यस्तो छ बैदेशिक रोजगारीमा जाँदा समस्यामा पर्नेहरुलाई सुरक्षा व्यवस्था

Author(s): रत्ना काम्बाङ

Year of Publication: 2018

वैदेशिक रोजगारीमा जान चाहने, गएका, फर्किएका र उनीहरुको परिवारलाई बैदेशिक रोजगार ऐन र त्यस अनुरुपको सेवा सुविधाहरुको बारेमा हालको संघीय संरचनाका तीनै तहबाट जानकारी दिन आवश्यक छ किनकि सरकारले वैदेशिक रोजगारीलाई पनि समाजको एउटा महत्वपूर्ण पाटो मानेर वैदेशिक रोजगारमा जाने तथा समस्यामा परेर आउने र उनीहरुको परिवारलाई समेत सुरक्षा दिनु आवश्यक छ ।

सिन्धुपाल्चोककी २५ वर्षीय सुनिता तामाङ (नाम परिवर्तन) को विहेपछि आर्थिक समस्याले गर्दा जीवन बिस्तारै झन्-झन् कठिन हुन थाल्यो । श्रीमानसँगको सल्लाह अनुसार गाउँको चिनेको एजेन्टमार्फत नै काठमाडौँबाट विदेश गइन् । उनले आफ्नो दुई वर्ष तीन महिनाको कुवेत बसाईमा विभिन्न गाली र कुटाई जस्ता शारीरिक तथा मानसिक यातना खप्नु पर्यो । दुई वर्षको अन्तिम महिनामा भने काम ढिलो गरेको निहुँमा रोजगारदाताले पिट्न झम्टिदा, उनी भाग्न खोज्दा घरको सिंढीबाट लडेर निकैबेर बेहोस भइन् तर अस्पताल भने कसैले लगेनन् । दुर्घटना पछि उनको ढाड दुख्ने र टाउको दुख्ने समस्या हुन थालेकाले उनको कामको गति ढिलो हुन गइ झन् बढी कुटाई र कचकच सहनु परेको थियो । आफू शारीरिक रुपमा अशक्त भएको अनुभव भएपछि घर जान्छु भन्दा उनको भिसाको अवधि नसकी र सट्टामा अर्को काम गर्ने मान्छे नआई नेपाल जान नपाउने भनेर रोजगारदाताले धम्क्याए । त्यसपछि पनि उनी थप तीन महिना बस्न बाध्य भइन् ।

विदेशबाट फर्किएर उपचारको लागि उनले काठमाडौंको धेरै अस्पताल धाईन्, पैसा सकियो तर राम्रो उपचार हुन् सकेन । आफन्तले राष्ट्रिय अपांग महासंघमा जाँदा सहयोग स्वरूप केहि सहुलीयत हुने बताएकोले त्यहाँ गइन् तर खाली हात नै फ़र्किइन् । आफुसंग भएको आँट र पैसा सबै सकिएपछि “अब मरे पनि आफ्नो गाउँ नै गएर मर्छु” भनेर गाउँ फर्किने निधो गरिन् । तर फर्किंदा त्यहाँको अवस्था भूकम्पले झनै नाजुक बनाएको थियो । बस्नको लागि घर थिएन छुट्टिएर बसेको परिवार एकै छाप्रोमा बस्नु पर्ने बाध्यता थियो । उनी भने आफु शारीरिक रुपमा अशक्त त थिइन् नै तर परिवार संयुक्त रुपमा बस्न थालेकोले घरको कामको बोझ पनि थियो । श्रीमान् पनि उनलाई गाउँमा ल्याएर विदेश हिंडिहाले । उनी घरमा खेतवारीको काम गर्न नसके पनि खाना पकाउने काम चाही जसो-तसो सघाउँछिन् । उनी भन्छिन्, “सबै काम करले मात्र गर्छु, घोप्टिदा टाउको फुट्ला जस्तो हुन्छ भने ढाडको त भर नै हुँदैन ।” कुनै बेला ढाड र टाउको दुखाई सहन नसकेर माईत गएर पनि बस्ने गर्छिन् । तर कति दिन? आफ्नो यस्तो लाचारी (उनको अनुभवमा) जीवन देखेर उनलाई आजभोली मृत्यु सजिलो र शान्तिको बाटो हो भन्ने सोच आउन थालेको छ ।

