श्रमिकबाट व्यवसायी बन्दै नेपाली

कुमार पन्त
 
व्यापारी नेपाली
 
पासपोर्टमा पहुँच भएपछि सर्वसाधारण नेपाली जीविका वा आरामदायी जीवनको खोजीमा बिदेसिन थाले । सुरुमा बिदेसिनेले श्रम गरेर पैसा जोगाइ देशमा फर्किएर आरामदायी जीवन बिताउने सपना देखे । पढेर फर्केपछि नेपालमा आकर्षक जागिर पाइने सपना सजाए । विदेशमा गएर व्यापार गर्छु भनेर सोच्ने बिरलै थिए । यद्यपि, यसरी बिदेसिएका नेपालीले विदेशमा ठूलो व्यावसायिक उपलब्धि पनि हासिल गरेका छन् । धेरैमा व्यापारप्रति आकर्षण बढेको छ । अब त विदेशीले पनि सोध्न थाले– नेपाली समुदाय सानो छ, तर व्यापारमा कस्तो आकर्षण भनेर । विदेशमा नेपालीको पहिलो पुस्ता नै सक्रिय छ, यसैले ठुल्ठूलो लगानी गर्नेहरू त हातमा गन्न सकिन्छ । तर, साना उद्यमी भने निकै धेरै छन् । श्रम गर्दा पनि पैसा जोगाएर व्यापार गर्नुपर्छ भन्ने हुटहुटी नेपालीमा छ । युरोपमा रेस्टुरेन्ट व्यवसायमा लाग्ने नेपालीको संख्या थुप्रै पुगिसक्यो । सानो देश पोर्चुगलमा ३०–३५ हजार नेपाली छन्, ५ सयभन्दा बढीले आफ्नै व्यवसाय गरिरहेका छन् । जापानमा नेपालीले चलाएको रेस्टुरेन्ट मात्र चार–पाँच सय छन् । जर्मनीमा १०–१२ हजार नेपाली छन्, नेपालीका ‘ग्रोसरी सप’ नै सयदेखि एक सय पचासजति होलान् । 
 
विदेशमा गएर व्यवसायी बन्ने सोच नेपालीमा पलाउन थालेको धेरै भएको छैन । पहिला विदेशमा व्यवसाय गर्ने नेपाली नगण्य थिए । विदेशमा व्यापार गर्नेमा धेरैजसो सफल छन् । सफलता देखेपछि अन्यले पनि देखासिकी गर्दै व्यापार गर्ने नेपालीको संख्या बढ्दै छ । जसरी मारवाडी वा गुजराती भन्नेबित्तिकै व्यापार गर्ने समुदाय भनेर चिनिन्छ, अबको केही वर्षमा विदेशमा नेपालीको पहिचान त्यस्तै हुने सम्भावना छ । अबको दुई दशकमा नेपालीको पहिचान व्यापारीका रूपमा कायम हुने पंक्तिकारको अनुमान छ ।
 
व्यवसाय गर्न  सजिलो
 
सुरुमा अर्काको देश, अर्कै भाषा, अर्काको संस्कृति कसरी सकिएला र जस्तो लाग्थ्यो । तर, सिस्टमले चलेको ठाउ“मा त आफ्नै गाउँठाउँमा भन्दा पनि सजिलो हुने रहेछ । सानो जागिर गरेर बस्नुभन्दा आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने लहर नै चलेको छ । अमेरिकामा बस्ने नेपाली आर्थिक रूपमा सबैभन्दा सबल छन् । त्यहाँ व्यवसाय गर्ने र जागिर गर्ने दुवै सबल छन् । अस्ट्रेलिया, जापान र हङकङमा रहेका नेपाली पनि आर्थिक रूपमा सबल छन् ।
 
४० हजार नेपाली रहेको हङकङमा रात्रि व्यवसायमा झन्डै ८० प्रतिशत नेपाली छन् । त्यहाँ ठुल्ठूला डिस्को, बार र रेस्टुरेन्टका मालिक नेपाली छन् । जर्मनी, बेल्जियम, नेदरल्यान्ड, इंग्ल्यान्डलगायत युरोपेली मुलुकमा बस्ने नेपाली आर्थिक रूपमा सबल छन् । पोर्चुगल, स्पेन, ग्रिस, इटाली राम्रो कमाइ हुने ठाउ“ होइनन् । तर, पोर्चुगल पुग्ने नेपाली सामान्यतया त्यहीँ बस्दैनन्, बसोवासको इजाजत कार्ड पाएपछि युरोपका अन्य देशतिर लाग्छन् ।
 
