s

कानेपोखरीका संक्रमित : मलेसियाबाट आएका, क्वारेन्टिन नगई मध्यरातमा घर पुगेका

हरि अधिकारी 

१८ असार, विराटनगर । बुधबार मोरङको कानेपोखरीमा कोरोना संक्रमण पुष्टि भएका युवक मलेसियाबाट नेपाल फर्किएको पाइएको छ । उनी ७ असारमा मलेसियाबाट सरकारले उद्धार गरी ल्याइएका व्यक्ति हुन् । 

कानेपोखरी गाउँपालिका–५ का ती युवक ७ असार राति १ बजे कानेपोखरी आइपुगेका थिए । तर उनी क्वारेन्टिनमा नगई सिधै घर गएका थिए । मलेसियाबाट उनीसँगै अन्य दुईजना पनि आएका थिए । 

पूर्वपश्चिम राजमार्गको कानेपोखरी चोकमा विदेशबाट आएकालाई लिन गाउँपालिकाले एम्बुलेन्स पठाएको थियो । तर ती युवक एम्बुलेन्समा बसेनन् । बाटोबाटै उनी टेम्पो चढेर घर पुगे । राति करिब १ बजे आमाले ती युवकलाई टेम्पोमा घर लगेकी थिइन् ।

मलेसियाबाट आउँदा नेगेटिभ रिपोर्ट लिएर आएका युवक होम क्वारेन्टिनमा बस्ने भन्दै गएका थिए । सो जानकारी पाएपछि गाउँपालिकाले घरबाटै ल्याएर उनलाई क्वारेन्टिनमा राखेको कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले जानकारी दिए । 

उनका अनुसार मध्यरातमा बाटोबाटै घर लैजाने टेम्पो चालक र युवकको आमालाई पनि क्वारेन्टिनमा राखिएको छ । संक्रमित युवकलाई हाल पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनमा पठाइएको छ।

झापाका ११ संक्रमित कुवेतबाट आएका 

बुधबार झापामा २० जना कोरोना संक्रमित भेटिए । तीमध्ये ११ जना महिला छन् । बुधबार संक्रमण पुष्टि भएका ११ जना महिलालाई कुवेतबाट सरकारले उद्धार गरी ल्याएको स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाई‌ंले जानकारी दिए ।

उनका अनुसार बुधबार झापाको मेचीनगर नगरपालिकामा ६ महिला र १ एक पुरुष, बुद्धशान्ति नगरपालिकामा २ महिला र ३ पुरुष, गौरादहमा ३ महिला र ४ पुरुष संक्रमित छन् । त्यस्तै, गौरीगञ्जमा एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । बुधबार नै इलाममा कोरोना संक्रमण पुष्टि भएका २ महिला पनि कुवेतबाट आएको बताइएको छ ।

प्रदेश १ मा जम्मा ६०४ जना कोरोना संक्रमित छन् । तीमध्ये ४०० जना उपचारपछि घर फर्किएका छन् ।

Published on: 2 July 2020 | Onlinekhabar

Link

Back to list

;