s

मुम्बई र पुनेबाट घर हिँडेका ७० जना नेपालीको बिचल्ली

सुरेशराज न्यौपाने

नयाँदिल्ली — रोजगारी गुमे पनि कोरोनाको संक्रमणबाट बच्ने आसमा स्वदेश हिँडेका नेपालीहरू भारतको मुम्बईमा तीन दिनदेखि बिचल्लीमा परेका छन् । भारतका पुने र मुम्बईमा रहेका ७० जना नेपालीहरू गत शनिबार बिहान बसबाट कैलालीका लागि हिँडेका थिए । तर, बस गुडेको केही घण्टामै स्थानीय प्रहरीले नियन्त्रणमा लियो ।

भारतको मुम्बईस्थित भिवन्डीमा अलपत्र नेपाली

लकडाउनका बेला बिनाअनुमति बस चलाएको भन्दै मुम्बईको थाने जिल्लास्थित तीन हाता नाकाका प्रहरीले नियन्त्रण लिएपछि उनीहरू बिचल्लीमा परेका हुन् । प्रहरीले बसका मालिक र चालकलाई लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको छ । हाल उक्त बसलाई मुम्बईकै भिववन्डीस्थित राज्य परिवहनको बस पार्कमा राखिएको छ । भारत सरकारले कोरोना महामारीको रोकथामका लागि सार्वजनिक बसमा आधा यात्रु राखेर चलाउने छुट दिएको छ । तर, उक्त बसमा ७० भन्दा बढी यात्रुलाई कोचकोच गरी राखिएको थियो । दुई जनाको सिटमा चार जनासम्म थिए ।

प्रहरी निरीक्षक उमेश देवडेले बसले महाराष्ट्र राज्यको कर नतिरेको, सवारी अनुमति पनि नलिएको र सामाजिक दूरी कायम नगरेर चरम लापरबाही गरेकाले नियन्त्रणमा लिएको कान्तिपुरलाई बताए । ‘बसमा यात्रुहरू कोचाकोच गरेको ल्याएको थियो,’ उनले भने । उनले अनुमति लिएको बस आएको खण्डमा नेपालीहरूलाई पठाउन कुनै समस्या नहुने बताए ।

नेपाल फर्केन खोज्नेहरू सबैजसो पुने र मुम्बईका विभिन्न होटल र सोसाइटीमा कार्यरत थिए । करिब आठ महिनाअघि मात्र मुम्बई पुगेका एक नेपालीले तीन महिनादेखि बेराजगार रहेको बताए । काम गर्दै आएको होटल बन्द भएपछि उनलाई खान र बस्नको समस्या पनि पिरलो हुँदै गएको थियो । त्यसमाथि पछिल्लो समय महाराष्ट्रमा कोरोनाको संक्रमणमा तीव्र वृद्धि भएको थियो । ‘काम नहुँदा एकातिर भोकै मर्ने डर अर्कोतर्फ कोरोनाको त्रास, त्यही भएर जसरी पनि घर जान भनेर हिँडेका हौं,’ उनले भने । 

तर, उनीहरूलाई दु:खलाई साथ छाडेन । सबै जना शनिबारदेखि बसपार्कमा अलपत्र छन् । न खाने व्यवस्था छ न त बस्ने । एक महिनाको काखे बालकदेखि वृद्धहरूसमेत रहेकाले गर्मी र लामखुट्टेका कारण उनीहरू बिरामी पर्ने हुन् कि भन्ने चिन्ता पनि त्यत्तिकै छ । कोही बसभित्रै र कोही बसपार्कको कुर्सी र भुइँमा दिनरात कटाउन बाध्य छन् । शनिबार भोकै रहेका उनीहरूलाई आइतबार बिहान स्थानीयहरूले खाना दिएका थिए । त्यस दिन साँझ भने नेपालीहरूले स्थानीयहरूसँग भाँडा मागेर आफंैले पकाएका थिए ।

‘बस सञ्चालकका कारण नेपाली दाजुभाइले अनाहकमा दु:ख पाउनुपर्‍यो, बिचल्ली भयो,’ मुम्बईकै मनकामना एकता फाउन्डेसनका सल्लाहकार समितिका संयोजक शालिग्राम तिवारीले कान्तिपुरसँग भने । सोमबार साँझको खानाको प्रबन्ध भने उक्त संस्थाले प्रबन्ध गर्न थालेको तिवारीले जानकारी दिए । बस प्रहरीको नियन्त्रणमा पर्नासाथ नेपालीहरूले बसका एजेन्टहरूलाई सम्पर्क गर्ने प्रयास नगरेका होइनन् ।

तर, नेपालीहरूलाई घर पठाउन चासो नदेखाएको यात्रुहरूको गुनासो छ । फोन गरे पनि सकेसम्म नउठाउने र उठाइहाले पनि भोलि हुन्छ भन्दै टार्ने गरेको टीकापुरका लागि हिँडेका सूर्य जैसीले कान्तिपुरसँग फोनमा भने । घटनाका सम्बन्धमा दिल्लीस्थित नेपाली दूतावासलाई पनि जानकारी गराइसकेको तिवारीले बताए ।

Published on: 23 June 2020 | Kantipur

Link

Back to list

;