s

जनतालाई उत्तम रोजगार : समृद्धिको सुरुआत

समीर खतिवडा

 

राम्रो रोजगारीले मात्र गरिबी निवारण हुन्छ, अहिलेका प्रधानमन्त्रीको कोरा नारा ‘समृद्ध नेपाल र सुखी नेपाली’ले सार्थकता पाउँछ 

जब संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट पोलिसीले नेपाललाई अति कम विकसितबाट विकासोन्मुख देशमा स्तरोन्नति गर्ने निर्णय लियो, नेपालमा यो खबरले हंगामा नै मच्चायो । यो उत्सवको अवसर पनि थियो, किनकि नेपाल अति कम विकसितबाट विकासोन्मुख देशको स्तरमा खुड्किला जो चढ्यो । अब हामीलाई सन् २०२६ सम्म हाम्रा कमजोरी सच्याउने अवसर छ ।

मुलुकले समृद्ध नेपाल सुखी नेपालीको एउटा खुड्किलो चढेको प्रचार सरकारले गरेको छ । निश्चय नै विकासोन्मुख देशको स्तर एउटा महत्वपूर्ण गन्तव्य हो, उत्सव पनि मनाउनुपर्छ । तर, महत्वपूर्ण के भने नेपालले विकासोन्मुख देशमा स्तरोन्नति हुँदा प्रतिव्यक्ति आयको थ्रेसहोल्ड तोकिएको स्तरमा पुगेको छैन । अहिले नेपालको प्रतिव्यक्ति आय १०२७ डलर छ । यसलाई हामीले कम्तीमा १२३० डलर पुर्‍याउनुपर्छ । हाम्रो मानवीय सूचकांक, आर्थिक र वातावरणीय जोखिमको स्तरमा पुगेको छ । बंगलादेशले सबै क्राइटेरिया पूरा गरेको छ, नेपालले छैन । नेपालसँगै अति कम विकसित देशबाट विकासोन्मुख देशमा परिणत हुनेमा बंगलादेश पनि छ । यहाँ महत्वपूर्ण के छ भने नेपालले आर्थिक तथा वातावरणीय जोखिम र मानव सूचकांकको क्राइटेरिया प्रतिव्यक्ति आय थ्रेसहोल्ड नपुर्‍याईकनै पूरा गर्‍यो । यसको मतलब हामीले विकासका लक्ष्यहरू प्रतिव्यक्ति आय नबढाईकन नै पूरा गर्‍यौँ । यसको मूल कारण नेपालमा माइग्रेसन र रेमिट्यान्सको आम्दानी हो । आम्दानी वृद्धि कमै हुँदा पनि रेमिट्यान्सले गरिबी निवारण, औसत आयु वृद्धि र स्कुल, कलेजमा पढ्नेको संख्या बढायो ।

साधारणतः अति कम विकसितबाट विकासोन्मुख देशमा स्तरोन्नति हुँदा ट्रान्जिसनको समय तीन वर्षको हुन्छ । तर, अहिले कोभिड–१९ का कारण यसलाई बढाएर पाँच वर्ष बनाइएको छ । नेपालको रोजगारी अनौपचारिक र सेवा क्षेत्रमा बढी छ । उदाहरणका लागि पर्यटन क्षेत्रलाई लिऊँ । यो क्षेत्र कोभिड–१९ का कारण थला परेको अवस्था छ । हालसालै नेपाल सरकारले कोभिड–१९ बाट भएको नोक्सानीको तथ्यांक प्रकाशित गरेको छ । तथ्यांकले देशमा गरिबी बढेको देखाउँछ । राष्ट्रिय योजना आयोगको अध्ययन समितिले आकलन गरेअनुसार कोभिड–१९ को कारण १६ लाख मानिसको रोजगारी गएको छ । यसबीच, १२ लाख मानिस गरिबीको रेखामुनि पुनः फर्किएका छन् । यसर्थ, अति कम विकसित देशबाट विकासोन्मुखमा स्तरोन्नति हुन दिइएको पाँच वर्षको संक्रमण समयावधि यथार्थपरकै छ । यो अवधिलाई हामीले राम्ररी सदुपयोग गर्न सक्नुपर्छ । निर्यात बढाउने, रोजगारी सिर्जना गर्ने काम गर्नुपर्छ ।

