s

रेमिट्यान्समा देखिएन कोरोना असर

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ को कारण ठूलो परिमाणले रेमिट्यान्स घट्ने प्रक्षेपण गरिएको भए पनि चालु आर्थिक वर्षको तीन महिनासम्म त्यसको असर देखिएको छैन । बुधबार सार्वजनिक राष्ट्र बैंकको मासिक प्रतिवेदनले गत असोजसम्म रेमिट्यान्स साढे १२ प्रतिशतले बढेको देखाएको छ । गत साउनमा रेमिट्यान्स २३ प्रतिशत र भदौमा ८ प्रतिशतले बढेको थियो । 

प्रतिवेदनका अनुसार रोजगारीका लागि विदेशिएका नेपालीले गत असोजसम्म २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ पठाएका छन् । गत आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्स ५.१ प्रतिशतले घटेर २ खर्ब २९ अर्ब ८६ करोड रुपैयाँ मुलुक भित्रिएको थियो । ‘सो अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स ६.७ प्रतिशतले बढेर २ अर्ब १८ करोड पुगेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो ।’ गत साउनमा ९३ अर्ब, भदौमा ७३ अर्ब र असोजमा ९३ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । साउनको तुलनामा भदौमा रेमिट्यान्स केही घटे पनि असोजमा बढेको छ । यसले पनि रेमिट्यान्समा कोभिड–१९ को असर नपरेको पुष्टि हुन्छ । 

नेपालमा लकडाउन सुरु भएको महिना गत चैतमा ३४ अर्ब रुपैयाँ रेमिट्यान्स आयो । यसलाई कोभिड–१९ को असरसँग जोडेर हेरियो । किनकि गत फागुनमा करिब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । तर, त्यसपछिका महिनामा रेमिट्यान्स बढ्न थाल्यो । जसअनुसार वैशाखमा ५३ अर्ब, जेठमा ९४ अर्ब र असारमा १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो । तेल उत्पादन गर्ने राष्ट्र र खाडी मुलुकको अर्थतन्त्रमा अपेक्षित रूपले गिरावट नआएको, तुलनात्मक रूपमा ती राष्ट्रका उत्पादनमूलक क्षेत्रमा कोभिडको असर कम देखिएकाले नेपाल भित्रिने रेमिट्यान्स न्यून प्रभावित भएको राष्ट्र बैंकले बताउँदै आएको छ । ‘दसैं र तिहारको कारणले पनि गत असोजमा रेमिट्यान्स बढेको देखिन्छ,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘लकडाउनका कारण विदेशबाट जिन्सी आउन कम भएको छ । यसको सकारात्मक प्रभाव रेमिट्यान्समा देखियो ।’

तरकारीको मूल्य २३ प्रतिशतले बढ्यो

वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर गत असोजमा ३.७९ प्रतिशत छ । गत आवको असोजको तुलनामा चालु आवको सोही अवधिको मूल्य वृद्धिदर २.४२ प्रतिशत विन्दुले कम हो । गत आवको असोजमा यस्तो मूल्य वृद्धिदर ६.२१ प्रतिशत थियो । गत असोजमा मूल्यवृद्धिदर कम देखिए पनि खाद्य तथा पेय समूह, तरकारी, दाललगायतको मूल्य वृद्धिदर उच्च रहेको प्रतिवेदनले देखाएको छ । ‘गत असोजमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ५.५० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको २.४६ प्रतिशत छ,’ प्रतिवेदनमा उल्लेख छ । ०७६ असोजको तुलनामा गत असोजमा तरकारी उपसमूहको मूल्यवृद्धि २३.१० प्रतिशत र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि १३.८६ प्रतिशत छ । तरकारी तथा दालजन्य वस्तुको मूल्य बढे पनि अन्य धेरै वस्तुको मूल्य घटेकाले समग्र मूल्य वृद्धिदर कम देखिएको बताइएको छ । 

चालु आय र व्ययको हिसाब देखाउने चालु खाता गत असोजमा करिब ३४ अर्ब ३६ करोड रुपैयाँले बचतमा छ । ०७३ मंसिरयता गत साउनदेखि यो खाता बचतमा रहेको हो । गत वर्षको असोजमा २२ अर्ब ४७ करोडले घाटामा थियो । ०७३ मंसिरयता गत असारसम्म यो खाता निरन्तर घाटामा थियो । 

१ खर्बले शोधनान्तर बचतमा 

चालु आर्थिक वर्षको तीन महिनामा अर्थतन्त्र (शोधानान्तर) १ खर्ब १ अर्ब ९ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ३४ करोडले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो आर्थिक वर्षको असोजमा १२ करोड ७८ लाखले बचतमा रहेकोमा चालु आवको सोही अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको प्रतिवेदनले देखाएको छ । सरकारले लकडाउन सुरु गरेदेखि शोधनान्तर बढ्न थालेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा आयात घटेको, रेमिट्यान्स आप्रवाह बढेको, सरकारको बाह्य ऋण बढेको लगायत कारण शोधनान्तरमा राम्रो सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ । 

थुप्रियो विदेशी मुद्रा

गत असोजसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो ४.९ प्रतिशतको वृद्धि हो । गत असारमा यो १४ खर्ब १ अर्ब रुपैयाँ थियो । तीन महिनामा अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति बढेको छ । २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा गत असोजमा १२ अर्ब ५५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोजसम्मको विदेशी विनिमय सञ्चितिले मुलुकका लागि १४.१ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने राष्ट्र बैंकले दाबी गरेको छ ।

Published on: 26 November 2020 | Kantipur

Link

Back to list

;