आमाको अभावमा छोरीका पीडा

Author(s): रत्ना काम्बाङ

Year of Publication: 2017

काठमाडौँ — महिलाका क्षमताअनुसारको अर्थोपार्जन हुने रोजगारी स्वदेशमै सिर्जना गरिदिएको भए उनीहरू वैदेशिक रोजगारमा जान बाध्य हुने थिएनन् । यसले गर्दा तिनका छोराछोरीले दु:खी बन्नुपर्ने थिएन ।

महिलाका क्षमताअनुसारको अर्थोपार्जन हुने रोजगारी स्वदेशमै सिर्जना गरिदिएको भए उनीहरू वैदेशिक रोजगारमा जान बाध्य हुने थिएनन्। यसले गर्दा तिनका छोराछोरीले दु:खी बन्नुपर्ने थिएन।

ने पालमा बढ्दो महिला वैदेशिक रोजगारको प्रभावलाई हेर्दा प्राय: संघ/संस्थाहरूको ध्यान महिलाले भित्र्याउने रेमिटेन्स वा विदेशमा भोग्नुपरेका समस्यामा मात्र बढी गएको पाइन्छ। तर उनीहरू विदेशिँदा परिवारमा कस्तो प्रभाव परिरहेको छ भन्नेतिर भने खासै ध्यान गएको देखिँदैन। विशेष गरेर एकल परिवारका महिलाहरू विदेशिँदा आमाको अनुपस्थितिले किशोरी छोरीहरूको जीवनमा कस्तो प्रभाव पर्छ? यसतर्फ अहिलेसम्म समाजको ध्यान खासै केन्द्रित भएको देखिँदैन। महिला वैदेशिक रोजगार सुरु भएको २/३ दशक बित्नलाग्दा पनि हाम्रो समाजले महिला वैदेशिक रोजगारलाई अझै पनि सकारात्मक रूपले लिएको पाइँदैन। उनीहरूका परिवारले समेत विभिन्न किसिमको लाञ्छना बेहोर्नुपरेको कारण त्यसको असर उनीहरूका छोराछोरीमा कस्तो पर्छ भन्ने कुरामा अझै पनि मानिसको ध्यान केन्द्रित भएको पाइँदैन। विदेशमा काम गरिरहेका महिलाका छोराछोरीहरू आफ्नो आमा विदेशमा काम गर्छन् भनी खुलेर भन्न पनि गाह्रो मान्छन्। जब एउटा महिला आफ्नो बेरोजगारीपन, आर्थिक समस्या हटाउने आसले विदेशिने गर्छिन्, तर समाजले नबुझेर ‘एउटी आइमाईले विदेशमा गएर के नै गतिलो काम गरी होला?’ भनी कुरा काट्दा त्यस्ता आलोचनाले उनीहरूको सन्तानको मानसिक अवस्थामा कस्तो असर पर्ला? झट्ट हेर्दा यस्ता कुरा सामान्य लाग्छन्, तर त्यस्ता कुराले उनीहरूको बौद्धिक र मानसिक विकासमा कस्तो असर पर्छ भन्ने कुरालाई समाजले कमै ध्यान दिएको देखिन्छ्र। जुन कुरालाई मैले वैदेशिक रोजगार सम्बन्धी अध्ययनको सिलसिलामा वैदेशिक रोजगारमा गएका महिलाका छोरीहरूसंँगको अनौपचारिक कुराको क्रममा धेरैपटक अनुभूति गरेको छु।

महिला विदेशिनुको कारणहरू पछाडि उसको छोराछोरीको खुसी पनि महत्त्वपूर्ण स्थानमा पर्न आउँछ। तर यसरी आफ्नो छोराछोरीको खुसीका लागि धन कमाउन हिँडेका महिलाहरूले आफ्नो अनुपस्थितिमा किशोरी छोरीहरू कुन अवस्थाबाट गुज्रिंदैछन् भनेर त्यसलाई कतिको गम्भीरतासाथ लिनसकेका होलान् त?

