s

नेपाली दूतावासले युएईबाट हुने उद्दार उडान सहज बनायो

रामकुमार परियार 

कोभिड १९ को विश्वव्यापी महामारीका कारण युएईबाट घर फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरुले अब पुर्वनिर्धारित चार्टर फ्लाईटहरुमा आफुले चाहेको मिति र एयरलाईन्स मार्फत घर फर्किन पाउने भएका छन्।

फारम भरेर घर फर्कन तयार भएर बसेका नेपालीहरुको सहजताका लागि अबुधाबी स्थित नेपाली दूतावासले यस्तो व्यवस्था लागू गरेको हो। उद्दार उडानका लागि तय गरिएका नेपाल एयरलाईन्स , हिमालय एयरलाईन्स , एयर अरेबिया र फ्लाई दुबईका बाँकी उडानहरुमा अब यात्रुले आफुलाई पायक पर्ने मिति र एयरलाईन्सको टिकट बुक गर्न सक्नेछन्। यसका लागि दूतावासले ४ हजार १ सय १० जना यात्रुको एकीकृत नामावली प्रकाशन गरिसकेको छ भने बाँकी यात्रुको नाम पछि सार्वजनिक गर्ने बताईएको छ। यसअघि दूतावासले अलगअलग एयरलाईन्सका लागि अलगअलग नामावली प्रकाशन गर्ने गरेको थियो। 

जुन १८ देखि शुरु भएको उद्दार उडानमा अहिलेसम्म ६ वटा उडान संपन्न भईसकेको छ। हिमालय एयरलाईन्सले आज र भोलि अबुधाबीबाट २ उडान भर्दैछ। यस्तै २५ जुनमा फ्लाई दुबईले उडान भर्दैछ भने एयर अरेबिया र फ्लाई दुबईको दुई उडानको मिति तय हुन बाँकी रहेको दूतावासले जनाएको छ।  

उद्दार उडान शुरु भएयता नेपाल एयरलाईन्स  मार्फत ४११ जना , हिमालय एयरलाईन्स मार्फत १५१ जना, फ्लाई दुबई मार्फत १८९ जना र एयर अरेबिया मार्फत ५०१ जना गरि युएईबाट आजसम्म तीन शिशु सहित १ हजार २ सय ५२ जना नेपाली स्वदेश फर्किसकेका छन्। जसमा २ जनाको शव समेत रहेको छ। 

घर फर्कन चाहने नेपालीहरुको विवरण संकलन गर्न दूतावासले अप्रिल २८ देखि खुलाएको फारम भर्नेहरुको संख्या ३० हजार नाघिसकेको दूतावासले जनाएको छ।

Published on: 23 June 2020 | Nagarik

Link

Back to list

;