‘फोन गर्न सुको नहुनेले अहिले आइफोन बोक्छन्’

दमक - दस वर्षअघिसम्म शिविरबाहिर निस्केर साइकलमा श्रम गर्ने भुटानी शरणार्थीहरू अहिले छाप्राभित्रै मोटरसाइकलमा पुग्छन् । पैसा नभएर फोनसमेत गर्न नपाउनेहरू अहिले हजारौं पर्ने आइफोन बोक्छन् । बेलामौकामा नेपाल र भारतका पर्यटकीय सहरसम्म पुग्छन् । औषधिउपचारमा पहिलेजस्तो किचलो छैन । पुनर्वास भएर अमेरिकासम्म पुगेकाहरूको जीवनशैली त झनै बदलिएकै छ । शिविरभित्र बस्नेको समेत शैली फेरिएको छ । ‘रासनको भर पर्ने अवस्था अहिले छैन,’ शरणार्थी पेम्बा तामाङले भने, दाइभाउजु अमेरिकामा हुनुहुन्छ, मासिक रूपमा खर्च पठाउनुहुन्छ। सरकारले पनि शरणार्थीका लागि भनेर बनाइदिएको परिचयपत्रका आधारमा बैंकमा खाता खोलेको छु। मोटरसाइकल खरिद गर्न र लाइसेन्स निकाल्न पनि परिचयपत्र भए पुग्छ।’

कष्टकर दैनिकी बिताएकाहरू अहिले विगतको जस्तो न्यून ज्यालामा काम गर्नु नपर्ने अवस्था आएको उनी बताउँछन् । विगतमा डकर्मी काम गरेका अशोक रसाइलीले अहिले पहिलेको जस्तो न्यून ज्यालामा काम गर्नुपर्ने अवस्था नभएको अनुभव सुनाउँछन् । ‘म भुटान नै जाने भनेर अमेरिका नगई बसेँ, अमेरिकामा छोराछोरी छन्,’ उनले भने, ‘अब बुबा दुःख गर्नुपर्दैन भनेर उनीहरूले कहिलेकाहीँ खर्च पठाइदिन्छन् । अमेरिकासहितका अन्य ८ मुलुक नगई भुटान नै जाने भनेर बसेका अधिकांश वृद्धवृद्धा शिविरभित्र छन् । धेरैजसोका परिवारका सदस्य अमेरिकासहितका मुलुकमा छन् । भुटानी शरणार्थी शिविरका पूर्वसचिव डिबी सुब्बाले भने, ‘जीवनशैलीमा केही परिवर्तन भने अहिले आएको छ । दाताले दिएका सहयोगका भरमा गुजारा गर्दै आएका शरणार्थी अहिले भने मनलाग्दो खान पाएका छन् ।’ शिविरभित्रका वृद्धवृद्धा र परिवार नभएकालाई मात्रै सकस छ । सुब्बाले भने, ‘अन्य शरणार्थीलाई विगत हेरी धेरै सहज भएको छ।’

 पुनर्वास भएर तेस्रो मुलुकसम्म पुगेकाहरूको जीवनशैली त झनै बदलिएको छ। शिविरभित्र बस्नेको समेत रहनसहन फेरिएको छ। भुटानबाट खेदिएर नेपाल आएका शरणार्थीहरू १० वर्षअघिदेखि पुनर्वासमा गएका हुन्।

७० वर्ष नाघेका हर्कजंग सुब्बालाई विगतमा जस्तो औषधि किन्न नसकेर घरमै थला पर्नुपर्ने अवस्था अहिले छैन । दैनिक औषधि सेवन गर्नुपर्ने उनको अवस्थालाई अहिले अमेरिकामा पुनर्वास भएका आफन्तले पूरा गरिदिएका छन् । ‘पहिले त राम्रो स्वास्थ्य सेवा पाउन धेरै सकस थियो, गुणस्तरीय सेवा नपाएरै धेरै भुटानी यहीँ शिविरमा मरे,’ सुब्बाले भने, ‘अहिले कम्तीमा औषधि गर्न सकेका छौं ।’ शिविरमा प्राथमिक उपचार भने आम्दाले गरिदिने गरेको छ । तर, त्यसपछिको उपचार गर्न भने शरणार्थीहरूलाई धेरै मुस्किल थियो । सुब्बाले विगत सम्झिए, ‘मै एकपटक घोपा पुगेर पैसा नभएर फर्केको थिएँ ।’ भुटानबाट खेदिएर नेपाल आएका शरणार्थीहरू १० वर्षअघिदेखि पुनर्वासमा गएका हुन्।

भुटान जान भनेर बसेका र अन्य केही मुद्दा परेका शरणार्थीबाहेक अरूहरू तेस्रो मुलुकमा पुनर्वास भइसकेका छन् । शिविरनजिकै पसल गर्ने यादव पौडेलका अनुसार अहिले शिविरभित्र ठूलो आर्थिक कारोबार हुने गरेको छ । शिविरको अहिलेको खर्च भनेको वैदेशिक रेमिन्ट्यान्स नै हो,’ उनले भने, ‘अहिले शरणार्थीको खर्च गर्ने शैलीमा समेत फरकपना पाइएको छ।’

 

१० वर्षसम्म महोत्तरीमा शिक्षण पेसा गरी अहिले अमेरिकामा पुनर्वास भएका हर्क तामाङका अनुसार नेपालमा धेरैजसो शरणार्थीका परिवार शिविरमा बस्छन्। उनले शिविरमा बस्ने धेरैलाई आवश्यक खर्च भने अमेरिकामा बस्ने शरणार्थीले नै पठाएको बताए । पुनर्वासमा जानुअघि शरणार्थीहरू कृषि श्रमसँगै अन्य कामका लागि मुलुकमा सबै भूभाग पुग्ने गरेका थिए । पूर्वसचिव सुब्बाका अनुसार पढेलेखेकाहरू शिक्षण पेसाका लागि पूर्वको झापादेखि कन्चनपुरसम्म पुगेका थिए । ‘अन्य शारीरिक श्रमका लागि भारतको मेघालयसम्म पनि शरणार्थी पुग्ने गरेका थिए,’ उनले सम्झिए, ‘शिविरमै बस्नेहरू भने खेतीको कामका लागि झापाका विभिन्न स्थानसम्म पुग्थे । पुनर्वास भएका धेरै शरणार्थीले नेपाली युवायुवतीसँग बिहे गरेका छन्।’

अमेरिका पुनर्वास भएका शरणार्थीका परिवारका कोही सदस्यसँग नेपाली नागरिकता छ । उनीहरूले त्यहीँ नागरिकताका आधारमा दमक, बिर्तामोडमा घडेरी र घरसमेत जोडेका छन् । ‘नेपालीसँग विवाह गरेका शरणार्थीका लागि भने त्यो सहज भएको छ, अन्यका समेत परिवारका कोही सदस्यले भने नेपाली नागरिकता लिएका छन्,’ पुनर्वासक्रममा तेस्रो मुलुक पुगेका एक पूर्वशरणार्थीले भने, ‘त्यसरी पनि उनीहरूले घडेरी जोडेका हुन् । एक लाख १० हजारभन्दा बढी शरणार्थी अमेरिका, क्यानडा, डेनमार्क, युकेसहितका देशमा पुनर्वास भएका छन् । अहिले शिविरमा झन्डै ७ हजारको संख्यामा मात्रै शरणार्थी थिए । झापा र मोरङका ७ शिविरमा बस्ने शरणार्थी अहिले झापाको बेलडांगी र मोरङको शनिश्चरे शिविरमा बस्छन्।

Published: 2 November 2018/Nagarik