s

मानव बेचविखनमा म्यानपावर र परामर्शदाताको सक्रियता बढी

मानव बेचविखनका घटनामा सबैभन्दा बढी म्यानपावर तथा परामर्शदाताको संलग्नता हुने गरेको एक अध्ययनले देखाएको छ। महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) ले वर्ष २०७५ भित्र विभिन्न सञ्चार माध्यममा प्रकाशित बेचविखनसम्बन्धी समाचार सामग्रीको अध्ययनमा बेचविखनको घटनामा ३३ प्रतिशत म्यानपावर व्यवसायी र परामर्शदाताको संलग्नता रहेको पाइएको छ।

बेचविखनको घटनामा गैरनेपाली नागरिकको पनि बाक्लो संलग्नता रहेको प्रतिवेदनले औँल्याएको छ। २७ प्रतिशत बेचविखनको घटनामा भारतीय नागरिकको संलग्न रहेका थिए भने छिमेकीको संलग्नता १२ प्रतिशत घटनामा रहेको थियो।

प्रेमी र श्रीमान, विश्वासिलो साथी तथा कुनै चिनजानमा नरहेको व्यक्ति पनि बेचविखनमा संलग्न भएको पनि प्रतिवेदनमा उल्लेख छ। ६ प्रतिशत घटनामा प्रेमी र श्रीमानको संलग्नता पाइएको थियो। २ प्रतिशतमा साथी तथा अन्य ३ प्रतिशत घटनामा दलाल संलग्न भएका थिए।

अध्ययन प्रतिवेदनले सीमापार मात्रै होइन आन्तरिक रुपमा पनि बेचविखनको अवस्था भयावह रहेको देखाएको छ। सीमापार लगेर बेचबिखन गरिएका घट्ना ५४ प्रतिशत, वैदेशिक रोजगारीसँग सम्बन्धित २६ प्रतिशत र आन्तरिक ओसारपसार तथा बेचबिखनसँग सम्बन्धित ८ प्रतिशत थिए। यसैगरी मानव अङ्ग बेचविखनसँग सम्बन्धित घटना ९ प्रतिशत थिए तर ३ प्रतिशतमा कस्तो प्रकारको बेचबिखनको हो भन्ने उल्लेख थिएन।

बेचविखनमा परेकामध्ये ५१ प्रतिशत यौन शोषणमा प्रयोग गरिएको पाइएको थियो। यस्तै ३५ प्रतिशत श्रम शोषण, ९ प्रतिशत मानव अङ्ग बेचविखन र ५ प्रतिशतल बौद्ध धर्म दर्शन पढ्न वा लामा बनाउने आशय ओसारपसार गरिएकासँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित समाचारमा बेचविखनको मुख्य कारणका रुपमा गरिबी रहेको पाइएको छ। बेचविखनका कारणमा गरिबी र दयनीय आर्थिक अवस्था भन्नेमा ३७ प्रतिशत, रोजगारीको अभाव तथा राम्रो कामका लागि भन्नेमा ३७ प्रतिशत तथा विवाहका लागि भन्नेमा १६ प्रतिशत थियो। यसैगरी मानव अङ्ग बेचविखनका लागि र पढाइदिन्छु भनेर १६ प्रतिशत तथा २ प्रतिशत घट्नामा पारिवारिक बिग्रहलाई कारण मानिएको प्रतिवेदनमा जनाइएको छ।

सोही अवधिमा मानव बेचविखनसँग सम्बन्धित समाचार प्रकाशनका क्रममा आचारसंहिताको पूर्णपालना नभएको प्रतिवेदनमा उल्लेख छ। आचारसंहिता पूर्णपालना गरेका समाचार १९ प्रतिशत थिए। २४ प्रतिशत समाचारमा प्रभावितको सक्कली नाम छापिएको थियो भने ४५ प्रतिशत समाचारमा सहायक परिचय (घर, ठेगाना वा आमाबाबुको नाम) प्रकाशित गरिएको थियो। ९ प्रतिशतमा भने नक्कली नाम थियो तर ३ प्रतिशतमा त प्रभावितको फोटो नै छापिएको पाइएको थियो।

