s

थाइल्याण्डबाट ७८ नेपाली स्वदेश फिर्ता

चाँदनी हमाल

काठमाडौँ, असार ९ गते । थाइल्याण्डको बैङ्ककस्थित नेपाली राजदूतावासले हालसम्म ३८१ जना नेपाली नागरिकलाई विभिन्न मुलुकबाट नेपाल फर्काइएको जनाएको छ ।

राजदूतावासले विदेशमा अलपत्र परेका ३८१ नेपाली नागरिकलाई स्वदेश फर्काउन सफल भएको जनाएको हो । राजदूतावासका अनुसार नेपाल वायुसेवा निगमसँगको समन्वयमा थाइल्याण्डबाट १७ जुन २०२० मा २४७ जना र २३ जुन २०२० मा ७८ जनासमेत जम्मा ३२५ जनालाई दुई वटा उडानबाट स्वदेश फर्काइएको छ ।

यसरी थाइल्याण्डबाट नेपाल फर्किएकामध्ये छोटो अवधिको इन्टर्नसिपमा आएका, विभिन्न विश्वविद्यालयमा अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थी २३४ जना, पर्यटक भिसा र पारिवारिक पूनर्मिलनका लागि आएका ५१ जना, वैदेशिक रोजगारको प्रलोभनमा परी अलपत्र परेका नौ जना, रोजगारी समाप्त भएका २२ जना, नेपालमा आफन्त गुमाएका दुई जना, जेलमुक्त भएका एक जना र नाबालक बच्चा छ जना रहेका छन् ।

त्यसैगरी, राजदूतावासले हिमालय एयरलाइन्ससँगको समन्वयमा जुन १७ मा सिङ्गापुरबाट ११३ जना र कम्बोडियाबाट ३३ जनालाई स्वदेश फर्काइएको जनाएको छ ।

यसैगरी, सिङ्गापुरबाट नेपाल फर्किएकामध्ये जेलमुक्त भई नेपाल फर्कन स्वीकृति पाएका २१ जना, ट्रान्जिटमा अलपत्र परेका सात जना, पर्यटक भिसा र पारिवारिक पूनर्मिलनका लागि आएका १८ जना, रोजगारी समाप्त भएका ५६ जना र तालिममा आएका प्रशिक्षार्थी र विद्यार्थी नौ जनासमेत जम्मा ११३ जना रहेका छन् ।

त्यस्तै, कम्बोडियाबाट फर्किएकामध्ये वैदेशिक रोजगारको प्रलोभनमा परी अलपत्र परेका १३ जना, रोजगारी समाप्त भएका नौ जना, पर्यटक भिसामा आएका नौ जना र तालिममा आएका सरकारी अधिकृत दुई जनासमेत जम्मा ३३ जना रहेको राजदूतावासले जनाएको छ ।

Published on: 23 June 2020 | Gorkhapatra

Link

Back to list

;