खाडी देशमा काम गरेर फर्किएका नेपालका कामदारमा दक्षता छ । यसलाई देशले उपयोग गर्न सक्नुपर्छ । हाम्रो आर्थिक र श्रम नीति यस्ता कामदारलाई उपयोग गरी दिगो उन्नति र विकासमा केन्द्रित हुनुपर्छ ।

बंगलादेशले अति कम विकसित देशकै स्तरमा हुँदा आफ्ना उद्योगधन्दा र निर्यात बढायो, तर नेपालले त्यसो गर्न सकेन । अति कम विकसित अवस्थाबाटै बंगलादेशले गार्मेन्ट सेक्टर बढायो । जुन बंगलादेशको निर्माण क्षेत्रको कोसेढुंगा र निर्यातको जग बन्यो । बंगलादेशले त्यस अवधिमा विदेशी बजारको खोजी गर्‍यो । कृषिमा अनुदान दिएर कृषिजन्य उद्योगहरू स्थापना गर्‍यो । तर, नेपालले भने निर्यात प्रबन्धनका लागि खास कार्ययोजना केही ल्याएन, घरेलु उद्योगहरू पनि कम नै खोलिए । नेपाल विकासोन्मुख देशमा स्तरोन्नति त हुँदै छ, तर आफ्नो उत्पादन क्षमता बंगलादेशले जस्तो बढाउन सकेको छैन ।

नेपालको जिडिपी को ८ प्रतिशत मात्रै निर्यातले ओगटेको छ, जसको हिस्सा सन् २००० मा २३.२८ प्रतिशत थियो । विडम्बना नै भन्नुपर्छ, गएको दुई दशकमा नेपालको निर्यात व्यापार ऋणात्मक भएको छ । हाम्रो निर्यात बढ्नुपर्ने थियो, जसले प्रतिव्यक्ति आय बढाउन मद्दत गर्थ्यो । नेपालको कमजोर उत्पादन क्षमताले आर्थिक विकास र प्रतिव्यक्ति आय कम भएको हो । निर्माण व्यवसाय सन् १९९० पछाडि स्थिर बसेको छ, बढेको छैन । सेवा क्षेत्रमा पनि रोजगारी कम आययुक्त छन् । अनौपचारिक क्षेत्रमा रोजगारी त छन्, तर त्यसले खान, लगाउनै पुग्दैन । कम शिक्षित गाउँका युवा कामदारका लागि नेपालको श्रम बजार पटक्कै राम्रो छैन । यो पीडादायक छ ।

पछिल्लो तथ्यांकअनुसार नेपालको ८० प्रतिशत रोजगारी अनौपचारिक क्षेत्रमा छ । अर्थात्, ५७ लाख नेपाली अनौपचारिक क्षेत्रमा काम गर्छन् । अनौपचारिक क्षेत्रको रोजगारीलाई राम्रो रोजगारी मानिदैन । यसमा कामदारको कुनै सुरक्षा पनि हुँदैन । धेरैजसो कामदारले दुःख, पीडा झेल्छन्, गरिबीको रेखावरिपरि रहन्छन् ।

गएको दशकको आर्थिक विकासले संसारमा कामदारहरूको तलब र सुविधामा वृद्धि भएको देखाएको छ । तर, नेपालको सन्दर्भमा तलब तथा सुविधा राम्रो भएका रोजगारी कमै मात्र सिर्जना भएका छन्, जसले गर्दा नयाँ रोजगारमा आउने श्रमिकका लागि कठिन भएको छ । यसको कारण निर्माण सेवा अधोगतितिर गइरहेको छ, कृषि क्षेत्र परम्परागतमै छ । यिनै दुई क्षेत्रले नयाँ र बढी रोजगारी सिर्जना गर्नुपर्ने हो, तर नेपालमा यो भएको छैन । नेपालमा त औद्योगिक विकासभन्दा पनि औद्योगिक विनाश पो भइरहेको छ । युवाका लागि हामीले रोजगारीका अवसर नै बढाउन सकेका छैनौँ । विडम्बना ! राजनीतिक पार्टीहरू चुनावका लागि भोट माग्छन्, तर कहिल्यै पनि नयाँ रोजगारी सिर्जनाको कुरै गर्दैनन् । हामी अदक्ष वा अर्धदक्ष कामदारका लागि रोजगारी सिर्जना भएको कमै सुन्छौँ । सिंगापुर र स्विट्जरल्यान्डको सपना बेचिन्छ, रेल र पानीजहाजका गफ गरिन्छ, तर जनताको समृद्धिको बारेमा कुनै बहस हुँदैन, राम्रा रोजगारी सिर्जनाको योजना सुनिदैन । जनताको समृद्धि राम्रो र उचित रोजगारीबाट हुने हो, यो कुरामा हाम्रो बहस धेरै देखिँदैन ।

