s

साउदीबाट उडे २७ सय अलपत्र नेपाली

विष्णु घिमिरे

 

साउदी : साउदी अरेबियामा कोभिड १९ भाइरसको प्रभावबाट अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने संख्या बढ्दो छ। हालसम्म  २७ सय २ जना स्वदेश फिर्ता भएका छन् । स्वदेश फिर्ताको लागि अनलाइन र टेलिफोनबाट लगभग २५ हजारभन्दा बढीले फारम भरेका छन् ।

साउदी अरेबिया स्थित नेपाली दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाले कोभिड १९ को प्रभावबाट अलपत्र परी स्वदेश फिर्ता हुने  ६ हजार ५ सय ७७ जना नेपालीको नामावली सार्वजनिक गरेको छ। स्वदेश फिर्ता हुने नेपालीको संख्या बढेको आधारमा  साउदीबाट नेपालको लागि चार्टर उडान पनि बढेको छ ।

नेपाल एरलाइनसले साउदीको रियाद, जेद्धा र दमाम शहरबाट उडान सुरु गरेको छ भने हिमाल एरलाइनसले दमाम शहरबाट आफ्नो उडान सुरु गर्दै आएको छ । साथै मृत्यु भएका नेपालीको शव पनि चार्टर उडानबाट स्वदेश फिर्ता  हुन थालेका छन् । हालसम्म  मृत्यु भएका १५० मध्ये  ३८  शव स्वदेश फिर्ता भएका  छन् ।

साउदीमा दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दो छ । साउदी स्थित नेपाली राजदुतावासका  राजदुत डा महेन्द्र राजपूत सिंहले कोरोनाबाट मृत्यु भएका परिवार र कोरोना सहयोग कोषका लागि नेपाली  १ लाख रूपैयाँभन्दा बढी सहयोग गरेका छन् भने लामो समयदेखि दुतावास सेल्टरमा रहेकी १ महिलालाई अमर सापकोटाको नेतृत्वमा संस्थागत रूपमा हवाइ टिकट उपलब्ध भएको थियो । साथै कोरोना भाइरसबाट प्रभावित भएर पीडित बनेका नेपालीलाई साउदीमा रहेका भातृसंगठन एन आर एन लगायत विभिन्न सामाजिक संघसंस्थाले खाधान्य लगाएत सहयोग गर्दै आएका छन् ।

साउदी सरकारले थप ६९ जना नेपालीको लागि बहिर्गमन भिषा जारी गरेको छ भने हालसम्म बहिगर्मन भिषा पाउने नेपालीको संख्या २ सय ४  पुगेको छ  । साउदीमा कोरोना तीव्र रुपमा फैलिएको छ । यसबाट हालसम्म २ लाख ५ हजार ९ सय २९ संक्रमित भएका छन् भने १ लाख ४३ हजार २ सय ५६ जना निको भएका छन् । साथै १८ सय ५८ जनाको मृत्यु भएको छ । भाइरसबाट  यति धेरै संख्यामा संक्रमित हुने साउदी  पहिलो खाडी राष्ट्रसमेत बन्न पुगेको छ  ।

हालसम्म स्रोतका अनुसार यस भाइरसबाट ४ हजार बढी नेपाली संक्रमित भएका छन् भने ३० भन्दा  बढीको मृत्यु भएको छ ।

Published on: 5 July 2020 | Annapurna Post

Link

Back to list

;