s

नेपाली कामदार विदेशतिर, विदेशी नेपालमा

तीन खर्ब ६४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ रेमिटेन्स बाहिरियाे

रुद्र खड्का

स्वदेशमा रोजगारी पाइएन भन्दै वर्षौंदेखि ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा गइरहेका छन्। स्वदेशमा पाइने कामका क्षेत्रमा नेपाली युवाको आँखा लागेको छैन। तर तिनै क्षेत्रमा काम गर्न विदेशी नेपाल आउने क्रम बढेको छ। नेपालमा आएर काम गर्ने विदेशीले मनग्यै रेमिटेन्स लैजाने गरेका छन्।

श्रम तथा व्यवसायजन्य विभागका अनुसार आर्थिक वर्ष ०६९/७० यता नेपालमा काम गर्न आउने विदेशीको संख्या बढ्दो छ। आर्थिक वर्र्ष ०६९/७० मा नौ सय ८४ विदेशी रोजगारीका लागि नेपाल आएका थिए। आव ०७५/७६ मा एक हजार नौ सय ८१ विदेशी कामदारले विभागबाट श्रम स्वीकृति लिएका छन्। आव ०७६/७७ मा दुई हजार ५० विदेशी श्रमिकलाई विभागले काम गर्न स्वीकृति दिएको छ। चालु आर्थिक वर्षको साउनयता ६ सय ५२ विदेशीले यस्तो स्वीकृति पाएका छन्।

विभागका महानिर्देशक सनत केसीका अनुसार श्रम नियमवालीमा कुल कर्मचारीको ५ प्रतिशतभन्दा बढी विदेशी राख्न नपाइने प्रावधान राखिएकाले चाहना राखेका सबै आउन नपाएका हुन्। ‘स्वदेशी श्रमिकलाई प्राथमिकता दिन विदेशीको हकमा प्रक्रिया केही झन्झिटलो छ,’ उनले भने, ‘यसका अतिरिक्त हरेक वर्ष रोजगारीका लागि आउने विदेशीको संख्या बढ्दो छ।’

रोजगारीका लागि आएका भारतीयको संख्या जोड्ने हो भने नेपालमा काम गर्ने विदेशीको संख्या निकै ठूलो हुन्छ। तर सन् १९५० को सन्धिलाई देखाउँदै भारतीयले श्रम स्वीकृति लिन नमानेको विभागका अधिकारी बताउँछन्। ‘ऐन, कानुन (श्रम नियमावली २०७५) अनुसार भारतीयले पनि नेपालमा रोजगारी गर्दा श्रम स्वीकृति लिनुपर्ने हो,’ विभागका एक अधिकारीले भने, ‘तर वर्षौंदेखि उनीहरूले श्रम स्वीकृति लिने चलन नभएकाले अहिले पनि बाध्य पार्न सकिएको छैन।’

भारतीयलाई श्रम स्वीकृति लिन बाध्य पारिए भारत सरकारले पनि त्यहाँ रहेका नेपालीलाई कडिकडाउन गर्न सक्ने उनले बताए। श्रम स्वीकृति लिनेसँग विभागले ६ महिनाभन्दा कम अवधि भए १५ हजार र एक वर्षलाई २० हजार रुपैयाँ शुल्क लिन्छ। एक वर्ष पूरा भएपछि पुनः श्रम स्वीकृति नवीकरण गर्नुपर्छ। जुन क्रमलाई सात वर्षसम्म निरन्तरता दिन सकिन्छ। शुल्क तिर्नुपर्ने भएकाले भारतीयले श्रम स्वीकृति लिन नमानेको उनले बताए। बढी पारिश्रमिक पाउनेमध्ये कतिपयले काठमाडौंस्थित भारतीय राजदूताबासबाट पत्र लेखाएर पनि श्रम स्वीकृति नलिने गरेको उनको भनाइ छ।

विभिन्न स्रोतका अनुसार यतिखेर नेपालमा कम्तीमा ६ लाख भारतीयले रोजगारी गरिरहेको अनुमान छ। इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारका अनुसार देशभरिका इँटा उद्योगमा साढे एक लाखभन्दा बढी भारतीयले काम गर्छन्। धेरै भारतीय काम गर्ने अर्को क्षेत्र धातुजन्य उत्पादन र मर्मत हो।

