s

युएईमा श्रमरत ६९ जना नेपाली ३ महिनादेखि घर फर्कन पाएनन्

रोजगारीका लागि युएई आएका ६९ जना नेपाली तीन महिनादेखि घर फर्कन पाएका छैनन् । एड्भान्स मेनेजमेन्ट सर्भिसेजमा काम गरिरहेका उनीहरु कम्पनीको लापरबाहीका कारण घर फर्कन नपाएका हुन् ।

दुई वर्षको श्रम सम्झौता सकिएपछि घर फर्कन खोज्दा कम्पनीले आनाकानी गरेको दार्चुलाका कृष्णसिंह कोटारीले बताए । २ वर्षको सम्झौता सकिएर २ महिना बितिसक्दा पनि कम्पनीले घर नपठाएको उनको भनाइ छ ।

भिसा नवीकरण पनि नगरेको र ३ महिनादेखि काममा समेत जान रोक लगाएको पीडितको भनाइ छ । उक्त कम्पनीमा ५ वर्षदेखि कार्यरत नेपालहरु छन् ।

४ वर्षेदखि उक्त कम्पनीमा कार्यरत धनगढीका केशव साउँदका अनुसार घर फर्काइदिन आग्रह गर्दै पटकपटक कम्पनीको कार्यालय धाउदा कुनै चासो दिएको छैन ।

सबैजना घर फर्कन चाहेका छन् । कम्पनीलाई दवाव दिएपछि १५ जनालाई भने घर पठाएको साउँदले बताए । तर, बाँकीलाई विभिन्न बहना बनाएर म्याद सार्दै आएको पीडितको भनाइ छ ।

चाडपर्व नजिकिएको र लामो समयदेखि परिवारसँग बसेर दशैंतिहार मनाउन नपाएकोले यो वर्ष सँगै मनाउने योजनामा छन् । उनीहरुले नेपाल फर्काइदिन आग्रह गर्दै गत असारमा दूतावासमा निवेदन दिएका थिए । ७३ जनाले दूतावासमा निवेदन दिएको भएता पनि केही मात्रै नेपाल फर्किएका छन् ।

तर, पटकपटक दूतावास धाउदा पनि कुनै सुनवाई नभएको दार्चुलाका कोट्टारीले बताए । ‘हामीले दुई महिना अघि दूतावासमा निवेदन दिएका थियौं । त्यसपछि फोन गरेर बुझ्न खोज्दा कुनै जानकारी पाएनौँ,’ उनले भने ।

फोन गर्न र दूतावाससम्म जाने भाडासमेत नहुने पीडित कामदारले बताए । ‘दूतावासमा फोन गर्न साथीभाइसँग खोजखाज गरेर जुटाउन पर्छ । हामीलाई दुतावासले केही गर्छ भन्ने आशा थियो,’ डिल्ली प्रसाद बजगाईंले सुनाए ।

नेपाल फर्काउन पहल भइरहेको छ : दूतावास

पीडित कामदारको निवेदनपछि दूतावासले यस विषयमा चासो दिएको छ । दूतावासले सम्बन्धित कम्पनीसँग आफ्ना कामदारको समस्या तत्काल समाधान गर्न आग्रह गरेको दूतावासका श्रमसहचारी मोतीराम भुषालले बताए ।

कामदारले पाउने सेवासुविधासहित भिसा क्यान्सिलको प्रकृया अघि बढेको बताउँदै कम्पनीले साउन १४ गते दूतावासलाई पत्र पठाएको छ ।

कम्पनीले दूतावासमा पठाएको पत्रमा अब ६९ जनालाई नेपाल फर्काउन बाँकी रहेको उल्लेख गरेको छ । तर, त्यहाँ मिति उल्लेख नगरेको र कामदारलाई यर्थाथ कुनै जानकारी नगराएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् ।

कामदारले दूतावासलाई अख्तियारी पत्र दिएर उनीहरु नेपाल फर्किन चाहे दूतावासले कानुनी उपचारको खोजी गर्ने दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताए ।

Published on: 30 August 2019 | Onlinekhabar

Back to list

;