s

कतारको क्‍वारेन्टाइनमा ८ दिन ‘अहिलेसम्म राम्रो छ, भोलि के हुन्छ, के थाहा ?’

‘घण्टा–घण्टामा परिवारसँग भिडियो कल भइरहेको छ । उनीहरु ख्याल गर्नु भन्छन् । मैले पनि तनाव लिएको छैन ।’

काठमाडौँ — कतारको सनैयास्थित आप्रवासी कामदार बस्ने क्याम्प परिसरमा बस्ने दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि कतार सरकारले उक्त क्याम्प परिसर र आसपासको क्षेत्रलाई ‘लकडाउन’ गरेको छ । त्यहाँको एउटा क्याम्पमा क्वारेन्टाइनमा बसिरहेका महोत्तरीका रितेश मण्डलले आफ्नो आठ दिनको अनुभव यसरी सुनाए :

अहिले म कतारको सनैयास्थित २३ नम्बरमा रहेको आफ्नै क्याम्पभित्र क्वारेन्टाइनमा बसिरहेको छु । यहाँ बसेको बिहीबार आठ दिन पुग्यो । एउटै परिसरभित्र रहेका आठवटा क्याम्पमा कम्तीमा एक हजार नेपाली होलान् । उनीहरू विभिन्न कम्पनीमातहत काम गर्छन् । धेरैलाई कम्पनीले भवन भाडामा लिएर राखेका छन् ।

मध्यमस्तरका कामदार आफैंले भाडामा लिएका छन् । म बसेको भवन कामदारले भाडामा लिएका हुन् । विभिन्न कम्पनीमा काम गर्ने र मन मिल्ने साथीहरू मिलेर बस्दा कम्पनीले कोठाका लागि दिएको खर्च जोगिन्छ । मेरो कोठामा अरू चार जना छन् । सबै अलग–अलग कम्पनीमा काम गर्छौं ।

हाम्रो परिसरको भवन नम्बर ५ मा बस्ने दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरू कुन देशका हुन् भन्ने यकिन छैन । त्यसपछि त्यो परिसरभित्र रहेका सबै क्याम्पमा बस्नेलाई क्वारेन्टाइनमा राखिएको हो । मंगलबारसम्म परिसरबाट बाहिर निस्कन दिइएको थिएन । मूलगेटमै सुरक्षाकर्मी र स्वास्थ्यकर्मी बसेका थिए ।

एउटा भवनबाट अर्को भवनका मान्छेलाई भेट्न पनि रोक लगाइएको थियो । मंगलबारबाट भने सनैयाको सडक नम्बर १ को उत्तरदेखि सडक नम्बर ३२ को दक्षिण भागसम्म र सनैयाको मुख्य सडकको पूर्वभागदेखि पानी ट्यांकीको पश्चिम भागसम्मको चौघेरालाई सिल गरिएको छ । बाहिरी व्यक्तिलाई भित्र छिर्न र भित्रको मान्छेलाई बाहिर निस्कन दिइएको छैन । पूरै सुरक्षाकर्मीको घेरामा राखिएको छ ।

हामीलाई भने हाम्रो परिसरबाट निर्धारित घेराभित्र निस्कन दिइएको छ । त्यहाँ पसल पनि छ । सामान किन्न छुट पाएका छौं । बन्द कोठाबाट तोकिएको क्षेत्रभित्र निस्कन पाएपछि राहत मिलेको छ । पाँच दिन कोठाबाट निस्कन नपाउँदा निस्सासिएजस्तो भएको थियो । साथीभाइसँग भेटघाट गरिराख्ने, हिँडडुलमा रमाइराख्ने मान्छेलाई कोठाभित्र बस्न गाह्रो हुँदोरहेछ ।