यसरी सुनिता जस्तै बैदेशिक रोजगारबाट शारीरिक समस्या भएर फर्केका तर उपचार र साथ नपाउँदा यहाँ आए पछि बिस्तारै मानसिक समस्याको पनि शिकार हुनेहरुको संख्या बढ्दो छ । बैदेशिक रोजगारको अध्ययन अनुसन्धानको क्रममा जाँदा नेपालको विभिन्न जिल्लामा कतिपय यस्ता अवस्थाहरु पाउन सकिन्छ ।

बैदेशिक रोजगार ऐन, २०४२ बनेको तीन दशक बित्दा पनि बैदेशिक रोजगार सम्बन्धि समस्या र प्रक्रियालाई नसमेटेकोले बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन दुई पटकसम्म संशोधन गरेर बैदेशिक रोजगार ऐन, २०६४ लाई लागू गर्न बैदेशिक रोजगार नियमावली २०६४ बनाइएको छ । यस ऐनले कामदारको सुरक्षाको विषयलाई लिएर बैधानिक रुपले वैदेशिक रोजगारमा जाँदा अनिवार्य बीमा गर्नुपर्ने र यदि कामदारको करार अवधिभरमा मृत्यु भएमा वा अङ्गभङ्ग भएमा त्यसको क्षतिपुर्ति पाउने व्यवस्था गरेको छ । यस्ता क्षतिपुर्ति दुई ठाउँबाट पाउने व्यवस्था गरिएको छ, क) बीमा कम्पनी ख ) बैदेशिक रोजगार प्रवर्दन बोर्ड ।

बैदेशिक रोजगार ऐन, २०६४ अनुसार पहिलो क्षतिपूर्ति बीमा कम्पनीबाट प्राप्त हुन्छ । बीमा जारी भइसकेपछि यदि कामदारको मृत्य भएमा (गन्तब्य देश प्रस्थान नगर्दै वा बीमा अवधि भित्र मृत्यु भएमा) पूर्ण क्षतिपूर्ति पाउने व्यवस्था छ । दुर्घटना भएर अंगभंग भएमा कामदारको सम्पूर्ण घटनालाई समेत मध्यनजर गरेर विशेषज्ञहरुको समितिले शारीरिक क्षतिको समानुपातिक हुने गरी निर्धारण गरेर बीमाङ्कको प्रतिशत दिने व्यवस्था छ ।

बीमा समितिले तोकेको पन्ध्र घातक रोग मध्ये कुनै रोग लागेर कामदार फर्किएमा पाँच लाख बराबरको उपचार खर्च पाउने व्यवस्था छ (२०७३ साल माघ देखि) । साथै घातक रोग भन्दा अन्य रोग लागेर फर्किएमा डाक्टरको उपचार विवरण हेरी औषधि उपचार खर्चको सोधभर्ना एक लाखसम्मको सिमा भित्र रही प्रदान गर्छ । यदि कामदार गन्तब्य देशमा दुर्घटनामा परी फर्कनु नसक्ने अवस्था भएमा उपचारको सक्कली बिल वा डाक्टरको उपचार विवरण कामदारको परिवारले पेश गर्न सकेमा बीमा समितिको प्रावधान अनुसार बीमा रकम प्राप्त हुन्छ । तर क्षतिपुर्ति भने कामदारले बीमा जारी गरेको र नवीकरण गरेको समयको आधारमा प्राप्त हुन्छ । बीमा अवधि समाप्त भइ नविकरण गर्न समयको अभाव वा अवधि भित्र नवीकरण गर्नु पर्छ भन्ने जानकारी नहुने केहि कामदार र उनीहरुको सुरक्षालाई ध्यानमा राख्दै र हाल बीमा कम्पनीले गन्तब्य देशको लागि लिएको करार अवधिभन्दा एक वर्ष बढी अवधिको बीमा गर्नु पर्ने अनिवार्यता गरेको छ ।