सांस्कृतिक र सामाजिक क्रियाकलापमा सहभागी हुन अभिभावकको उपस्थिति पनि धेरै महत्त्वपूर्ण हुन्छ्र। किनभने केही घरपरिवारमा आमा विदेश गएपछि बुबा पनि धेरै घर नबस्ने कारणले कति यस्ता क्रियाकलापबाट बञ्चित हुनुपरेको पनि देखिन्छ्र। जस्तै– बच्चाहरूलाई आफ्नो परीक्षाको नतिजा पत्र बाँड्ने बेलामा अभिभावकको उपस्थिति नभएको कारणले नै अर्को दिनसम्म कुर्न‘परेको उदाहरण पनि छन्। त्यस्तै कटु अनुभव बोकेकी १५ वर्षीया किशोरी भन्छिन्, ‘बुबा व्यापारी भएको कारणले घरमा बस्नु हँुदैन थियो। मेरो घरबाट अभिभावकको रूपमा कोही पनि उपस्थिति नभइदिँदा मैले मेरो प्रोग्रेस रिपोर्ट नै पाइन। त्यसमाथि सरले पनि ‘तिम्रो घरबाट कोही पनि आउँदैन कि के हो?’ भनेर गाली गर्दा साँच्चै म यो संसारमा एक्लै रहेछु भन्ने लागेर मलाई धेरै रुन मन लागेको थियो।

त्यस्तै घरमा आमा नहुँदाको समस्या छोरालाई भन्दा बढी छोरीलाई हुन्छ्र। किनभने उमेरसँगै शारीरिक परिवर्तनबारे जानकारी दिने नजिकको व्यक्ति नहुँदा उसको बढ्दो उमेरसँगै देखापर्ने शारीरिक परिवर्तनले गर्दा किशोरी छोरीहरू धेरै तनावको स्थितिबाट गुज्रिन्छन्। त्यतिबेला उनीहरूलाई शारीरिक विकासको यो एउटा प्रक्रियामात्र हो भनेर बुझाइदिने आमाको साथ महत्त्वपूर्ण हुन्छ। हाम्रो समाजको सोच अझै पनि यति फराकिलो भइनसकेका कारणले यस्ता किशोर अवस्थाको परिवर्तनबारे सबैसँग खुलेर कुरा गर्न नसक्ने साथै परिवारका सबै सदस्य मिलेर उसको महिनावारी एउटा शारीरिक विकासको क्रममात्र हो भनेर बुझाउन सक्ने अहिलेसम्म पनि पारिवारिक वातावरण नभएको कारणले गर्दा नै एउटी छोरीले आफ्नो महिनावारीको कुरा बुबासँंग व्यक्त गर्न सक्दिनन्। यदि यस्ता विषयमा परिवारमा खुलेर छलफल हुँदो हो त नेपालमा छाउपडीका कारणले यतिका किशोरीले आफ्नो ज्यान गुमाउनु पर्दैन थियो। र छाउपडीलाई नेपाल सरकारले अपराधको रूपमा घोषणा गर्दैन थियो। यस्तो परिस्थितिमा यसरी बढिरहेको वैदेशिक रोजगारको कारणले कति किशोरीहरूले अझै पनि यस्ता अप्ठ्यारा अवस्था सामना गरिरहेका छन्। यस्तै समस्याको सामना गरेकीमध्ये एक १५ वर्षीया किशोरी आफ्नो अनुभव यसरी सुनाउँछिन्, ‘मलाई महिनावारी हुँदा आफूलाई सिकाउने कोही पनि थिएन। बुबालाई त्यस्तो कुरा कसरी भन्नु? त्यसैले त्यतिबेला आमाको अभाव खट्किन्थ्यो। सोच्थेँ, यदि आमा घरमा भएको भए महिनावारी हँुदा के–के गर्न‘पर्छ? कस्ता उपाय अपनाउनुपर्छ? भनेर सिकाउनु हुन्थ्यो होला।

महिला एक जन्मदाता मात्र नभएर सन्तानको लागि पहिलो गुरु पनि हो। त्यसैले हरेक बालबच्चाले धेरैजसो संस्कार सिक्ने मौका आमाबाट नै पाउने गर्छन्। त्यसैले यसलाई नजिकबाट सिकाउने आमा नै विदेशिँदा एउटी छोरीको लागि आफ्नो घरका संस्कार त्यो परिवारमा विस्तारै आफै अपरिचित बन्दै जाँदोरहेछ, जुन कुरा अनुभूति गरेकी एक किशोरी भन्छिन्, ‘लक्ष्मी पूजा मेरोलागि कहिल्यै पनि आएन। घर पोतेर पूजा गर्न‘ अहिले पनि मलाई आएन, किनकि मलाई सिकाउने कोही पनि भएन। हुन त कहिलेकाहीं बुबाले पनि गर्न‘ हुन्थ्यो। तर मलाई यसरी गर्न‘पर्छ पनि भन्नुभएन र सिकाउनु पनि भएन। त्यसैले मलाई अहिले पनि ती सबै काम गर्न आउँदैन।’ त्यसैले संस्कृति नै यस्तो अमूर्त वस्तु हो, जुन एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण भइरहेको हुन्छ्र। मानिसले संस्कार र मूल्य–मान्यताको माध्यमबाट आफ्नो संस्कृतिलाई निरन्तरता दिँदै आफू र पछिका पुस्तालाई परिस्कृत पार्दै आइरहेका हुन्छन्। तर यदि संस्कृति हस्तान्तरण गर्ने पुस्ता नै विदेशी संस्कृतिसंँग समायोजन हुँदै जीवन बिताउन बाध्य छन् भने भोलिको पुस्ताबाट कस्तो संस्कारको अपेक्षा गर्ने भन्ने प्रश्न पनि अब महत्त्वपूर्ण हुन्छ।