अफ्रिकामा व्यवसाय गर्ने नेपाली निकै कम छन् । त्यहा“ इन्जिनियरिङ क्षेत्रमा काम गर्ने भने धेरै छन् । त्यहा“का ठुल्ठूला उद्योगमा नेपाली काम गर्छन् । अफ्रिकाका घाना, केन्या, नाइजेरियालगायत मुलुकमा नेपालीले बिस्तारै व्यवसायतिर हात हाल्न सुरु गरेका छन् । खाडी मुलुकमा जाने नेपालीमध्ये धेरैजसो श्रमिक नै हुन् । खाडीमा समेत नेपाली व्यवसायी दिन–प्रतिदिन बढ्दै छन् । निर्माण क्षेत्रमा नेपाली धेरै संलग्न देखिन्छन् । खाडी मुलुकका ठूला बिल्डिङ र ठूला सडक निर्माणमा नेपाली श्रमिक प्रयोग भए । अब निर्माण क्षेत्र र श्रमिकमा मात्र सीमित छैनन्, नेपाली । कतार, दुबईलगायत देशमा निर्माण व्यवसायमा नेपाली संलग्न छन् । दुबईमा ‘हस्पिटालिटी’ क्षेत्रमा नेपाली व्यवसायी भेटिन्छन् । मलेसियामा पनि नेपाली व्यवसायी बढ्दै गइरहेका छन् । 
 
दोस्रो पुस्ताले  भुलेको देश
 
मेडिसिन, इन्जिनियरिङ, प्राध्यापन क्षेत्रमा ओहोदामा रहेर काम गर्ने नेपाली धेरै छन् । नामी–नामी विश्वविद्यालयमा पनि नेपाली प्रोफेसर भेटिन मुस्किल छैन । विदेशमै जन्मिएका वा हुर्किएका (दोस्रो पुस्ता) नेपाली हरेक क्षेत्रमा देखिन्छन् । दोस्रो पुस्ताले उतैको संस्कृति अंगीकार गरेका हुन्छन् । दोस्रो पुस्ता धेरै ठूलो संख्यामा छ । त्यो पुस्ता राम्रो प्रगति गर्ने लाइनमा छ । तर, त्यो पुस्ताले नेपाललाई खासै ध्यान दिइरहेको छैन । उनीहरूको नेपालसित भावनात्मक सम्बन्ध कमजोर छ । उनीहरूलाई हामीले नेपालमा सम्भावना देखाइदिनुपर्छ । उनीहरूलाई आकर्षित गर्न सक्नुपर्छ । 
 
नेपालमा एनआरएनको लगानी
 
गैरआवासीय नेपालीले नेपालमा व्यक्तिगत लगानी गर्न थालेको त धेरै भयो । पाँच वर्षअघि सामूहिक लगानीका लागि नमुना प्रोजेक्टका रूपमा सुरु गरियो । त्यो पनि हामीले सोचेभन्दा राम्रो भयो । ठूलो लगानी गर्न नसक्ने गैरआवासीय नेपालीको स–सानो रकम पनि सामूहिक लगानीमार्फत देशमा ल्याउन सम्भव देखियो । एक अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो । आह्वान गर्नेबित्तिकै एक हजारजना लगानी गर्न तयार भए । दक्षिण कोरिया, मलेसिया, खाडी क्षेत्रमा श्रमिक भएर गएका नेपालीले पनि सामूहिक लगानीमा चासो देखाइरहेका छन् । हामीले जलविद्युत् र कृषिमा बढी जोड दिइरहेका छौँ । पूर्वाधार र पर्यटनमा पनि लगानी सम्भावना छ । गैरअवासीय नेपालीले नेपालका ठूला सहरमा धमाधम होटेल खोलिरहनुभएको छ । पर्यटनमा ठूलो लगानी भइरहेको छ । कृषि, पर्यटन, पूर्वाधार र जलविद्युत्मा हाम्रो जोड छ । हामी ‘मिच्युअल फन्ड’मार्फत जम्मा भएको रकम त्यतैतिर परिचालन गर्छौं । 
 
