s

उत्पादनतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ६२ प्रतिशत पास

काठमाडौँ — उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको ईपीएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षा दिएकामध्ये ६२ प्रतिशत अर्थात् ८ हजार ७८५ जना उतीर्ण भएका छन् । सो भाषा परीक्षामा सहभागी हुन १८ हजार ५९५ जनाले आवेदन दिएका थिए भने परीक्षामा १४ हजार ४३ सहभागी थिए ।

उत्पादनतर्फ पहिलो चरणको भाषा परीक्षाको नतिजा गत भदौमा सार्वजनिक भइसकेको छ । पहिलो चरणमा ७ हजार १४२ जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । सन् २०२२ को उत्पादनतर्फको भाषा परीक्षा सम्पन्न भएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए । उत्पादनतर्फ सन् २०२३ का लागि भने केही ढिला मात्र परीक्षा सञ्चालन हुनेछ । सन् २०२२ का लागि पहिलो र दोस्रो चरणमा उत्तीर्ण भइ रोष्टरमा रहेका दुईतिहाइ व्यक्ति रोजगारीका लागि कोरिया गएपछि मात्र उत्पादनतर्फको परीक्षाको तालिका सार्वजनिक हुने उनले बताए । २०२२ मा उत्पादनतर्फ १५ हजार नौ सय २७ जना भाषा परीक्षा उत्तीर्ण भइ रोष्टरमा छन् ।

सन् २०२३ का लागि कृषितर्फको भाषा परीक्षा आगामी डिसेम्बर/जनवरी महिनामा हुनेछ । सन् २०२२ का लागि कृषितर्फ उत्तीर्ण भएका तीन हजारमध्ये आधाभन्दाबढीको रोजगार सम्झौता आइसकेको छ । 'सन् २०२२ का लागि कृषि क्षेत्रतर्फ उत्तीर्ण भएका एक हजार ५०० जनाको रोजगार सम्झौता आइसकेको छ', निर्देशक कटुवालले भने 'बाँकीको पनि रोजगार सम्झौता आउने चरणमा छ ।' कृषितर्फ रोष्टरमा रहेका श्रमिकको सङ्ख्या सकिन लागेकाले सन् २०२३ का लागि कृषितर्फको भाषा परीक्षा छिट्टै हुन लागेको उनको भनाइ छ ।

दक्षिण कोरिया नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा रहँदै आएको छ । नेपाल र कोरियाबीच सन् २००८ मा रोजगार अनुमति प्रणााली (ईपिएस) सम्झौता भएको थियो । ईपिएस सम्झौता भएयता भाषा परीक्षा उत्तीर्ण गरी करिब ७७ हजार नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् । अहिले भाषा परीक्षा उत्तीर्ण ४० हजार नेपाली कोरियामा विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । कोरियामा ईपिएस प्रणालीबाट विदेशी कामदार भित्र्याउने सूचीमा नेपाल दोस्रो सूचीमा रहेको छ । पहिलो सूचीमा कम्बोडिया छ ।

Published on: 21 November 2022 | Kantipur

Link

Back to list

;