दोस्रो, क्षतिपूर्ति बैदेशिक रोजगार प्रवर्धन बोर्डले व्यवथापन गरेको बैदेशिक रोजगार कल्याणकारी कोषबाट प्राप्त हुन्छ । वैदेशिक रोजगारमा गएको कामदारको मृत्यु भइ शव अलपत्र परी नेपाल ल्याउन, निजको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न, कामदार अङ्गभङ्ग भएमा क्षतिपूर्ति दिन, करार बमोजिम सुबिधा नपाए कामदारलाई फिर्ता गराउन र त्यसरी फर्किएर आएका कामदार वा निजको परिवारलाई आर्थिक सहायता प्रदान गर्नको लागि उक्त कोषको प्रयोग गरिने छ । तर त्यसको लागि कामदारले वैदेशिक रोजगारमा जानु अघि श्रम स्वीकृत गरि तोकेको रकम जम्मा गर्नु पर्छ भनी बैदेशिक रोजगार ऐन २०६४ मा उल्लेख गरिएको छ ।

करार अवधिभर कामदार नेपाल आएको (विदामा) वा गन्तब्य देशमा भएको समयमा मृत्यु भएमा कामदारको परिवारले क्षतिपूर्ति स्वरूप हाल सात लाख पाउने व्यवस्था छ (२०७४/४/१६ पछी) । साथै करार अवधि भित्र दुर्घटनामा परी अंगभंग भएमा वा गम्भीर विरामी भएर फर्किएमा बैदेशिक रोजगार प्रवर्धन बोर्डको विशेषज्ञ समितिले रोग र दुर्घटनाकोको प्रकृति हेरी सात लाखसम्मको क्षतिपुर्ति भित्रबाट उपचार खर्च निर्धारण गर्छ । साथै बैदेशिक रोजगार नियमवाली, २०६४ को नियममा बैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग वैदेशिक रोजगारमा गएका तथा फर्किआएका कामदारको परिवारको शैक्षिक विकास गर्न, स्वास्थ्य उपचारमा सहयोग गर्न र बैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चाको उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापना र संचालन गर्नको लागि पनि सहयोग हुनेछ भनेर उल्लेख गरिएको छ ।

उक्त नियमावली बमोजिम बैदेशिक रोजगारको शिलशिलामा मृत्यु/अङ्गभङ्ग/गम्भीर विरामी भई बैदेशिक रोजगार प्रवर्धन बोर्डबाट शतप्रतिशत आर्थिक सहायता लिएका वा पाउन योग्य भएका मृतक वा अशक्त कामदार (जो आर्थिक क्रियाकलापमा संलग्न हुन् सक्दैनन्) का छोराछारीहरुलाई शैक्षिक सहयोग गर्न आधारभूत शिक्षाको लागि आठ हजार रुपैंयाँ र माध्यमिक तहको लागि वार्षिक बाह्र हजार रुपैंयाँसम्मको छात्राबृत्ति दिने व्यवस्था गरेको छ । सीटीभीटीसंग समन्वय गरेर नर्सिंग, इन्जिनियरिंग र कृषि (बाली बिज्ञान) विधामा पेशागत तालिम, डिप्लोमा र प्रविणता प्रमाण पत्र तह सरहको तीन बर्षे प्राविधिक शिक्षाको छात्रावृति व्यवस्थाको सूचना आएपनि हालसम्म सञ्चालनमा आएको भने देखिंदैन । श्रम स्वीकृति लिएर गएका कामदारहरुको परिवार (आमाबुवा, पति/पत्नी र छोराछोरी) लाई पनि मुख्य पाँच रोगका (क्यान्सर, मुटू, किड्की, पार्किन्सन्स र अलजाइमर) उपचारको लागि रोग अनुसार त्यहि अनुपातमा (विशेषज्ञ समितिको अनुसन्धान पश्चात) पचास हजारसम्मको सीमामा रही उपचार रकम निर्धारण गरेको छ ।

