s

पहिलो चरणमा नर्सिङ केयरगिभर

जापान रोजगारीका लागि पहिलो चरणमा नर्सिङ केयरगिभर जान पाउने भएका छन्। १४ क्षेत्रका लागि कामदार लैजाने निर्णण गरेको जापानले पहिलो चरणमा नर्सिङ केयरगिभर लैजाने तयारी गरेको हो। नर्सिङ केयरगिभरका लागि अक्टोबर २७, २८ र २९ गते जापानी भाषाको परीक्षा मिति तोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। अघिल्लो वर्ष जापानको मन्त्रिमण्डलले नेपाललगायत विभिन्न नौ मुलुकबाट १४ क्षेत्रमा काम गर्ने श्रमिक आपूर्ति गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार नेपाल जापानका रोजगारदाताका लागि श्रमिक आपूर्ति गर्ने सूचीमा परेको हो। जापानले आउँदो पाँच वर्षसम्म सूचीकृत नौ मुलुकबाट करिब साढे तीन लाख श्रमिक लैजाने घोषणा गरेको छ। नेपालबाट कति लैजाने भन्नेबारे निर्णय नभएको बताइएको छ।

नेपालबाट नर्सिङ केयर जापान पठाउन जापान फाउन्डेसनले काम गरिरहेको मन्त्रालयका उपसचिव दीपक ढकालले बताए। ‘श्रमिक जापान पठाउने काममा मन्त्रालयको खासै भूमिका छैन,’ उनले भने, ‘सबै काम जापान फाउण्डेसनले गर्ने हो।’ जापानको मन्त्रिमण्डलले नेपाललाई श्रमिक आपूर्तिकर्ताको सूचीमा समावेश गरेपछि गत चैत ११ मा नेपाल र जापानबीच शून्य लागतमा कामदार पठाउने सम्झौता भएको थियो। सोही सम्झौताअनुसार पहिलो चरणमा केयरगिभरका लागि नर्सिङ केयर लैजान परीक्षा हुन थालेको हो। जसका लागि महिला र पुरुषले प्रतिस्पर्धा गर्न पाउनेछन्।

परीक्षाको मिति तय गरिए पनि संख्या भने यकिन गरिएको छैन। मन्त्रालय स्रोतका अनुसार पहिलोपटक एक हजार हाराहारीमा नर्सिङ केयर जापान जान सक्छन्। नर्सिङ केयरगिभरमा जान चाहनेले जापानी भाषा र सीप मूल्यांकन परीक्षा दिनुपर्छ। नर्सिङ केयरगिभरका लागि शैक्षिक योग्यता भने तोकिएको छैन। छनोटमा पर्न ६० मिनेटको सीप परीक्षा र ४५ प्रश्नमा उत्तीर्ण हुनुपर्छ। परीक्षा कम्प्युटरबाट लिने तयारी छ। नेपालले लामो समयदेखि युवालाई रोजगारीका लागि जापान पठाउने प्रयास गरे पनि सफल हुन सकेको थिएन। जापान सरकारले नेपाललाई कामदार आपूर्ति गर्ने सूचीमा समावेश गरेपछि जापान रोजगारीको ढोका खुलेको हो।पारिश्रमिक र बसाइको दृष्टिकोणले जापान रोजगारी निकै आकर्षक मानिन्छ। हाल सरकारले श्रम स्वीकृतिका लागि खुला गरेका विश्वका एक सय आठ (दुई बन्द) मुलुकमध्ये जापान रोजगारी सबभन्दा राम्रो हुने बुझाइ छ।

सरकारले राम्रा गन्तव्य खोल्न नसक्दा वैदेशिक रोजगारीमा जाने करिब ९५ प्रतिशत युवा खाडी मुलुक र मलेसिया जान बाध्य छन्। पछिल्ला १६ महिना मन्त्रालयले मलेसिया बन्द गर्दा अधिकांश युवा खाडी मुलुक जान बाध्य भए। अघिल्लो सातादेखि मलेसिया सुरु गरिएको छ।अहिले युवाको प्राथमिकतामा परेका गन्तव्यमा दक्षिण कोरिया र इजरायल हुन्। तर ती दुवै गन्तव्यमा जान सजिलो छैन। कोरिया जान भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ। भाषा परीक्षामा हजारौं प्रतिस्पर्धी हुन्छन्। त्यस्तै, इजरायल रोजगारी सरकारको समन्वय अभावमा अलमल परिरहेको छ। इजरायले नेपालबाट केयरगिभर लैजान खोजे पनि एक वर्षयता बन्द गरिएको छ। वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईं बन्द भएको इजरायल खुलाउन कुनै प्रगति नभएको बताउँछन्। तीन वर्षअघि इजरायलले नेपालबाट तीन सय केयरगिभर लैजान प्रक्रिया सुरु गरेको थियो। दुई चरणमा ९५ जना पठाइसकेपछि पठाउन रोकिएको छ।

राम्रा गन्तव्यमा कामदार पठाउने माहोल बन्न नसक्दा वर्षौंदेखि राज्यले ठूलो सम्भाव्य रेमिटेन्स गुमाइरहेको छ। आर्थिक वर्ष ०७५÷७६ मा करिब पाँच लाख युवा वैदेशिक रोजगारीमा जाँदा आठ खर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। हाल वैदेशिक रोजगारीमा गइरहेका युवा संख्याको आधारमा रेमिटेन्स बढी हुनुपर्ने धेरैको भनाइ छ। खाडी मुलुक जाने युवाको औसत मासिक पारिश्रमिक ३० हजार रुपैयाँ हुने गर्छ।

Published on: 20 September 2019 | Nagarik

Back to list

;