s

सरकार–‘गाडीसाहु’को जुहारीमा यातायात मजदुर, गुजारा गर्नै धौधौ

कोरोना संक्रमण फैलँदै गएपछि गरिएको लकडाउनसँगै बन्द भएका सार्वजनिक सवारीसाधन करिब चार महिनापछि सञ्चालनामा आएका छन् ।

सधैँ चलायमान भइरहने सार्वजनिक सवारीसाधन एकाएक कोरोना भाइरसका कारण देश लकडाउनमा गएसँगै ग्यारेजमै थन्किने अवस्था आयो । जसका कारण दैनिक कमाएर परिवार पाल्दै आएका चालक, सहचालकसहित यस उद्योगसँग जोडिएका लाखौँ मजदुरको चुलोमा आगो बल्न धौधौ बन्यो ।

चार महिनापछि सरकारले सार्वजनिक सवारीसाधन खुला गर्ने निर्णय गरिसकेको छ । तर, सरकार र यातायात व्यवसायीको खिचातानीका कारण सार्वजनिक सवारीसाधन पूर्णतया सञ्चालनमा आउन भने सकेका छैनन् ।

चार महिनापछि सरकारले ५० प्रतिशत भाडा बढाएर सार्वजनिक सवारीसाधन सञ्चालन गर्नका लागि अनुमति दिए पनि सार्वजनिक सवारीसाधन हाँक्ने चालक तथा सहचालक भने खुसी देखिएका छैनन् ।

खासगरी काठमाडौं उपत्यकामा भेडाबाख्रा खाँदे जसरी मान्छे कोच्दै सवारीसाधन दौडाउने चालक, सहचालकहरू अहिले यात्रु खोज्दा हैरान छन् ।

दुई वर्षअघिदेखि संयुक्त यातायात सञ्चालन गर्दै आएका नुवाकोटका रेशम दरायली लकडाउन भएपछि आफ्नो घर नुवाकोट फर्किए ।

तर, त्यहाँ पनि आम्दानीको बाटो नभएपछि घरखर्च टार्न निकै सास्ती भएको उनी बताउँछन् ।

‘आउने आम्दानीको स्रोत भनेकै गाडी हाँकेर कमाउनु थियो, तर तीन महिना निकै सास्ती र खेप्न बाध्य भयौँ, यस्तो दिन कहिल्यै नआओस्,’ उनी भन्छन् ।

सवारीसाधन खुल्ने हल्ला चलेपछि साहुले उनलाई काठमाडौं झिकाए, चार महिनापछि सोमबार सार्वजनिक सवारीसाधन चलाए ।

लामो समयपछि गाडी सञ्चालन गर्न पाउँदाको उनको खुसी अर्कै थियो । तर, उनको खुसी भने धेरैबेर टिकेन ।

‘बिहानदेखि चक्रपथ परिक्रमा गरेको मान्छे नै छैनन्, तेल हाल्न पनि नपुग्ने अवस्था छ कसरी परिवार पाल्नु ?’ उनी भन्छन्, ‘भाडा बढेर मात्र नहुने रहेछ, साहुलाई कति तिर्ने, चालक, सहचालकले कति खाने, खान पनि पऱ्याे, तेल हाल्न पनि धौधौको अवस्था छ ।’

बिहान सात बजेदेखि बस हाँकेका उनले दिनभर बेलुका ४ बजेसम्ममा मुस्किलले सात सय रुपैयाँ संकलन गर्न सकेको सहचालक सुनिल तामाङले बताए ।

‘डर पनि लाग्छ कतै भाइरस सर्छ कि भनेर, हरेकसित मुख जुधाएर भाडा माग्नुपर्छ, तर यतिपछि खुलेको छ, पेटभन्दा ठूलो भाइरस होइन नि ।’

अझै अन्योलमा व्यवसायी

सार्वजनिक सवारीसाधन खोल्ने वा कसरी कुन मोडालिटीमा खोल्ने स्पष्ट गर्न नसक्दा अहिले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने–नगर्नेबारे अन्याेल छाएको छ ।

सरकारले आफूहरूले अघि सारेको माग पूरा नभएकाले सवारीसाधन चलाउन नसक्ने भन्दै यातायात व्यवसायी तयार देखिएका छैनन् ।

अन्योलकै बीचमा केही यातायात व्यवसायीहरूले भने सवारीसाधन चलाउन थालेका छन् भने अधिकांशले ग्यारेजमा नै थन्क्याएर राखेका छन् ।

‘सरकारसँग माग राखेका छौँ, तर सरकार त्यति गम्भीर भने देखिँदैन । अब सवारीसाधन पनि सञ्चालन नगरीकन उपाय पनि छैन, यत्तिका दिन बसेको गाडी छ अन्योलमा छौँ, साथीहरू छलफलमा जुट्नुभएको त छ अब नचलाई उपाय पनि छैन,’ एक यातायात व्यवसायीले भने ।

नेपाल यातयात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला भने माग पूरा नभईकन सार्वजनिक सवारीसाधन खोल्न नसकिने अडान दोहोऱ्याए ।

यातयात व्यवस्था विभागले भने व्यवसायीहरूको माग पूरा भइसकेको भन्दै यातायात सञ्चालन गर्न व्यवसायी अघि बढ्नुपर्ने बताएको छ ।

सरकारले अहिलको परिस्थितिलाई बुझेरै सवारीसाधनको भाडा बढाएकाले त्यहाँभन्दा बढी जान नसकिने विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन् ।

लागू भएन विभागले बनाएको कार्यविधि

यातयात व्यवस्था विभागले सरकारले सार्वजनिक सवारीसाधन खोल्नुभन्दा एक महिनाअघि कोरोना भाइरसको संक्रमण कम गर्नका लागि बनाएको सार्वजनिक सवारीसाधनसम्बन्धीको कार्यविधि अहिले थारै संख्यामा चलेको सवारीसाधनमा पनि लागू हुन सकेको छैन ।

विभागले बनाएको कार्यविधिअनुसार हरेक सवारीसाधनमा भौतिक दूरी कायम हुनुपर्ने, एक सिट छोडेर बस्नुपर्ने, मास्क, पन्जा अनिवार्य लगाएको हुनुपर्ने, बसमा अनिवार्य स्यानिटाइरको प्रयोग गरिनुपर्ने उल्लेख छ । तर, अहिले केही सीमित मात्रामा चलेको सवारीसाधनमा समेत यी नियम लागू हुन सकेको छैन ।

विभागले भने पूर्ण रूपमा सवारीसाधन सञ्चालनमा आउने भएपछि त्यसको कडाइका साथ अनुगमन गर्ने बताएको छ ।

Published on: 16 July 2020 | Naya Patrika

Link

Back to list

;