हाम्रा लागि खाना हमाद अस्पतालबाट ल्याउने गरिएको छ । बिहान ७.३० देखि ८ बजेभित्र नास्ता दिइन्छ, जसमा रोटी, जाम, दाल, खबुज र जुस र पानी हुन्छ । मध्याह्न १२.३० देखि १ बजेभित्र लन्च दिइन्छ, जसमा चामल, दाल, चिकेन (कहिले माछा), जुस र पानी हुन्छ । राति ८ बजे खबुज, जाम, दाल, जुस र पानी दिइन्छ । अहिले म आफैं पकाएर खान्छु । अस्पतालबाट आउने खानास्वादिलो हुँदैन ।

नियमित स्वास्थ्य परीक्षण भइरहेको छ । कसैलाई ज्वरो आएपछि अस्पताल लगिहाल्छन् । नत्र सामान्य रूपमा कोठामै राख्छन् । मलाई आज (बिहीबार) बिहान क्याम्पमा ज्वरो नाप्दा ३९ डिग्री सेन्टिग्रेड देखियो । हामी पाँच जनालाई हमाद अस्पतालको बसमा राखेर एसिनयन टाउनको क्रिकेट मैदानमा लगियो । त्यहाँ सनैयामा रहेका कामदारलाई पहिलो जाँच गरिँदो रहेछ । त्यहाँ जाँच गर्दा ज्वरो देखिएन ।

मेरो घाँटी र नाकको जाँच गरियो । नेपाली नर्सले नै जाँच गरेका थिए । दुई दिनपछि स्वास्थ्य रिपोर्ट आउने भएपछि क्याम्पमै फर्काइयो । हमाद अस्पतालको उपचार पद्धति अन्तर्राष्ट्रियस्तरको छ । म पहिला पनि १४ दिन फेसिएल प्यारालाइसिस हुँदा बसेको थिएँ ।

यो अनलाइनको दुनियाँ हो । घण्टा–घण्टामा परिवारसँग भिडियो कल भइरहेको छ । गाउँमा बुबा, आमा, पत्नी, दुई छोरा र तीन छोरी छन् । ठूली छोरीले १२ कक्षा पास गरेपछि विवाह गरिदिएँ । अरू सानै छन् । बच्चाहरू ८, ६, ३ र १ कक्षामा पढिरहेका छन् । उनीहरूको पढाइ पूरा नभएसम्म कतार छोड्ने कुरा भएन । म क्वारेन्टाइनमा बसिरहेको कुरा परिवार सबैलाई थाहा छ । मैले कुनै कुरा लुकाएर राखेको छैन । जस्तो छ, त्यस्तै बताइदिएको छु । उनीहरू ख्याल गर्नु भन्छन् । मैले पनि तनाव लिएको छैन । अहिलेसम्म सबै नतिजा राम्रै छ, भोलि के हुन्छ, के थाहा ?

मैले सकेसम्म सुरक्षाको सबै उपाय लागू गरेको छु । के गर्नुपर्छ, के गर्नुहुन्न भनेर कतारको उर्दू रेडियो र नेपालको मिडियाबाट जानकारी लिइरहेको छु । क्याम्पभित्र बस्दा पनि अरू कोठामा गएको छैन । बेलाबेला साबुन पानीले हात धोइरहेको छु । कोठामा बस्दा सबैले मास्क लगाउँछौं । दुईवटा कपडाको मास्क किनेको छु । पालैपालो प्रयोग गर्छु । हामीलाई मास्क दिइएको छैन । बाहिरचाहिँ बाँडिरहेको देख्छु । भीडभाड हुने भएकाले लिनगएको छैन ।

कम्पनीले आत्तिनुपर्दैन भनेको छ । ड्युटीको तनाव लिनुपर्दैन भनेर प्रोजेक्ट म्यानेजरले फोन गरिरहन्छ । जबसम्म नर्मल हुँदैन तबसम्म आउनुपर्दैन भनेपछि ढुक्क छ । जति दिन बन्द हुन्छ, त्यतिन्जेलसम्मको तलब कम्पनीले दिनुपर्छ भनेर सरकारी अधिकारीले हामीलाई भनिरहेका छन् तर कम्पनीले यसबारे केही भनेको छैन । हाम्रो कम्पनीले दिन्छ होला जस्तो लाग्छ ।

Published on: 20 March 2020 | Kantipur

Link

Back to list

;