पैसा र सीप भित्र्याउने  पहल
 
कम्तीमा २० अर्ब रुपैयाँको ग्यारेन्टी गर्छौं भनेर नेपाल सरकारसँग ‘मिच्युअल फन्ड’ स्थापनाको प्रस्ताव पनि गरिएको छ । नेपालमा कम्पनी खोलेर सेयर निष्कासन (आइपिओ) मा जान तीन वर्ष लाग्छ । एउटै कम्पनीले हरेक क्षेत्रमा लगानी गर्न पाउँदैन । मिच्युअल फन्ड बनाई त्यसमा गैरआवासीय नेपालीले बाहिरै बसेर सेयर किन्न पाउने व्यवस्था गर्न खोजिएको छ । बीस अर्ब रुपैयाँ पुगेपछि जुनसुकै क्षेत्रमा लगानी गर्ने छुट दिइयोस् भन्ने हाम्रो माग हो । नेपालको निजी क्षेत्रले पनि गैरआवासीय नेपालीसँग मिलेर काम गर्न सक्छन् । किनकि, विदेशमा रहेका नेपालीले आफैँ आएर प्रोजेक्ट गर्न सक्दैनन्, नेपालमै भरपर्दो पार्टनर चाहिन्छ । अर्थतन्त्रमा रेमिट्यान्सको योगदान ३५ प्रतिशत छ ।
 
यति ठूलो रकम अनुत्पादक क्षेत्रमा गइरहेको छ । घरजग्गा र उपभोगमा खर्च भइरहेको छ । गैरआवासीय नेपाली देशमा लगानी गर्न पाए नेपाल फर्किएपछि काम लाग्थ्यो भनिरहेका छन् । हाम्रो २० अर्बको ‘मिच्युअल फन्ड’को योजना सफल भए अनुत्पादक क्षेत्रमा गइरहेको ठूलो रकम उत्पादनशील क्षेत्रमा आउनेछ । गैरआवासीय नेपाली संघले केहीअघि काठमाडौंमा ‘नलेज कन्भेन्सन’ गरेको थियो । पैसा मात्र लगानी हैन, विदेशमा आर्जेको ज्ञान, सीपबाट पनि मातृभूमिलाई लाभान्वित बनाउन सकिन्छ भनेर संघले यस्तो खाले कार्यक्रम आयोजना गर्न थालेको हो । 
 
विदेशबाट  सिक्न जरुरी
 
नेपालमा बढ्दो बेरोजगारी र आयातमुखी अर्थतन्त्रमा कसरी सुधार गर्न सकिन्छ भनेर हामी घोत्लिरहेका छौँ । इजरायलमा आधुनिक प्रविधि प्रयोग गरी खेतिपाती र पशुपालन गरेको अनुभव हामीसित छ । तिनको ज्ञान र सीपलाई नेपालमा पनि कसरी हस्तान्तरण गर्न सकिन्छ भन्नेमा हामी सोचिरहेका छौँ । एउटा समिति नै बनेको छ, त्यो समितिले लगानीको सम्भावना, लगानीको सुरक्षा र नाफाको सुनिश्चिततालगायत विषयमा अनुसन्धान गरिरहेको छ । बाहिर गएर विज्ञता हासिल गर्ने धेरै छन् । विदेशमा ठूला विश्वविद्यालय, अनुसन्धान, इन्जिनियरिङ र कृषिमा संलग्न नेपाली विज्ञ धेरै छन् । तिनको विज्ञता देश हितमा लगाउन सकिन्छ । कतिपय विज्ञ त अवकाश पाएर बसिरहेका छन् । विदेशमा रहेको विज्ञ समुदायलाई आकर्षित नगरी देशको समृद्धि सम्भव हुँदैन । गैरआवासीय नेपाली संघ अहिले यसमा पनि सक्रिय छ ।
 
विदेशबाट  फर्किएपछिको व्यवसाय
 
विदेशबाट फर्किएका धेरै युवा कृषिमा लागेको देखिन्छ । व्यावसायिक पशुपालन, कुखुरापालन त कतिपयले तरकारी खेती गरिरहेका छन् । यो ट्रेन्डलाई आक्रामक ढंगले फैलाउनुपर्ने हुन्छ । नेपाल कृषि उत्पादनमै झन्झन् परनिर्भर बन्दै गइरहेको छ । विदेशमा आधुनिक कृषि प्रविधिमा काम गरेको अनुभवी नेपालीलाई देशभित्रै अनुभव सदुपयोगको अवसर मिल्ने हो भने कृषिमा परनिर्भरता घटाउन सकिन्छ । विदेशमा सिकेको ज्ञान, सीप र पु“जी लगाउन सके आत्मनिर्भर बन्न सकिन्छ । केही समयपहिले न्युजिल्यान्डमा गाई फार्म हेर्न पुगेको थिए“ । त्यहाँ ९ सय गाईको फार्म तीनजना नेपालीले सम्हालेका थिए । गाई फार्मका मालिक नेदरल्यान्डमा बस्ने, नेपालीले फार्म चलाइदिएका रहेछन् । मेसिनमार्फत दिनको तीनचोटि दूध दुहु“दा रहेछन् । तीनजनाले नौ सय गाई ‘ह्यान्डल’ गर्ने प्रविधि त नेपालीले सिकिसकेकै छन् । तिनको सीप र त्यो प्रविधि नेपालमा प्रयोग हुन सक्नुपर्छ अब । इजरायलले मरुभूमिमा कमाल गरिरहेको छ । इजरायलको ग्रिन हाउसको तरकारी संसारभर पुग्न थालेको छ । इजरायलको प्रविधिमा काम गर्ने पनि अधिकांश नेपाली नै हुन् । त्यो प्रविधि र सीप नेपाल भित्र्याउने  सके यहाँ पनि कमाल गर्न सकिँदो हो । 
 