प्राय: महिला आफ्नो घरको आर्थिक अवस्था सुधार्ने उद्देश्यले विदेशिने भए पनि श्रीमानसँग सम्बन्ध बिग्रिएपछि विदेशिने नेपाली महिलाको संख्या पनि बढ्दो छ। श्रीमान र श्रीमती बीचको सम्बन्धको चिसोपना उनीहरू बीचमा मात्र सीमित नभएर दुई परिवारसम्म पनि फैलिएको हुनाले त्यही सम्बन्धको फाटोको बीचमा उनीहरूको बालबच्चा पनि परेका हुन्छन्। त्यसैले घरमा आमा नभएका बेला मावलतिर गएर पनि आमाको अभाव र सम्झना कम गराउन बाटो पनि बन्द भएको हुँदा आफ्ना साथीभाइहरू आफ्नो मावल र आफन्तको घर गएर चाड मनाउँदा उनीहरू भने आफ्नो घरमै खल्लो चाडपर्व मनाउन बाध्य हुन्छन्।
एकजना किशोरी आमा विदेश हुँदाको दसैँलाई यसरी सम्झिन्छिन्, ‘म सानो हँुदा मामाघर गएँ होला, तर मलाई याद छैन। याद हुनेगरी गएको यही साल नै हो। त्यो पनि ममी विदेशबाट आएपछि मात्र। धेरै वर्षपछि मावल जाँदा धेरै रमाइलो लाग्यो।’ चाडपर्वहरू आफैमा सधैं विशेष नै हुन्छन्। त्यसमा अझै आफूसंँगै रमाइलो बाँड्ने आफन्तको साथ भए झन् धेरै रमाइलो हुन्छ। तर यसरी घरमा खल्लो चाड मनाएर बस्नुपर्दा भने त्यो चाडप्रति मान्छेको मोहभन्दा पनि वितृष्णा बढ्दै जान्छ्र। साथै आफन्तहरूको महत्त्व नै हराएर जान्छ।

घरमा आमा नहुनुको प्रभाव किशोरी छोरीहरूमा बढी परेको देख्न सकिन्छ। किनभने आमा नभएपछि पुरुषप्रधान हाम्रो समाजमा कामको भार पनि उनीहरूमाथि नै बढ्ने भएकाले केहीले स्कुल नै छोड्नुपरेको अवस्था छ। केही परिवारमा बुबाले जाँड–रक्सी खाएर ‘बिहा गरेर गइहाल’ भन्ने शब्दहरू प्रयोग गरेर मानसिक तनाव दिँदा उनीहरूलाई उचित सल्लाह सुझाव दिने मान्छेको अभावमा उनीहरूले चाँडो बिहा पनि गर्छन्। तर जो स्कुल पढ्दै घरमा आमाले गर्ने काम पनि गर्न‘पथ्र्यो, उनीहरू भन्छन्, ‘ममी नहँुदा घरका सबै काम आफैले गर्न‘पर्छ, चाहे त्यो काम आओस् या नआओस्। बुबाले ल, यस्तो काम गर है भनेर निस्केपछि कसरी नगर्न‘? ममी घरमा भएको भए मलाई आउँदैन या गर्न मन छैन भन्न सकिन्थ्यो, तर बुबालाई कसरी भन्नु? ममीलाई भने आज मलाई गाह्रो भएको छ, गर्दिन भन्न सकिन्छ वा घुर्की लगाएर भए पनि गर्दिन भन्न सकिन्छ। त्यसैले ममीले जति बुझ्नुहुन्छ, त्यति बुबाले बुझ्नु हुँदैन। प्राय: मलाई गाह्रो भएको छ भन्ने बित्तिकै ममीले आफै गर्न‘हुन्छ। तर बुबासँंग त ठूलो स्वरमा कुरा गर्‍यो भने त्योभन्दा ठूलो स्वरमा गाली गरेर निस्किनु हुन्छ।’

