s

नेपालसहित चार देशमाथि प्रवेशमा रोक

सीता शर्मा 

काठमाडौँ, वैशाख ३० गते । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक लगाएका छन् ।

नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको भन्दै नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई ती देशमा प्रवेश गर्न रोक लगाएका हुन् । कोरोना सङ्क्रमण रोकथामका लागि प्रवेशमा रोक लगाउने निर्णय भएको त्यहाँस्थित नेपाली राजदूतावासले जानकारी गराएका छन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारको पछिल्लो निर्णयले कूटनीतिक र सरकारी राहदानी भएकाबाहेक अन्य कुनै पनि भिसामा यी देशका नागरिक मलेसिया प्रवेश गर्न पाउने छैनन् । निश्चित समयका लागि रोक लगाइएको भए पनि समय नतोकिएकाले कति लामो हुने हो भन्न नसकिने पनि दूतावासले जनाएको छ । मलेसिया सरकारले यी देशबाट आउने आफ्ना नागरिकलाई समेत अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरेको छ । नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द हुँदा मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकको शव पठाउन तथा करार अवधि सकिएका अथवा टिकट लिएका श्रमिकलाई खानबस्न समस्या हुन थालेको दूवावासले जनाएको छ ।

संयुक्त अरब इमिरेटस् (यूएई) सरकारले पनि बुधबारदेखि नेपालीको प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । यूएईले बुधबारदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि नेपालीलाई प्रवेशमा रोक लगाएको यूएईस्थित नेपाली राजदूतावासले जनाएको छ । यूएईले भारतका नागरिकलाई यसअघि नै प्रवेशमा रोक लगाएको थियो । नेपालसहित चार देशबाट ट्रान्जिट भएर आउने यात्रुले पनि यूएईमा प्रवेश गर्न पाउने छैनन् तर यूएईका नागरिक, कूटनीतिक नियोगका कर्मचारी, यूएईका गोल्डेन रेजिडेन्सी होल्डर्सलगायतले भने यूएई जान पाउने जनाइएको छ ।

त्यसैगरी कुवेत सरकारले पनि नेपालसहित चार देशबीच हुने व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कुवेतस्थित नेपाली दूतावासले कुवेतको मन्त्रिपरिषद् निर्णयलाई उद्धृत गर्दै भनेको छ, “नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडानबाहेक सबै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यस्तै यी चार देशबाट यात्रुहरू सीधै कुवेत जान पाउने छैनन् । अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको हुनुपर्नेछ । कुवेतले आप्रवासीको प्रवेशमा लगाएको प्रतिबन्ध भने कायम नै रहनेछ ।

नेपाल सरकारले गत बिहीबार मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र फर्कनेहरू पनि रोकिएका छन् । यस्तै नयाँ श्रम स्वीकृति पनि बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । अनलाइनबाट पुनः श्रम स्वीकृति भने लिन सकिनेछ । अन्तर्राष्ट्रिय उडान बन्द भएपछि करार अवधि सकिएका र घर बिदामा फर्कन टिकट लिएका श्रमिकले टिकटको अवधि सकिन लागेको भन्दै सम्बन्धित देशमा रहेका दूतावाससँग हारगुहार गर्न थालेका छन् । दूतावासका अनुसार टिकट लिएका, रोजगारी गुमाएका र रोजगारीका क्रममा मृत्यु भएका श्रमिकलाई स्वदेश फकिने प्रबन्ध मिलाउने विषयमा छलफल भइरहेको छ ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा हजारौँ नेपाली अलपत्र पर्न थाले पनि कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र निर्देशक समिति (सीसीएमसी)ले उद्धार चार्टरको तयारी नभएको जनाएको छ । 

 गुनासो बढी

बोर्डका निर्देशक दीनबन्धु सुवेदीले अहिले करार अवधि सकिएर आउनुपर्नेबाहेक कोरोनाका कारण विदेशमा समस्यामा परेर उद्धार गर्नुपर्ने अवस्था नरहेकाले पनि उद्धार गर्नुपर्ने समस्या नआएको जानकारी दिनुभयो । बरु अहिले त ती श्रम गन्तव्य देश जानका लागि श्रम स्वीकृति लिई भिसा र टिकटसमेत लिएर विदेश जान पाइएन भन्ने बढी गुनासो आएको उहाँको भनाइ छ ।

Published on: 13 May 2021 | Gorkhapatra

Link

Back to list

;