गएको १० वर्षमा धेरैजसो रोजगारी कम उत्पादकत्व भएका कृषि, निर्माण, खुद्रा व्यापारजस्ता सेक्टरमा सिर्जना भएका छन् । यी क्षेत्रमा काम गर्ने कामदारमा दक्षता कम छ, जसले विद्यालय तह पनि पार गरेका हुँदैनन् । यो तल्लो लेबलको रोजगारी हो । नेपालका खाडी देशमा काम गरेर फर्किएका कामदारमा दक्षता छ । यसलाई देशले उपयोग गर्न सक्नुपर्छ । हाम्रो आर्थिक र श्रम नीतिले यस्ता कामदारलाई उपयोग गरी दिगो उन्नति र विकासमा केन्द्रित हुनुपर्छ । यस्ता धेरैजसो कामदार तराई र पूर्वका जिल्लाबाट छन् । घर फर्किएपछि उनीहरूलाई आफ्नै गाउँ–सहरमा रोजगारीका सम्भावना हुनुपर्छ । विराटनगरको उद्यौगिक क्षेत्रलाई पुनः उत्थान गर्दा त्यस क्षेत्रका कामदारले काम पाउँछन् । 

नेपालका वैदेशिक रोजगारीमा जाने कामदारहरूको तथ्यांक हेर्ने हो भने बिदेसिने ६० प्रतिशत कामदार अदक्ष वा अति कम दक्ष छन् । तर, पछिल्लो समय अदक्ष कामदार जाने क्रम घटिरहेको छ । एकपटक वैदेशिक रोजगारीमा गएर फर्किएका धेरैजसो कामदार फेरि वैदेशिक रोजगारीमा जाँदा दक्षता चाहिने राम्रो पारिश्रमिक तथा सुविधायुक्त काममा मात्र जाने कोसिस गर्छन् । बाहिर जाने कामदारले उपयोगी सीप सिकेर आउँछन् । जसले राम्रो र बढी सुविधा भएको रोजगारी सिर्जना गर्न मद्दत गर्छ ।

कृषिको व्यवसायीकरणले राम्रो रोजगार सिर्जना गर्छ । विदेशमा काम गरेर फर्किएका श्रमिकले आफ्नो दक्षता प्रयोग गरेर आधुनिक फार्म खोल्न सक्छन् । सरकारले यस्ता व्यवसायलाई आर्थिक रूपमा ऋण तथा अनुदान दिएर सहयोग गर्न सक्छ ।

नेपालले उद्योगहरूको पुनर्स्थापनामा ध्यान दिने हो भने बाहिरबाट काम गरेर आएका कामदारहरू ती उद्योगमा उपयोगी हुनेछन् । यसो हुँदा तिनले घरमै रोजगारी पाउँछन् । साथै, नेपालले दक्षिण एसिया क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने मुख्य आर्थिक क्षेत्रमा औद्योगिक नीति केन्द्रित गर्नुपर्छ । हामी नयाँ रोजगारी सिर्जना गर्न इच्छुक हो भने हामी अलि कठोर पनि हुनुपर्छ । आर्थिक विकास गर्न राष्ट्रिय अभियान नै चलाउनुपर्छ । प्रदेश सरकारहरूसँग आर्थिक क्षेत्र विकास गर्न केन्द्रीय सरकारले मिलेर जानुपर्छ । आर्थिक क्षेत्रको छनोट जनसंख्या र बाहिरी बजारको सम्भावनाका आधारमा गरिनुपर्छ । यसो गर्दा राम्रो सुविधा भएको काम पाउन काठमाडौं नै आउनु नपर्ने हुन्छ, जनताको समृद्धि हुन्छ । 