लैगङ्कि आधारमा बेचविखनमा परेका ४८६ प्रभावितमध्ये ८६ प्रतिशत महिला र १४ प्रतिशत पुरुष रहेका थिए। १८१ समाचारमा प्रभावितको उमेर उल्लेख गरिएको थियो। जसमा ० देखि १७ वर्ष उमेर समूह अर्थात् बालबालिका देखि किशोरकिशोरीको समूहका नै ५० प्रतिशत थिए। यसैगरी १८ देखि २९ वर्ष उमेर समूहका ४१ प्रतिशत र ३० देखि ४९ वर्ष उमेर समुहका ९ प्रतिशत थिए। ५० वर्ष माथिको उमेर समूहका भने यो वर्ष एक जना पनि थिएनन्। प्रभावितमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकका ९, नुवाकोटका ७, तथा दैलेख र काभ्रेपलाञ्चोकका ५–५ जना थिए।

बेचविखनमा पर्नेमा सबैभन्दा बढी तामाङ समुदायबाट ३१ प्रतिशत तथा ब्राम्हण र क्षत्री समुदायबाट २० प्रतिशत र दलितबाट १७ प्रतिशत थिए। यसैगरी मधेशी समुदायबाट ८ प्रतिशत, राई समुदायबाट ९ प्रतिशत, मगर समुदायबाट ६ प्रतिशत तथा मुस्लिम, शेर्पा र चौधरी समुदायबाट ३–३ प्रतिशत प्रभावित भएका प्रतिवेदनमा समावेश गरिएको छ। अध्ययनमा ‘गोरखापत्र’, ‘कान्तिपुर’, ‘अन्नपूर्ण पोष्ट’, ‘नागरिक’, ‘नयाँ पत्रिका’, ‘राजधानी’ र ‘नेपाल समाचारपत्र’ तथा अंग्रेजी दैनिक ‘दि हिमालयन टाइम्स’ र ‘दि काठमाण्डु पोष्ट’ तथा साप्ताहिक ‘नेपाल’ र ‘नारी’ मासिकमा छापिएका बेचविखनसँग सम्बन्धित २२७ समाचार प्रकाशित भएका थिए।

वैदेशिक रोजगारीका आडमा हुने मानव बेचविखन रोक्न सुझाव

वैदेशिक रोजगारीका आडमा मानव बेचविखन हुने क्रम अत्यधिक रहेकाले तीनै तहका सरकारलाई गम्भीरताका साथ नीति निर्माण गर्न सुझाव दिएको छ। प्रतिवेदनले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरी वैदेशिक रोजगारीको आडमा हुने मानव बेचविखनमा संलग्नलाई कारबाही गर्ने प्रावधान राख्न सुझाव दिएको छ।

मानव बेचविखनमा संलग्नलाई कडा कारबाहीको व्यवस्था नभए यौनशोषण वा श्रमशोषणका लागि दलालले वैदेशिक रोजगारीको आवरण लगाएर मानव बेचविखन तथा ओसारपसार जारी राख्ने प्रतिवेदनमा औँल्याइएको छ। प्रतिवेदनमा महिलालाई घरेलु कामदारका रुपमा खाडी मुलुकमा जान रोक लगाइएपनि जानेक्रम नरोकिएको भन्दै तत्कालै ठोस निर्णय लिन सरकारलाई आग्रह गरिएको छ। प्रतिवेदनमा प्रदेश तथा स्थानीय सरकारले पनि मानव बेचविखन न्यूनीकरण गर्न सचेतना फैलाउनुपर्ने सुझाव दिइएको छ। रासस

Published on: 7 December 2019 | Nagarik

Link

Back to list

;