s

जापानको सीप परीक्षामा सबै फेल

जापानमा नर्सिङ केयरगिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन् । जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागी थिए । तीमध्ये भाषा परीक्षामा मात्र एक जना उत्तीर्ण भएका छन् ।  नेपाल र जापानको श्रम समझदारीअनुसार नर्सिङ केयरगिभरमा जाने कामदारले नर्सिङ सेवासम्बन्धी भाषा र सीप परीक्षणमा उत्तीर्ण हुनुपर्छ । अनलाइनमार्फत आवेदन दिएकामध्ये लक्की ड्रबाट छानेर जापान फाउन्डेसनले परीक्षा लिएको थियो । कुन क्षेत्रमा जाने कामदारले कुन पाठ्यक्रमअनुसार परीक्षा दिनुपर्ने हो भन्ने प्रस्ट नहुँदा परीक्षार्थी अन्योलमा परेर फेल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विश्लेषण छ ।

जापानले मन्त्रालयलाई उपलब्ध गराएको प्रारम्भिक सूचनाअनुसार भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए । यसबाट परीक्षामा सहभागीका लागि लक्की ड्रबाट एक हजार जना छानिएका थिए । यसबाट पनि सामान्य भाषा परीक्षाका लागि भने ५ सय ९ जना छानिएका थिए । त्यसमध्ये ४ सय ९७ जनाले परीक्षा दिएका थिए । यसमा ५६ जना मात्रै उत्तीर्ण भए । त्यसको पहिलो लटमा नर्सिङ केयरको सीप परीक्षणमा १५ जना र नर्सिङ भाषा परीक्षामा १२ जना सहभागी थिए । श्रम मन्त्रालयले यो प्रणालीप्रति काठमाडौंस्थित जापानी दूतावाससमक्ष असहमति जनाइसकेको छ । ‘लक्की ड्रबाट छान्दा योग्य प्रशिक्षार्थी पर्दैनन् । यो उपयुक्त र वैज्ञानिक छैन भनेर हामीले दूतावाससमक्ष भनिसकेका छौं,’ श्रम मन्त्रालयका एक अधिकारीले भने, ‘यो प्रणालीको विकल्प खोज्नुपर्छ ।’ लाखौं रुपैयाँ खर्चिएर तयारीमा जुटेकाहरूले परीक्षामा सहभागी हुन पाउनुपर्ने श्रम मन्त्रालयको अडान छ । जापानले भने सहभागीको संख्या अत्यधिक भएकाले सबैलाई परीक्षामा सहभागी गराउन नसकिएको बताउँदै आएको छ । ‘यो सुरुवात हो । आवश्यक परे परिवर्तन गर्न सकिनेछ,’ जापानी पक्षले भनेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रम समझदारी कार्यान्वयनमा देखिएका अस्पष्टतालाई हटाउन नेपालका लागि जापानी राजदूत मासामिची साइगोलाई आग्रह गरेका छन् । ‘भाषा परीक्षाको प्रणालीमा पनि परिवर्तन गर्न आवश्यक छ,’ मंगलबार मन्त्रालयमा साइगोसँगको भेटमा उनले भने । जापानको आवश्यकताअनुसार भाषा र दक्ष जनशक्ति उत्पादनका लागि जापानले नेपालमा ट्रेनिङ सेन्टर स्थापना गर्नसमेत उनले आग्रह गरे । जापानले सन् २०२० का लागि काठमाडौंमा जनवरी ७–८, १४–१६, २१–२३ र २८–२९ तारिखमा भाषा परीक्षा लिने जानकारी दिएको छ ।

Published on: 4 Dec 2019 | Kantipur

Link

Back to list

;