s

युएईमा डेढ महिनादेखि अचेत केदारकुमार कठायतको मृत्यु

आबुधाबीको मफरक अस्पतालमा डेढ महिनादेखि उपचाररत एक नेपालीको मृत्यु भएको छ । उदयपुर पुरानदहका ३८ वर्षीय केदारकुमार कठायतको बिहीबार बिहान अस्पतालमा मृत्यु भएको हो । उनी डेढ महिनादेखि अचेत अवस्थामा अस्पतालमा उपचाररत थिए । उनी सेक्युरिटी मिडिल इस्टमा कम्पनीमा कार्यरत थिए ।

गत जुलाई १२ ताखिर व्यायाम गर्ने क्रममा अचानक बेहोस भइ लडेपछि साथीहरु र भिनाजु शेखर चौधरीले मफरक अस्पताल लगेका थिए ।उपचारमा संलग्न चिकित्सकले बताएअनुसार उनको शरीरमा रगत जमेको र अन्य भागमा रगत सर्कुलर हुन सकेको थिएन । मिर्गौलाले समेत काम गर्न छोडेको थियो ।

चिकित्सकले चाडैँ अपरेशन र नियमित डायलासिस गर्न सुझाएका थिए । सोहीअनुसार यहाँ रहेका आफन्तको रेखदेखमा उनको उपचार भइरहेको थियो ।

केदारको स्वास्थ्यमा क्रमश सुधार आउँदै थियो । उनलाई रेखदेख गरिरहेका मृतकका भाइ सन्तोष कोइराला अनुसार बीचमा उनले आफूलाई भेट्न आउनेहरुको पहिचान गर्न सक्ने भएका थिए । तर, दुईदिन अघि पुनः पहिलेको जस्तै बेहोस भएपछि आईसीयूमा राखिएको थियो ।

चिकित्सकले अब आफूहरुको प्रयासले बचाउन नसक्ने जनाएका थिए । दुई दिनसम्म प्रयासपछि चिकित्सकले बिहीबार बिहान उनलाई मृत घोषणा गरेका कोइरालाले बताए ।

अहिले उनको शव खालिफा अस्पतालमा राखिएको छ । उनको शव चाडैँ नेपाल फर्काउन दूतावाससँग समन्वय भइरहेको उनले बताए । कानुनी प्रकृया पूरा भइ उनको शव नेपाल फर्काउन दूतावासले पहल गरिरहेको दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताए ।मृतक केदारको परिवारमा बुबाआमा, श्रीमती र दुई छोरा छन् ।

Published on: 30 August 2019 | Onlinekhabar

Back to list

;