s

श्रमिकको पारिश्रमिक वृद्धिको सूचना राजपत्रमा

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २४ गते । सरकारले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपियाँ कार्यान्वयनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपियाँ तोकेको छ ।

यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपियाँ वा दैनिक ५१७ रुपियाँ थियो । योअनुसार श्रमिकको पारिश्रमिक एक हजार ५५० रुपियाँ वृद्धि भएको छ । श्रम ऐनअनुसार श्रमिकको न्यूनतम पारिश्रमिक हरेक दुई वर्षमा पुनरवलोकन गर्नुपर्छ । सोहीअनुरूप एक वर्ष ढिला गरेर सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो ।

गत वर्ष कोरोनाका कारण श्रमिकको पारिश्रमिक बढाउनेभन्दा पनि रोजगारी कसरी जोगाउने भन्ने अवस्था भएकाले एक वर्ष ढिला गरेर सरकारले श्रमिकको पारिश्रमिक तोकेको हो ।

नयाँ व्यवस्थाअनुसार श्रमिकको आधारभूत पारिश्रमिक मासिक नौ हजार ३८५ रुपियाँ तोकिएको छ भने महँगी भत्ता पाँच हजार ६१५ रुपियाँ गरी कुल १५ हजार रुपियाँ कायम गरिएको छ । आगामी साउनदेखि श्रमिकले ३६१ रुपियाँ आधारभूत पारिश्रमिक र २१६ रुपियाँ महँगी भत्ता गरी दैनिक ५७७ रुपियाँ पारिश्रमिक पाउनेछन् । यो पारिश्रमिक न्यूनतम भएकाले योभन्दा बढी जति पनि दिन सकिने व्यवस्था रहेको श्रम मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले जानकारी दिनुभयो ।

Published on: 7 May 2021 | Gorkhapatra

Link

Back to list

;