नेपाल वन, पैदावर व्यवसायी महासंघका अध्यक्ष श्याम ढकालका अनुसार काष्ठजन्य उद्योगमा काम गर्ने श्रमिकमा नेपालीभन्दा भारतीय धेरै छन्। देशभरिका काष्ठजन्य उद्योगमा करिब ५० हजारले रोजगारी पाइरहेको अनुमान छ। भारतीय नागरिकले रोजगारी गरिरहेको अर्को ठूलो क्षेत्र निर्माण पनि हो। ग्यास उत्पादन, कपाल तथा दाह्री काट्ने काममा पनि धेरै भारतीयले रोजगारी गरिरहेको अनुमान छ।

देशका सीमावर्ती क्षेत्रका औद्योगिक क्षेत्रमा स्वदेशीभन्दा धेरै भारतीयले काम गर्ने सरकारी अधिकारी बताउँछन्। इँटा उद्योग महासंघका अध्यक्ष चित्रकारका अनुसार भारतबाट रोजगारीका लागि नेपाल आउनेले मासिक कम्तीमा ३० हजार रूपैयाँ पारिश्रमिक पाउँछन्। ‘त्यही काम नेपालीलाई गराउन खोज्दा मान्दैनन्,’ उनले भने, ‘भारतीयले सहजै ठूलो रकम आम्दानी गरिरहेका छन्। नेपाली त्यति रकम कमाउन खाडी मुलुकमा गएर ५० डिग्री तापक्रममा जोतिन्छन्।’

अमेरिकाको वासिङ्टनस्थित पियु रिसर्च सेन्टरको एक अध्ययन अनुसार नेपालबाट सन् २०१७ मा तीन खर्ब ६४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ रेमिटेन्स बाहिरिएको थियो। भारतलगायत मुलुकबाट आउने कामदारले नेपालबाट यो रेमिन्टेन्स लगेका थिए। अहिले विदेशबाट फर्केकाले स्वदेशमै काम गर्दा यही रेमिटेन्स रोक्न सकिन्छ। तर यसका लागि सीप आवश्यक हुन्छ। हामीकहाँ सीप सिक्नुको साटो कोरा किताबी ज्ञानमा रमाउने प्रवृत्ति बढ्दो छ। अब भने देशमै सीप सिक्ने वा विदेशबाट सीप र अनुभव लिएर आएकालाई अवसर दिनुपर्ने आवाज उठेको छ। पछिल्लो समयमा बाहिरिने रेमिटेन्स अझै बढेको अनुमान गर्न सकिन्छ।

नेपाली युवा स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै रोजगारीका लागि खाडी मुलुक र मलेसिया जान्छन्। कोरोना महामारीका कारण अन्तरर्राष्ट्रिय हवाई उडान बन्द हुनुअघिसम्म नेपालबाट रोजगारीका लागि दैनिक औसत एक हजार तीन सय युवा खाडी मुलुक र मलेसिया जान्थे। कोरोना महामारीले गर्दा चैतदेखि नयाँ श्रम स्वीकृति बन्द गरिएपछि खाडी मुलुक र मलेसिया जाने क्रम रोकिएको छ। तर यहीबीचमा रोजगारीका लागि भारत पस्ने क्रम पुनः बढेको छ। हालसम्मको विवरण अनुसार नेपालमा सबैभन्दा बढी श्रम स्वीकृति लिनेमा चिनियाँ धेरै छन्। बेलायत, अमेरिका जस्ता विकसित मुलुकका नागरिकले पनि श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

९१ मुलुकका श्रमिक नेपालमा

नेपालमा रोजगारीका लागि विश्वका ९१ मुलुकका मानिस आएको पाइएको छ। यो तथ्यांक विभागले ०६९/७० देखि विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृति दिन थालेदेखिको हो। त्यसयता करिब १२ हजार विदेशीले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। विभागले आर्थिक वर्ष ०६९/७० मा नौ सय ८४ विदेशीलाई श्रम स्वीकृति दिएको थियो। यस्तै आव ०७०/७१ मा सात सय १९, आव ०७१/७२ मा दुई हजार २३, आव ०७२/७३ मा एक हजार चार सय ७२ विदेशीलाई श्रम स्वीकृति दिइएको छ। यसैगरी आव ०७३/७४ मा एक हजार नौ सय ७२, आव ०७४/७५ मा दुई हजार पाँच सय ७० र आव ०७५/७६ मा एक हजार नौ सय ८१ विदेशीलाई श्रम स्वीकृति दिइएको विभागले जनाएको छ। आव ०७६/७७ मा दुई हजार ५० र चालु आवको साउनयता ६ सय ५२ विदेशी श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