सहजकर्ता बन्नुपर्छ राज्य
 
जताबाट पनि राज्य नै ठोक्किन आउँछ । विदेशबाट सीप र पुँजी भित्र्याउन पनि राज्य नै सहजकर्ता भइदिनुपर्ने रहेछ । विदेशको प्रविधि सिके पनि एक बिघामा खेती गरेर हुँदैन । नेपालमा खेतजति टुक्रिएर सकिन थालिसक्यो । फाइदा गर्न ठूलो क्षेत्रफलमा कृषि गर्नुपर्छ । गैरआवासीय नेपाली विदेशी लगानी र प्रविधि लिएर आउँदै छन् भन्नेबित्तिकै बार्गेनिङ सुरु भइहाल्छ । हामीकहाँ मार्केटिङको पनि समस्या छ । कृषि उत्पादन त होला, कहाँ लगेर बिक्री गर्ने, यो ठूलो चुनौती हो । विदेशमा कृषिकर्म गर्नेबित्तिकै बजार सुनिश्चित भइसक्छ । किसानको काम फलाइदिने मात्र हुन्छ, बारीबाट टिपेर बजार पु-याउने काम व्यापारीले गर्छन् । मूल्यमा कुनै समस्या हुँदैन । बिचौलिया हुँदैनन् । तर, यहाँ भने परिस्थिति ठिक्क उल्टो छ । वास्तवमा यो काम राज्यले गरिदिनुपर्छ । राज्य नै यस विषयमा बढी उत्तरदायी हुनुपर्छ । 
 
विज्ञ सम्मेलनको सन्देश
 
देशमा विदेशी ज्ञान, सीप र पुँजी भित्र्याउन संयोजकको भूमिका निभाउन गैरआवासीय नेपाली संघ तयार छ । र, गरिरहेको पनि छ । काठमाडौंमा भएको विज्ञ सम्मेलनमा झन्डै तीन सय विज्ञ सहभागी थिए । त्यो हाम्रो पहिलो सम्मेलन थियो । कार्यक्रम भव्य रूपमा सम्पन्न भयो । पहिलो सम्मेलन भएकाले यो परीक्षण पनि थियो, नेपाली आफूले सिकेको ज्ञान, सीप र कमाएको पुँजी नेपाल लैजान कत्तिको तयार छन् । विदेशमा कुन–कुन क्षेत्रमा विज्ञ छन् भनेर पहिचान भयो । यो पहिलो सम्मेलन भएकाले सबै क्षेत्रका विज्ञलाई समेट्ने प्रयास भयो । अब क्षेत्रगत रूपमा विज्ञ सम्मेलन गर्न सजिलो भयो । अब दुई–दुई वर्षमा क्षेत्र  छुट्याएर विज्ञ सम्मेलन गर्ने योजना छ । 
 
गैरआवासीय नेपालीको संख्या

अहिले करिब गैरआवासीय नेपालीको संख्या ८० लाख छ । सबैभन्दा बढी खाडी र मलेसियामा होलान् । खाडीमा २०–२५ लाख होलान् । मलेसियामा पनि ५–६ लाख होलान् । अमेरिकामा साढे चारदेखि ५ लाख होलान् । पूरै युरोपमा करिब ५ लाख होलान् । युकेमा मात्रै डेढ लाखभन्दा बढी नेपाली छन् । त्यसपछि जर्मनी, पोर्चुगल, बेल्जियमलगायत मुलुकमा नेपाली धेरै छन् । अष्ट्रेलीयामा दुई लाख नेपाली पुगिसकेका छन् । अफ्रिकामा केही हजारको सख्ंयामा मात्र नेपाली छन् । त्यहाँ नेपालीहरू ५–७ वर्ष मात्र बस्ने गरेका छन् । युरोप–अमेरिका जाने उतै बस्न खोज्छन् ।

Published: 10 January 2019/ Naya Patrika

NEWS SEARCH