s

गाजियाबादबाट १८ किशोर नेपाल फिर्ता

नारायण शर्मा

नवलपरासी — वैदेशिक रोजगारीका लागि भन्दै भारत पुर्‍याइएका १८ नेपाली किशोरलाई भारतीय प्रहरीले नेपाल फर्काइदिएको छ ।

भारतमा रोजगारीका लागि लगिएका ती किशोरहरुकाे भारतको गाजियाबादबाट उद्धार गरेर भारतले मंगलबार सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो ।

पूर्वी नवलपरासीका एसपी प्रकाश मल्लले भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएका किशोरहरुलाई मंगलबार नवलपरासीमा अभिभावकको जिम्मा लगाउने तयारी भएको छ । उनीहरु १४ वर्षदेखि १९ वर्ष उमेर समूहका छन् ।

नेपालको महिला बालबालिका मन्त्रालयका प्रतिनिधिको रोहबरमा उनीहरुलाई भारतीय प्रहरीले जिम्मा लगाएर अहिले नवलपरासी ल्याइँदै छ । उनीहरुलाई लैजाने ४ जनालाई पनि प्रहरीले समातेर ल्याएको छ ।

आफन्त नेपाल भन्ने संस्थाको सहयोगमा ती किशोरलाई भारतको गाजियाबादमा पक्राउ परेका हुन् । त्यो संस्था भारतमा पनि कार्यरत छ । आज ती सबै युवाका अभिभावकलाई जिल्ला प्रहरी कार्यालयमा आफना सन्तान जिम्मा लिन प्रहरीले बोलाएको छ । ‘अभिभावकको जिम्मा लगाएर पठाउछौं र लैजाने कसुरमा पक्राउ परेकाहरुलाई अनुसन्धान गर्छौं,’ एसपी मल्लले भने ।

उनीहरुलाई भारतमा आकर्षक रोजगारी दिने भन्दै एउटै गाडीमा राखेर भारतको गाजियाबाद पुर्‍याउँदा अघिल्लो साता त्यहाँको प्रहरीले पक्राउ गरेर दिल्ली प्रहरीलाई बुझाएको हो । उनीहरु गाजियाबादमा गाडीमा हिँड्दै गर्दा पक्राउ परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मल्लको भनाइ छ ।

Published on: 20 October 2020 | Kantipur

Link

Back to list

;