s

साउदी अरबले म्याद सकिएका आवासीय भिसाको समय तीन महिना थप्यो

काठमाडौँ — साउदी अरबले म्याद सकिएका आवासीय भिसाको समय तीन महिना थपिदिएको छ । यसले आवासीय भिसाको म्याद समाप्त भएका कामदार गैरकानुनी हैसियत हुनबाट जोगिएका छन् ।

साउदी अरबको राहदानी विभाग (जवाजत)का अनुसार राजकीय निर्णयअनुसार कामदारको भिसाको म्याद थपिएको हो । यसको लागि कामदार वा रोजगारदाताले थप शुल्क बुझाउनुपर्ने छैन । भिसाको समय थप गर्नका लागि जवाजतमा गई आवेदन दिइराख्नु पर्ने छैन ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भिसाको म्याद समाप्त भएका कामदारले कानुनी हैसियत पाएको बताए । ‘भिसाको म्याद समाप्त भएकाहरुको हकमा के हुन्छ भन्ने चिन्ता थियो । सयौं नेपालीले दूतावासमा सम्पर्क गरिरहेका थिए,’ उनले भने,‘कामदारले अब भिसाका विषयमा चिन्ता लिनुपरेन ।’

बिदामा नेपालमा आएका कामदारको पनि भिसाको म्याद आफै थपिएको छ । नेपालमा रहँदा भिसाको म्याद समाप्त भए पनि हवाई उडान खुलेपछि उनीहरुले भिसालाई प्रयोग गर्न पाइने साउदीको राहदानी विभागले जनाएको छ ।

Published on: 16 July 2020 | Kantipur

Link

Back to list

;