुझाउन १२ घण्टा लामो यात्रा गरेर उनी झापाको काँकडभिट्टा ओर्लिए । फोनमा महेशले पैसा लिएर मेची पुलपारि आउन भनेपछि अर्यालले वारि नै बोलाए । महेश आए । पैसा लेनदेन हुनै लाग्दा दुवैलाई सादा पोसाकका प्रहरीले नाकाबाटै नियन्त्रणमा लियो । अर्याल भोलिपल्टै छुटे, थापा प्रहरीको हिरासतमा छन् । आफूलाई महेशजंग थापा बताउने मोरङको उर्लाबारी–७ बरगाछीका ३५ वर्षीय रामबहादुर खड्का भएको खुलेको छ ।

फिल्मी कथाजस्तो लाग्ने यी दुई घटनाले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेले कसरी नयाँ शैलीबाट ठगी गरिरहेका छन् भन्ने खुल्छ । खड्काले महेशजंग, विश्वजित थापा, आरभ थापा, उज्ज्वल थापा र प्रवीण थापालगायत नामका फेसबुक आईडीबाट पल्ली र अर्यालजस्ता धेरैलाई ठगी गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । खासगरी खाडी मुलुकमा काम गर्दै गरेका र घर फर्किएर बेरोजगार बसेका युवालाई लक्षित गरेर यस्तो ठगी गरेको देखिन्छ ।

खड्काले १४ वर्षदेखि अध्ययनका लागि क्यानाडा आएको र बिहे गरी पीआर लिएको भन्दै युवालाई ठग्दै आएको खुलेको छ । उनले ठग्ने क्रममा क्यानाडामा आफ्नै लगानीमा २/४ वटा क्याफे सञ्चालन गरेको र नेपालीहरूलाई रोजगारी दिइरहेको बताउने गरेका थिए । आफू गैरआवासीय नेपाली संघ क्यानाडाको पदाधिकारीसमेत रहेको उनले बताउने गरेका छन् ।

उनले क्यानाडा जान जम्मा ३ लाख भिसाका लागि र १ लाख जति टिकटका लागि लाग्ने भन्दै २ देखि ३ लाखसम्म असुलेको प्रहरीले फेला पारेको छ । खडकाले सन् २०१२ देखि नै फेसबुकमा पाँचवटा ‘फेक एकाउन्ट’ खोलेर त्यसमार्फत सम्पर्क गर्दै ठगी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । हालसम्म करिब ८ सय जनालाई ठगी गरेको हुन सक्ने भन्दै प्रहरी अनुसन्धान गरिरहेको छ ।

‘उनको फेसबुक आईडी हेर्दा आठ सयजना जतिलाई ब्लक गरेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहन थापाले भने, ‘यसलाई आधार मान्दा करोडांै रुपैयाँ असुली गरेको हुन सक्छ ।’ खड्काविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोड, दमक, धुलाबारी र काँकडभिट्टामा सय वटाभन्दा बढी उजुरी परेका छन् ।

प्रहरीका अनुसार उनले मेसेन्जरमा फकाएपछि क्यानाडा जान इच्छुकको डकुमेन्ट माग्ने र तिनै डकुमेन्टका आधारमा सिम कार्ड लिएर फोन गर्ने गरेको खुलेको छ । ‘पैसा लिइसकेकापछि सिम कार्ड नष्ट गर्ने र फेसबुकबाट तिनीहरूलाई ब्लक गर्ने गरेको पाइयो,’ डीएसपी थापाले भने । खडकाविरुद्ध प्रहरीले ठगी मुद्दा दायर गरेको छ । एउटा ठगी मुद्दा फैसला हुँदा कसुरवार ठहर भए ७ वर्ष जेल र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

Published on: 22 August 2019 | Kantipur

Back to list

;