नेपालको कृषि क्षेत्रको व्यवसायीकरण नहुँदा यो राम्रो रोजगारीको तगारो बनेको छ । हालका तथ्यहरूले वैदेशिक रोजगारीबाट फर्किएका १४.३ श्रमिक कृषि क्षेत्रको काममा लाग्ने गरेका छन् । इजरायल र लेबनानमा कृषिमा काम गरेर आएका कामदारलाई नेपालमा खेती गर्न कठिन हुँदैन । उनीहरूले उन्नत प्रविधि र उत्पादन शैली प्रयोग गरी बढी उत्पादन गर्न सक्छन् । नेपालको कृषि क्षेत्र व्यवसायीकरण हुँदा यी कामदारले अझ फाइदा लिन सक्नेछन् ।

कृषिको व्यवसायीकरणले राम्रो रोजगारको सिर्जना गर्छ । विदेशमा काम गरेर फर्किएका श्रमिकहरूले आफ्नो दक्षता प्रयोग गरेर आधुनिक फार्म खोल्न सक्छन् । सरकारले यस्ता व्यवसायलाई आर्थिक रूपमा ऋण तथा अनुदान दिएर सहयोग गर्न सक्छ । अहिले १० लाखसम्मको ऋण कम ब्याजदरमा दिइएको छ, जुन कामदारबीच लोकप्रिय पनि छ । हामीले योभन्दा राम्रो योजना ल्याएर कृषि व्यवसाय खोल्ने वातावरण बनाउनुपर्छ । जसको व्यवस्थापन बाहिरबाट आएका कामदारले गर्न सक्छन् । 

वैदेशिक रोजगारीबाट फर्किएका करिब २० प्रतिशत कामदारको अनुभव सेवा र व्यापार क्षेत्रमा रहेको देखिन्छ । यी क्षेत्र नै नेपालमा बढ्दो रूपमा छन्, यिनले बढी रोजगारी दिन सक्छन् । सन् २०१८ सेवा क्षेत्रमा २१ प्रतिशत रोजगार थिए, यसले जिडिपीको ५३ प्रतिशत हिस्सा ओगटेको छ । राम्रो र बढी उपादनमूलक सेवा सञ्चालनका लागि हामीसँग पर्याप्त दक्ष कामदार हुनुपर्छ । शिक्षा र दक्षता हासिल गर्ने तालिमहरू सञ्चालन नगरी यस्ता कामदार उत्पादन गर्न सकिँदैन । नेपालमा जुन पार्टीको सरकार भए पनि शिक्षा र तालिममा लगानी बढाएर दक्ष कामदार उत्पादन गर्नु नै भविष्यको उद्देश्य हुनुपर्छ । 

हाम्रो देशका राजनीतिक पार्टी र नेताहरूले जनताको समृद्धितिर ध्यान दिनुपर्‍यो । जनताले नेता भोट माग्न आउँदा आफ्नो जिल्लामा कति रोजगारी सिर्जना गर्ने तपाईंको योजना छ, गाउँ–सहरका पढेलेखेका युवायुवतीलाई रोजगार दिलाउने तपाईंको के योजना छ भनेर सोध्नुपर्‍यो । त्यसो हुँदा मात्र नेताले पनि जनताको समृद्धितिर ध्यान दिन्छन् । होइन भने चुनावको वेला मासुभात खुवायो, अन्तिममा त्यो मासुभात पनि झोल र भात मात्र हुन्छ । बढीभन्दा बढी राम्रो रोजगारविना जनताको समृद्धि हुँदैन, यो हामीले बुझ्नुपर्छ । राम्रो रोजगारीले मात्र गरिबी निवारण हुन्छ, जनताको जीवन पनि सुखी हुन्छ । अनि मात्र अहिलेका प्रधानमन्त्रीको कोरा नारा ‘समृद्ध नेपाल र सुखी नेपाली’ले सार्थकता पाउँछ ।

Published on: 5 March 2021 | Nayapatrika

Link

Back to list

;