s

‘इराकमा कार्यरत नेपाली सुरक्षित’

नेपालका लागि इराकका गैरआवासीय राजदूत फलाह अब्लुल्हसन अब्दुलसदाले इराकमा कार्यरत नेपाली सुरक्षित रहेको बताएका छन् । इराकको सुरक्षा व्यवस्थापन सुदृढ पार्ने काममा नेपालीको विशेष योगदान रहेको उनको भनाइ छ । गृहमन्त्री रामबहादुर थापासित बिहीबार भएको भेटमा उनले भने, ‘नेपालीहरूको योगदानलाई इराकले निकै महत्त्वका साथ लिएको छ ।’

राजधानी बग्दादस्थित कूटनीतिक नियोगहरूको सुरक्षामा नेपाली रहेको राजदूत अब्दुलसदाले बताए । उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका थिए । गृहमन्त्री थापासँगको भेटमा उनले नेपाल आउने इराकीलाई भिसा प्राप्तिमा सरलीकरण गरिदिन गृहमन्त्री थापालाई आग्रह गरेका थिए । थापाले इराकमा कार्यरत नेपालीको सुरक्षाप्रति चासो जनाएको थापाका प्रेस सल्लाहकार किरण भट्टराईले बताए ।

नेपालले ०६७ मा इराकलाई प्रतिबन्धको सूचीबाट हटाए पनि कानुनी रुपमा कामदार पठाएको छैन । गैरकानुनी रूपमा अझै पनि झन्डै २५ हजार नेपाली त्यहाँ कार्यरत छन् । ०६१ भदौ १६ मा इराकमा १२ नेपालीको हत्या भएपछि सरकारले रोजगारीका लागि इराक जान प्रतिबन्ध लगाएको थियो । हाल ओसिस, एभीए इन्टरनेसनल, इकोलग, जीसीसी, सिर्का, पीपआई, डी एन्ड पी, रिनिलसेन्स, टोइफर एफेक्स र यूआरएसलगायत कम्पनीमा नेपाली कार्यरत छन् ।

Published on: 6 December 2019 | Kantipur

Link

Back to list

;