भान्साको जिम्मा महिलाले नै लिनुपर्ने मान्यताको कारणले चाहिँ वैदेशिक रोजगारले कसरी झन् लैंगिक भेदभावलाई यथास्थितिमा राख्न मद्दत गर्दैछ र त्यसको प्रभाव कसरी छोरीहरूमा पर्दैछ भन्ने प्रस्ट हुन्छ्र। किनभने यदि आमा विदेशिए पनि बुबाले आफ्ना छोरीहरूको चाहना र भावनाको कदर गरिदिएको भए आज छोरीहरूले आमाको अनुपस्थितिलाई यति धेरै खल्लो महसुस गर्न‘ पर्दैन थियो होला। त्यसरी घरबाट बुबा पनि निस्केर धेरै दिनसम्म नफर्किंदा भने गाउँका केही युवाका लागि उनीहरूको घर जाँड–रक्सी खाने अड्डा नै बनेको हुन्छ। किनभने त्यहाँ उनीहरूमाथि प्रश्न गर्ने र त्यस्ता क्रियाकलाप गर्न रोक लगाउन सक्ने मान्छे नभइदिँदा उनीहरूले रमाइलो गर्न त्यस्ता घर नै लक्षित बनाएका हुन्छन्। त्यस्तै अनुभव बोकेकी १६ वर्षीया किशोरी आफ्नो अनुभव सुनाउँछिन्, ‘हामी सानै हँुदा दिदीले ९ कक्षामा पढ्दा–पढ्दै छोडेर बिहा गरेर गई। बुबा पनि व्यापारी भएकोले गर्दा घरमा त्यति नबस्ने हुँदा घरमा म र मेरो २ जना साना भाइमात्र हुन्थ्यौं। त्यतिबेला गाउँका केटाहरू आएर त्यस्तो केही नराम्रो नगरे पनि घरमा हेपेर रक्सी, चुरोट खाएर बस्थे। दिनदिनै आउँदा उनीहरूको सोचमा नकारात्मकताको पनि विकास हुनसक्थ्यो। त्यसैले मलाई सुरक्षित महसुसचाहिँ हुँदैन थियो। त्यतिबेला धेरै नराम्रो लाग्थ्यो, तर पनि डरले केही भन्न सकिँदैन थियो। यदि घरमा आमा भएको भए सायद किशोरीहरूमाथि हुने मानसिक र शारीरिक हिंसाको सम्भावना कम हुन्थ्यो होला। आमा विदेश हुँदा पनि आफ्नो घरको अभाव टारिरहेको भनी केहिले चित्त बुझाएको पनि देखिन्छ्र।

तर एउटा बच्चालाई आफ्नो अभिभावकको साथ नहुँदा समाजबाट नै विचलन हुने समस्या पनि देख्न सकिन्छ्र। त्यसैले आफूमा भइरहेको परिवर्तनहरूलाई कसरी समायोजन गराउने भनेर आफूलाई सही मार्गदर्शन गराउनेको अभावमा उनीहरूले आफ्नै तरिकाले नै आफूलाई समायोजन गराएको बेला फेरि आमाको उपस्थितिले आमा–छोरी बीचको सम्बन्धमा समझदारीको अभावमा तनावको सिर्जना भएको पनि देखिन्छ्र। यसले गर्दा उनीहरूमा निराश र एक्लोपन बढी देखिने गर्छ।

महिला वैदेशिक रोजगारको कारणले उनीहरूका किशोरी छोरीहरूमाथि जुन प्रभाव पर्न गएको छ, महिला वैदेशिक रोजगारलाई सरकार र सम्बन्धित निकायले सुरक्षित र व्यवस्थित गर्न‘ र वैदेशिक रोजगारप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्न सचेतना कार्यक्रम गरिदिएको भए ती महिला र उनका परिवारले लाञ्छना खेप्नु पर्दैन थियो। साथै महिलाका क्षमता अनुसारको अर्थोपार्जन हुने किसिमका कुनै रोजगारी सिर्जना गरिदिएको भए उनीहरू वैदेशिक रोजगारमा जान बाध्य हुने थिएनन्। यसले गर्दा उनीहरूका छोराछोरीले यस्तो अवस्थाबाट गुज्रिनु पर्दैन थियो।

काम्बाङ सोसल साइन्स बहा: अन्तर्गत सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटीमा शोधकर्ता हुन्। यो लेख धादिङमा अनुसन्धान गर्दाको अनुभवमा आधारित छ।

प्रकाशित: कार्तिक ७, २०७४
कान्तिपुर 

Link

Back to list

;