s

मेलबर्नमा चार नेपाली विद्यार्थीलाई कोरोना

कान्तिपुर संवाददाता

सिड्नी — अस्ट्रेलियाको मेलबर्नमा चार नेपाली विद्यार्थीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । संक्रमितमध्ये तीन जना एकै स्थानमा बस्दै आएका थिए । अस्ट्रेलियास्थित नेपाली राजदूत महेशराज दाहालका अनुसार एक विद्यार्थीमा भाइरसको संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएका अन्यको परीक्षण गरिएको थियो ।

संक्रमित विद्यार्थीहरूको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहेका छन् । संक्रमण देखिएका विद्यार्थी पछिल्लो समय भाइरस संक्रमण तीव्र रूपमा फैलिइरहेको मेलबर्नको ग्लेनरोय क्षेत्रका हुन् । उनीहरू हाल आफ्नै घरमा आइसोलेसनमा छन् ।

मेलबर्नमा बस्दै आएका एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले चार जनाको पुष्टि भए पनि थप दुई जनाको परीक्षण नतिजा आउन बाँकी रहेको जनाए । ‘अलग बस्ने भाइलाई संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका पाँच जना साथीले परीक्षण गरेकोमा तीन जनामा संक्रमण पुष्टि भएको र दुई जनाको नतिजा आउन बाँकी छ,’ उनले भने । कँडेलले एनआरएनएका तर्फबाट विद्यार्थीलाई आवश्यक सहयोग पुर्‍याउने जनाए । अस्ट्रेलियाको सिड्नी, तास्मानिया र मेलबर्नमा रहेका १० जना नेपालीमा केही महिनाअघि भाइरस संक्रमण देखिएको भए पनि उनीहरू सबै निको भएर नियमित काममा फर्किसकेका छन् ।

पछिल्लो समय कोभिड–१९ का बिरामी बढ्दै गएपछि मेलबर्न र आसपासका केही क्षेत्रमा ६ साताका लागि लकडाउन गरिएको छ । मेलबर्नमा बिहीबार मात्र १ सय ६५ जनामा भाइरसको संक्रमण देखिएको छ ।

Published on: 10 July 2020 | Kantipur

Back to list

;