बैदेशिक रोजगारबाट शारीरिक समस्याले मात्र नभएर मानसिक समस्याबाट पीडित भएर पनि फर्किएका कामदारहरुका लागि भनेर बीमा कम्पनिले पन्ध्र घातक रोग अन्तर्गत मानसिक रोगलाई पनि समेटेको छ तर दुर्घटनाको कारणले मानसिक समस्या भएमा मात्र उपचार पाउने व्यवस्था छ । त्यसको लागि पनि तीन महिना भित्रको मानसिक रोगलाई मात्र समेटेको छ। तर बैदेशिक रोजगार प्रवर्धन बोर्डले भने गन्तब्य देशबाट नै डाक्टरको उपचार विवरण लिएर आएमा बोर्डको विशेषज्ञ समितिको निर्णयको आधारमा रोगको अनुपातमा उपचार खर्च दिने व्यवस्था छ ।

कानुनी रुपमा स्पष्ट र निर्देशित रुपमा बनेको क्षतिपूर्ति सम्बन्धि बैदेशिक रोजगार ऐन र नियमावली अनुसार आफुले पाउने सुबिधाको बारेमा बैदेशिक रोजगारमा कामदारहरु आफै कतिको जानकार छन् भन्ने प्रश्न पनि महत्वपूर्ण हुन्छ । विद्यमान नीति नियमको बाबजुद मृत्यु भएमा र केहि गम्भीर अङ्गभङ्ग भएमा मात्र क्षतिपूर्ति लिनका लागि उनीहरुका परिवारजन वा व्यक्ति स्वयम् बैदेशिक रोजगार प्रवर्धन बोर्ड र बीमा कम्पनी धाउने गरेको देखिन्छ । वैदेशिक रोजगारीमा गएर सुनिता जस्तै केहि शारीरिक र केहि मानसिक समस्याबाट ग्रसित भएर पनि फर्किन्छन् । यस्ता समस्या भएर फर्किने र उपलब्ध सेवा सुबिधाको बारेमा जानकारी नै नहुने त सुनिता एउटा प्रतिनिधि पात्र मात्र हुन ।

बैदेशिक रोजगार ऐन, २०६४ मा उल्लेख भए अनुरुपको स्वास्थ्य सेवा सुविधा र क्षतिपूर्तिको व्यवस्थाको बारेमा र त्यसको प्रावधानहरुको (पेश गर्नुपर्ने उपचार विवरण, अवधि आदि) बारेमा पूर्ण जानकारी भएको भए समस्यामा परेर आउने कामदार र उनीहरुको परिवारलाई केही सहयोग हुन्थ्यो । सुनिताले जस्तो निरास भएर मृत्युलाई सहज उपायको रुपमा लिने सोच लिएर बाँच्न पर्दैन थियो । त्यसैले वैदेशिक रोजगारीमा जान चाहने, गएका, फर्किएका र उनीहरुको परिवारलाई बैदेशिक रोजगार ऐन र त्यस अनुरुपको सेवा सुविधाहरुको बारेमा हालको संघीय संरचनाका तीनै तहबाट जानकारी दिन आवस्यक छ किनकि सरकारले वैदेशिक रोजगारीलाई पनि समाजको एउटा महत्वपूर्ण पाटो मानेर वैदेशिक रोजगारमा जाने तथा समस्यामा परेर आउने र उनीहरुको परिवारलाई समेत सुरक्षा दिनु आवश्यक छ ।

काम्बाङ सोसल साइन्स बहा: अन्तर्गत सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटीका शोधकर्ता हुन्।

प्रकाशित : कार्तिक ९, २०७५, १६:३९

Link

Back to list

;