s

स्वदेश फर्किए, घर पुग्‍न पाएनन्

हरिराम उप्रेती

गोरखा — भिसा सकियो, लकडाउनले तीन महिना कतारमै अड्किए । तीन दिनअघि स्वदेश फर्किएका गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय युवकले घरको दैलो टेक्न पाएनन् । कोरोना संक्रमित उनको गोरखा अस्पतालको आइसोलेसनमा शनिबार मृत्यु भयो । 

गत बुधबार साँझ गाउँ पुगे पनि उनी घर पुग्न पाएनन् । पालुङटारको जीवन ज्योति माविको क्वारेन्टाइनमा बसे । ‘विदेश जाने आउने गर्नुहुन्थ्यो, यसपटक घर पुग्नै पाउनुभएन,’ स्थानीय भगवती कुमालले भनिन्, ‘उहाँलाई सुगरको समस्या थियो । क्वारेन्टाइनमा बसेको भनेपछि आफन्तले भेट्न जाने कुरा भएन, परिवारले रोटी बनाएर लगिदिन्थे तर परै छाडेर आउनुपर्थ्यो ।’ उनका श्रीमती, चार वर्षीय छोरा र १२ वर्षीया छोरी छन् । ‘विदेशकै कमाइले खाने हो, यसपटक भिसा सकिएछ, कमाउन सकिएन आफ्नै खर्चले खानुपरेको छ भन्दै परिवारलाई लकडाउन भएपछि फोन गर्नुभएको रहेछ,’ उनले भनिन् । वैदेशिक रोजगारबाट फर्किएका घरमूली गुमाउँदा परिवारका सदस्य विक्षिप्त छन् ।

मधुमेह र उच्च रक्तचापका रोगीसमेत रहेका ती संक्रमित पुरुषको गत बिहीबार मात्रै स्वाबको नमुना जाँचका लागि लिइएको थियो । शुक्रबार रिपोर्ट कोरोना पोजिटिभ आएलगत्तै गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरियो । भर्ना भएको सात घण्टामै उनको मृत्यु भयो । ती व्यक्तिमा सुगर र कडा खालको निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले लुदी खोला दोभानमा शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो । संक्रमितको उपचारमा यसअघि पनि पटक–पटक चुकेका जनप्रतिनिधि र कमान्ड पोस्टका सदस्यले शनिबार मात्र हतार–हतार शव व्यवस्थापन गर्ने ठाउँको चयन गरेका थिए । 

गोरखा नगरपालिका–१२ र सहिद लखन गाउँपालिका–१ को सीमा क्षेत्रमा पर्ने लुदी दोभानमा शव गाड्ने खबर सुनेदेखि नै स्थानीयले विरोध जनाए । नुहाउन, लुगा धुन जाने र गाउँलेको आवागमन भइरहने क्षेत्रमा शव गाड्न नदिने भन्दै स्थानीयवासी लुदी दोभानमा भेला भए । शव व्यवस्थापन गर्न खाल्डो खन्न प्रयोग भएको एक्स्काभेटरलाई रोके । स्थानीयको विरोधको आवाज चर्कंदै गएपछि सदरमुकामबाट सुरक्षाकर्मी परिचालन गरियो ।

स्थानीयले नमानेपछि प्रहरीले भीड तितरवितर गर्न सात राउन्ड अश्रुग्यास प्रहार गर्‍यो । प्रहरीले बल प्रयोग गरेपछि स्थानीय डाँडातर्फ लागे । स्थानीयले अटेर गर्दा बल प्रयोग गर्नुपरेको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

भीड हटाउने क्रममा केही प्रहरी सामान्य घाइते भएका छन् । भीड हटाउने प्रहरी र अवरोध गर्ने स्थानीयका कारण शनिबार दिनभर अवुवा क्षेत्र तनावग्रस्त रह्यो ।

मृतकको शव १२ घण्टापछि बल्ल गोरखा अस्पतालबाट उठाइयो । अवरोध हटाएर शनिबार साँझ शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

Published on: 5 July 2020 | Kantipur

Link

Back to list

;