विभागका अधिकारी ठूला परियोजनामा आवश्यकताका आधारमा मात्रै विदेशीलाई श्रम स्वीकृति दिने गरिएको बताउँछन्। एक अधिकारीले भने, ‘नेपालमा परियोजना अनुसार दक्ष कामदार नपाएमा मात्रै विदेशीलाई श्रम स्वीकृति दिने गरिएको छ।’ यस्ता काममा नेपाल सरकारले सकेसम्म आफ्नै नागरिकलाई नै मौका दिन खोजे पनि अधिकांशले विदेश रोज्ने गरेको र सीप वृद्धिमा पनि ध्यान नदिएको अधिकारीहरू बताउँछन्। हाल हरेक वर्ष रोजगारीका लागि बिदेसिने करिब पाँच लाख युवामध्ये ७४ प्रतिशत अदक्ष भएको केन्द्रीय तथ्यांक विभागको तथ्यांकमा उल्लेख छ। सम्बन्धित काममा दक्ष भएर वैदेशिक रोजगारीमा जाने दुई प्रतिशत मात्र रहेको विभागले जनाएको छ। वर्षौंदेखि युवालाई सीप सिकाउने तालिमका नाममा ठूलो रकम खर्च हुँदै आए पनि स्वदेश र विदेशमा काम गर्ने नेपाली दक्ष बन्न सकेका छैनन्। विदेशबाट दक्ष जनशक्ति आपूर्ति गर्नुपर्दा धेरै पारिश्रमिक दिनुपर्ने तर विदेशमा सीप नसिकेर जाँदा नेपालीले थोरै पारिश्रमिक पाउने गरेका छन्।

स्वदेशी रोजगारीमा किन छैन चासो ?

१० वर्षदेखि रोजगारीका लागि विभिन्न मुलुक जाने गरेका काभ्रेका उमेश केसी स्वदेशको रोजगारीप्रति धेरै युवाको चासो नहुनुमा काम गर्ने संस्कृतिलाई दोष दिन्छन्। ‘म १० वर्षदेखि कहिले कतार कहिले साउदी अरेबिया त कहिले मलेसिया आउने÷जाने गरेको छु,’ उनले भने, ‘विदेशमा मैले जुनसुकै काम गरे पनि कसैलाई मतलब हुँदैन। तर नेपालमा त्यही काम गर्दा नानाथरीका हल्लाखल्ला हुन्छ।’

मलेसियाबाट अघिल्लो साता घर फर्किएका बाँके, खजुराका कृष्ण राना नेपाली उद्योगी, व्यवसायीको तुलनामा विदेशका रोजगारदाता बढी व्यावसायिक र इमानदार हुँदा काम गर्न सहज हुने बताउँछन्। ‘कोरोना महामारीकै बेला विदेशमा काम गर्ने धेरैले सम्झौताअनुसारको काम र पारिश्रमिक पाए तर नेपालमा नाफा घट्नेबित्तिकै अनेक बहाना गरियो,’ उनले भने, ‘नाफा हुँदा एक्लै कुम्ल्याउने घाटा हुँदा श्रमिकले सेयर गर्नुपर्छ भन्ने सोचले पनि नेपाली रोजगारदाताको समग्र चरित्र प्रस्ट हुन्छ।’ काम गर्ने संस्कृति, रोजगारदाताको व्यवहार, न्यून पारिश्रमिक तथा विदेशको रमझमले युवाको विदेश मोह बढ्न गरेको अधिकांशको भनाइ छ।

स्वदेशमा अवसर नपाएको भन्दै हालसम्म करिब ४८ लाख नेपाली श्रम स्वीकृति लिएर विभिन्न मुलुक गएको वैदेशिक रोजगार विभागले जनाएको छ। भारत जानेको संख्या जोड्ने हो भने वैदेशिक रोजगारीमा नेपालीको ठूलो संख्या रहेको प्रस्ट हुन्छ। तर सरकारी निकायसँग भारतमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक छैन।

Published on: 19 October 2020 | Nagarik

Link

Back to list

;