s

अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र

काठमाडौँ — विदेश पढ्न जान चाहने विद्यार्थीले अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइनबाटै आवेदन दिने र एनओसी प्राप्त गर्ने व्यवस्था गरेको हो । यसअघि मन्त्रालयको केशरमहलस्थित वैदेशिक अनुमति शाखामा पुगेर आवेदन दिनुपर्ने व्यवस्था थियो । कोरोना संक्रमण र लकडाउनका कारण एनओसी दिन रोक लगाइएको थियो । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई अनुमति दिने निर्णय गरेपछि मन्त्रालयले अनलाइन आवेदन दिने व्यवस्था गरेको हो ।

एनओसी लिन चाहने विद्यार्थीले मन्त्रालयको तोकेको वेबसाइट मार्फत आवेदन दिन सक्ने सहप्रवक्ता दिव्या दवाडीले बताइन् । उनका अनुसार आवेदन स्वीकृत भए नभएको बारे पनि विद्यार्थीलाई अनलाइनबाटै जानकारी दिइने छ ।

आवेदन स्वीकृत भए विद्यार्थीले तोकिएको बैंकमा दस्तुर जम्मा गर्नुपर्नेछ । ‘आवेदकलाई एनओसी लिने मिति इमेल मार्फत जानकारी गराइनेछ,’ उनले भनिन् । अनुमति पत्र लिन भने विद्यार्थी शाखामा उपस्थित हुनुपर्नेछ । अनलाइन आवेदनका कारण विद्यार्थी पटक/पटक शाखामा धाउनु पर्ने बाध्यताबाट मुक्त हुने विश्वास गरिएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गरी शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनलाइन पद्धतिको सुरुवात गरेको जनाएको छ । गत आर्थिक वर्षमा ६३ हजार विद्यार्थीले विदेश अध्ययन गर्न जान अनुमति लिएका थिए । सबैभन्दा बढी अस्ट्रेलिया जानका लागि अनुमति लिइएको छ ।

Published on: 17 July 2020 | Kantipur

Link

Back to list

;